भेषजराज शर्मा (वि.सं.१९८९—२०५९) नेपाली साहित्यका विशिष्ट कवि हुन् । स्याङ्जाको वालिङमा जन्मेर बनारस गई नव्य व्याकरणमा स्नातकोत्तरसम्मको अध्ययन गरेका शर्माले बनारसमा रहँदा छात्रदूत, छात्रवाणी, छात्रप्रभालगायतका पत्रिकाहरूको सम्पादन, प्रकाशन र झर्रोवादी आन्दोलनमा समेत सहभागी भएका थिए । उनका आत्मप्रकाश (२०४५), लालसलाम (२०५०) कवितासङ्ग्रह, आँधीखोलाको बगर खण्डकाव्य (२०६२), भेषजराज शर्माका कथाहरू (२०६४) कथासङ्ग्रह र नारदमुनीको वालिङयात्रा निबन्धसङ्ग्रह (२०७२) प्रकाशित भइसकेका छन् । उनको नाममा २०६३ सालमा स्याङ्जामा भेषजराज साहित्य प्रतिष्ठान पनि स्थापना भएको छ । साहित्यसागरको लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्कमा उनको महाकवि लक्ष्मीप्रसाद देवकोटा शीर्षकको देवकोटालाई नै विषय र रूपक बनाएको एउटा कविता समेटिएको छ । यो कविता हामीले भेषजराज शर्मा प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाबाट प्राप्त गरेका हौँ ।
-सम्पा.
मृत्युका उपर पङ्ख फिँजाई
रम्दछौ सकल सृष्टि नचाई
भासवान् तरुण भाव गम्भीर
आश उच्च खँदिलो सुविचार ।१।
कल्पनामय जगत् शिवसत्य
सिर्जना सबल निर्जर नित्य
दृष्टि स्वच्छ अति उन्नतिगामी
मोहनी रसित सुन्दर वाणी ।२।
कालरात्रि पनि हुन्छ जुनेली
चन्द्रमा सरिक हुँदा मन तिम्रो ?
आँसुमा पनि हुने मुदु हास
धान खेत जब खेल्छ बयेली ।३।
शारदातनुज ज्ञान अतृप्त
दीनतारहति वैभवहीन
वित्तहीनहरूमा दिन पाए
नाङ्गिईकन स्वयम् सुखचित्त ।४।
हिँड्दछौ अघि तिमी युगभन्दा
ऊध्र्वमार्ग छुन जून अकेला
मातृतुल्य गुरुता अवबोध
विश्व गर्दछ तिमीकन पाई ।५।
लोकचक्षु कवि हे सपनामा
दृष्टिमा सुजनका विपनामा
काव्यनृःसृत सुधारस वर्षी
बाँच जीवन अजम्मर कीर्ति ।६।