डिल्लीराज अर्याल नेपाली कविता परम्पराका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी शास्त्रीय लयढाँचामा राम्रा राम्रा कविता रचना गर्न सक्ने विशिष्ट प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको ‘लक्ष्मी कहाँ छौ भन ?’ शीर्षकको लक्ष्मीप्रसाद देवकोटालाई विषय र विम्ब बनाइएको कविता समेटिएको छ ।
कौसी, चोक उज्यालिए, घरघरै बत्ती अनेकौँ बले
बारी, आँगन, वागमा, डहरमा बास्ना छरे फूलले
सारा धान पहेँलिए, सुन बनी बाला सुनौला झुले
तोरी, फापरका मिठा रस लिँदै मौरी तिनैमा भुले ।
गर्दै भुन्भुन काममा मन दिँदै, डुल्दै बगैँचाभरि
ठूलै साहसले र सीप श्रमले चाका भरी राम्ररी
ईर्ष्या द्वेष विना खटी सहजमै छेकेर आँधी, हुरी
सारा घार सजाउने रहरिला कर्मी तिमी माहुरी !
आफ्नै जाँगर, सीपले लगनले चाका भरेथ्यौ जति
राम्रा फूल चिनी, चुनी रस मिठा जम्मा गरेथ्यौ जति
त्यै तिम्रो श्रम, सीपको, समयको सद्भाव मिल्दा अति
हामी दङ्ग परेर आज पनि छौँ भुल्दै त्यसैमा कति !
तिम्रा नायक भोट भारत भनी छाडेर आमा गए
तिम्री कोमल नायिका नजिकमा नैनीहरू नै भए
भोकाका घर तीज आउँछ उही पीडा बढाई अझै
पर्छन् सज्जन जालमा सहजमै बँच्छन् घुस्याहा अझै ।
आगो स्वर्ग गएर ल्याउन दियौ चोरेर, पायौ फल
सिङ्गै देश भएछ तप्त कि यहाँ बढ्दैछ कोलाहल
यात्री आज उसै गरी हिडिरहे लागेन अर्ती किन
खै राखेन मनुष्यले किन त्यही उद्देश्य भै सौखिन ।
जम्मै यन्त्र सजाइए मुलुकका बढ्दैछ झन् दुर्दशा
पढ्दैछन् गणतन्त्र पाठ सबले पढ्दैन हाम्रो दशा
कोही छैन भने भयो मुलुकको जम्मै अलग्गै भए
नेताका हुन्छ रवाफमा र जनता तेरो र मेरो भए ।
केही गर्छु भनेर लागिरहने कोही भएनन् यहाँ
भाषा भव्य बनाउने रहरमा लाग्ने रहेनन् यहाँ
कोही गर्न भनेर काम गतिलो सर्नै भएनन् यहाँ
खुट्टा तान्न सिपालुको बिगबिगी बढ्दैछ साँच्चै यहाँ !
तिम्रा सुन्दर, गद्य,पद्य रचना हेर्दैछु,पढ्दैछु म
तिम्रा सीप कला विचार गुणमा रम्दैछु सोच्दैछु म
पछ्याएर तिनै सुमार्ग अहिले हिड्ने भएँ आज म
टाढा कुन्नि कता गयौ लुकिरह्यौ, लक्ष्मी कहाँ छौ भन !
***
पाल्पा, हाल काठमाडौँ