मित्रलाल पंज्ञानी (२०१७ मङ्सिर २५, काफलडाँडा, स्याङ्जा, सुपुत्रः शिवलाल पंज्ञानी र खिनादेवी पंज्ञानी) नेपाली कविताका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । बैङ्किङ सेवा र प्राध्यापन सेवालई समानान्तर रूपमा अगाडि बढाएका पंज्ञानीले साहित्य सिर्जना, साहित्यिक पत्रकारिता र साङ्गठनिक देनबाट नेपाली साहित्यको विकास गरिरहेका छन् । २०३० सालमा ‘शहीद’ शीर्षकको गीतिकविता प्रकाशन गरी साहित्य जगतमा सार्वजनिक भएका पंज्ञानीका सामन्तको परिचय (२०३७), उम्रन्छन् आँसुका वृक्ष (२०४६), सृष्टिकर्ता (२०५४) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । उनको गतिमान गण्डकी (२०५०) काव्यकृति पनि प्रकाशित छ । शिक्षा विषयकै विद्यार्थी हुँदा पंज्ञानीको बालसाहित्य सिर्जन सामर्थ्य पनि त्यत्तिकै उल्लेख्य रहेको छ । उनका टाकुरामा जाऔँ (२०५८) बालबविताका साथै सपनामा उडेको (२०६१), पिङ खेल्दा (२०६४) बालकाव्य र ढाडे बिरालो (२०६८ बालकथाकृति प्रकाशित छन् । उनी राम्रा निबन्धकार पनि हुन् । उनको बलेको आगो (२०६८) निबन्धसङ्ग्रह पनि प्रकाशित छ । उनी आफ्ना कवितामा प्रगतिशील जीवनदृष्टिलाई निकै बलियो गरी प्रस्तुत गरिरहेका हुन्छन् भने बाल सिर्जनामा बालमनोविज्ञान र बालानुकूल विम्बहरूको प्रयोग गर्न रुचाउँछन् । उनले साहित्य सन्ध्या, लहर, कलम जस्ता पत्रिकामार्फत साहित्यिक पत्रकारितामा पनि योगदान पुर्याएका छन् । उनले साहित्य सेवावापत पारिजात स्मृति पुरस्कार (२०५४) लगायत विविध मान, सम्मान र पुरस्कार पनि प्राप्त गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा पंज्ञानीको ‘छेक्ताछेक्तै’ शीर्षकको कविता समेटिएको छ । यस कवितामा ऊ पात्रलाई देवकोटामा प्रतिविम्बन गर्दै उसलाई चारापटिबाट छेक्ताछेक्तै, ऊसमाथि अन्याय गर्दागर्दै पनि सफल भएको देखाइएको छ । यस कविताले देवकोटाको नाम नलिइकनै पनि ऊमा प्रतिविम्बित रूपक सामर्थ्यबाटै देवकोटाको जीवनसङ्घर्ष र सफलतालाई अभिव्यक्त गरिएको छ ।
-सम्पा.
नचुँडे कोपिला भन्थ्यो बगैँचामा रमाउँथ्यो
फक्रेको फूल थुङ्गामा सृष्टिको सार पाउँथ्यो
चरोझैँ घुम्न चाहन्थ्यो भुर्र आकाशमा उडी
पिँजडा फोर्न चाहन्थ्यो तारसाङ्ला सबै चुँडी
मनमा क्रान्तिको ज्वाला दन्किँदो भरिँदो थियो
युग बोल्न नपाएर छट्पटायो निसास्सियो
घोर अन्यायको पर्दा च्यातने घिड्किसो थियो
पाइन्थ्यो दिल खोलेर जहाँ बोल्न उतै गयो
थर्कायो दुष्टको छाती ‘युगवाणी’ भयो छवि
दासतामा अटाएन मुक्तिमार्गी महाकवि
काँडैकाँडा महाकाँडा बाटबाटै जताततै कतै
पन्छाउँदै हिँड्थ्यो कुल्चि दिन्थ्यो कतै कतै
रगताम्मे हुँदै जान्थ्यो घरि च्वार्र चिथोरिँदै
असिनापसिना दौड्यो हुर्रिँदै र हतारिँदै
दुःखलाई रत्याएर दुःखैसङ्ग रिझ्यो भिज्यो
काँडैसङ्ग मरेको हो जुन काँडा कडा बिझ्यो
लत्रिएन कतै मान्छे फड्क्यो खाल्टा बडाबडा
स्वाभिमान अहो कस्तो ! लोभभन्दा पनि कडा
जन्मैबाट थूला हामी भन्ने जो जो यहाँ थिए
उसको प्रतिभा देख्दा उड्यो सातो अतास्सिए
यतिसम्म दिए धोका बौलाहा भनिने भयो
कति छेके कति छेके छेक्दाछेक्दै उँभो गयो