लक्ष्मीप्रसाद देवकोटा नेपाली साहितयका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको यस अङ्कमा विविध कोणबाट समेटिएको छ । यहाँ उनलाई उनकै रचनाबाट पनि सम्झने क्रममा उनको बहुचर्चित गद्यकिवता पागललाई समेटिएको छ । यो देवकोटाको उल्लेख्य र नेपाली साहित्यको सर्वोत्कृष्ट फुटकर कविता कृति हो । यस कवितालाई थुप्रै भषामा अनुवाद गरिसकिएको छ । देवकोटाको पागल कविता मात्र नपढ्नु उनलाई सबै पढेर पनि छुटाउनु हो । ‘पागल’ कविताको पङ्क्ति वितरण फरक फरक संस्करण र प्रकाशनमा फरक देखिन्छ । यो कविता चूडामणि बन्धुले सम्पादन गरेको लक्ष्मीकवितासङ्ग्रहबाट लिइएको हो । यसमा कदेखि छसम्म सात खण्ड रहेका छन् । यो एक मिसिमको लघुकाव्यका स्वरुपमा संरचित कविता हो । रचना कालको आधा शताब्दी पछि पनि यो कविता नेपाली समाजको चित्र उतार्नमा त्यत्तिकै सफल छ । देवकोटा विशेषङ्कमा प्रस्तुत छ देवकोटाको उही बहुचर्चित कविता : पागल ।
– सम्पा.
क
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
ख
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दै
जसको आकार संसार जान्दैन!
म देख्दछु ढुङ्गालाई पूल !
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागल झैं,
पूल झैं एक किसिमका चकोर–फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न!
जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा
साथी! छालछाल!
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
ग
तिमी चतुर छौ बाचाल
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफसिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्यिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्दन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बजे काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल !
घ
म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भस्मेश्वरबाट फर्कंदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने!
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय–वेदनाले उफ्रेँ !
मूर्खहरूले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुजुगरुगहरूले,
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !
ङ
मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आपूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट–पलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !
च
म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफा–तपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !
छ
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर !
जन–अधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी !
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका
रौं, रौं !
जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो,
तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाल–लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानव जगत्लाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी!
अफ्रिन्छन् मेरा कलपुर्जा,
खलत्रल, खलबल!
तूफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानल झैं, बडवानल झैं !
म वन खाने आगो झैं बहुला हुन्छु !
बहुला, साथी !
काँचै निलूँ झैं विश्वविशाल !
जरुर साथी !
म सुन्दर–चकोर, असुन्दर–फोर!
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तूफान–पुत्र !
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !
***
समाप्त