विपिन अगस्ति मूलतः कविता र गजल सिर्जनामा सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको एउटा लक्ष्मीप्रसाद देवकोटालाई नै विषय र विम्ब बनाएको कविता समेटिएको छ । यस कविताले देवकोटाको गुण, गरिमा र सिर्जन सामर्थ्य देखाएको छ ।
-सम्पा.
नभका तारा मुटुका प्यारा नेपाली शान हे
साहित्यरथि हे ढुकढुकी नेपाली प्राण हे
बगायौ तिम्ले साहित्य गङ्गा बग्दैछ सलल
लक्ष्मीपूजामा अबिरल् तिम्रो सम्झना झलल ।। १ ।।
सर्वोच्च शान लक्ष्मीका मान शारदा बरदान
स्वदेशी ध्यान अपूर्व ज्ञान नेपाली सन्तान
तिहारबिच दीयोको ज्योति आकाश चुम्दछ
सम्झेर तिमी शिर यो आज श्रद्धाले झुक्दछ ।।२।।
तिमीले लेख्दा अक्षर पनि फरर बोलेका
तिमीले छोए अचला पनि चञ्चला भएका
कलमभित्र कस्तो छ जादू शारदा बसेकी
बोकेर तिम्रै हरेक भाव कविता हाँसेकी ।। ३ ।।
हरेक भाव हरेक शब्द लेखनी चल्दछ
के दिन रात सिर्जना दीप नरोकी जल्दछ
तिमीले छोए पत्थर पनि उठेझैँ लाग्दछ
कहिले हाँस्छ कहिले रून्छ भावक जाग्दछ ।। ४ ।।
तराई बोल्छ रचन भित्र हिमाल हाँस्दछ
कोइली गाउँछ मयूर नाच्छ पिरती गाँस्दछ
प्रशंसा सुनी तराई पहाड् उठ्दछ हिमाल
एकता गीत गाएर आज जुट्दछ नेपाल ।। ५ ।।
स्वच्छन्द तिम्रो उडान आफ्नो स्वतन्त्र पहिचान्
विशिष्ट पार्यौ अक्षुण राख्यौ नेपाली स्वाभिमान्
हे लक्ष्मीप्रसाद हे महाकवि नेपाली जुहार
रहुञ्जेल नेपाल बिर्सने छैनौ हँसिलो मुहार ।। ६ ।।