SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पं. लेखनाथ पौड्याल र उनको भर्तृहरि निर्वेदको नाट्यकारिता
समीक्षा

पं. लेखनाथ पौड्याल र उनको भर्तृहरि निर्वेदको नाट्यकारिता

प्रा. राजेन्द्र सुवेदीBy Sahitya SagarJune 4, 2022No Comments22 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
राजेन्द्र सुवेदी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले सिर्जना र समीक्षाका माध्यमबाट नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । उनी नेपाली निबन्ध र कविता सिर्जनाका साथै आख्यान सिर्जनामा पनि सुपरिचित छन् र समीक्षाका क्षेत्रमा त्यो भन्दा बढी स्थापित छन् । गत वर्ष उनका नाममा एउटा विशेष अंक नै प्रकाशन गरिसकेको छ । यही जेष्ठ ३ गते उनको प्रथम स्मृति दिवस हो । यस उपलक्ष्यमा उनको अन्यत्र अप्रकाशित लेखनाथ पौडेलको नाट्यकारितासम्बन्धी समीक्षा प्रकाशन गरी उनको स्मरण गरिएको छ । सुवेदीलाई यही उनको समीक्षाबाट हार्दिक श्रद्धाञ्जली ।

-सम्पा.

१. विषयप्रवेश
लेखनाथ पौड्याल (१९४१—२०२२) नेपाली कविता साहित्यका माध्यमबाट आधुनिक युग प्रवेश गराउने स्रष्टा हुन् । आफ्नो लेखन यात्रा १९५० को दशकको अन्तबाट उनको कविता यात्रा आरम्भ भएको हो । यस दृष्टिले उनी नेपाली साहित्यको माध्यमिक कालको इतिहासलाई राम्ररी आत्मसात् गर्ने र उत्तरमाध्यमिक कालीन साहित्यिक प्रवृत्तिलाई अन्त गर्दै र आधुनिक कालको साहित्यक कलालाई स्वागतार्थ द्वारमा उपस्थित बनेका कवि पौड्याल आफ्ना सृजनाद्वारा नेपाली साहित्यलाई विशिष्ट ढङ्गले प्रभावित तुल्याउने व्यक्तित्वका रूपमा देखिएका प्रतिभा हुन् । उनको सृजना यात्राको प्रकाशन क्रम माधवी पत्रिकाको माध्यमबाट १९६५ सालदेखि आरम्भ भएर लगातार विकसित बन्दै अगाडि बढेको अवस्था देखिएको छ ।

माधवी पत्रिकामा ‘वर्षाविचार’ कविता प्रकाशित भएपछि उनको सृजनयात्रा निरन्तर गतिवान् बनेको छ । उनका कृतिहरू फुटकर रूपमा प्रकाशित हुन लागेको प्रकाशित हुन लागेको एक दशकपछि १९७३ सालमा ऋतुविचार पहिलोपल्ट १९७३ सालमा प्रकाशित भएको छ । यस क्रममा उनका कृतिहरू निम्नानुसार प्रकाशित भएका छन् । ऋतुविचार (१९७३), बुद्धिविनोद (लघुकाव्य १९७३), भर्तृहरि निर्वेद (नाटक १९७४), सत्यकलि संवाद (काव्य १९७६), गीताञ्जली (काव्य १९८६), लक्ष्मीपूजा (नाटक १९९४), त्याग र उदयको सन्देश (काव्य २००२), अमर ज्योतिको सत्यस्मृति (खण्डकाव्य २००९), सप्त प्रश्नात्मक बुद्धिविनोद (काव्य २००९), तरुणतपसी (महाकाव्य २०१०), लालित्य (कविता सङ्ग्रह २०१०), मेरो राम (काव्य २०११), शाकुन्तल (अनूदित नाटक २०१५), लालित्य (कविता सङ्ग्रह, भाग २, २०२५), श्रीमद्भागवत् गीता (?), पञ्चतन्त्र (?), गङ्गागौरी (अपूर्ण महाकाव्य) लगायतका कृतिहरू प्रकाशमा आएका छन् । यस्ता कृतिहरूमा लेखनाथको स्रष्टा व्यक्तित्व कविता र नाटक दुई दिशामा वितरित बनेको देखिन्छ । कविताका फुटकर तहदेखि लघुकाव्य तथा महाकाव्य स्तरसम्मको पनि विस्तारित बनेको छ । यस सन्दर्भमा लेखनाथ पौड्याल कवि तथा नाट्यकविका रूपमा प्रतिष्ठित बनेका छन् ।

संस्कृत काव्य परम्परामा कवि तथा नाटककारलाई अविभक्त रूपमा व्यवस्थित र व्याख्या गर्ने प्रचलन थियो । काव्यमध्ये नाटक अत्यन्त सुन्दर मानिन्थ्यो भन्ने मतले नाटकलाई काव्यमा नाटकलाई काव्यका रूपमा लिने गरिन्थ्यो । लेखनाथ पौड्यालले कविता काव्य र नाटक समेतको सृजना गरेर काव्यात्मक संवेग प्रकट गर्ने सर्जक देखिएका छन् । नाटक सृजनाका सन्दर्भमा लेखनाथ पौड्याल भर्तृहरि निर्वेद (१९७४), र लक्ष्मीपूजा (१९९४) जस्ता सृजनात्मक कृतिका सन्दर्भका माध्यमबाट नाटककारका रूपमा प्रतिष्ठापित बनेका पौड्याल अनूदित नाटककारका रूपमा पनि उनी परिचित बनेका छन् । उनको अनूदित नाटक कालिदासको अभिज्ञान शाकुन्तलम् पनि नेपालीमा रूपान्तरित गरेका छन् । कविका स्थानमा प्रतिष्ठित बनेका पौड्यालले भर्तृहरि निर्वेद तथा लक्ष्मीपूजा नाटकमा संस्कृत नाट्य परम्पराको गद्य र पद्य मिश्रणको प्रस्तुतिको परम्परा पनि यहाँ पौड्यालको सृजन कार्य बनेर व्यापक रूपमा विवद्र्धन भएको छ । पौड्यालका यी नाटकहरूमध्ये भर्तृहरि निर्वेदको विशेषतामा केन्द्रित नाट्यायन र यसमा रहेका वैशिष्ट्यको निरूपण गर्नु सान्दर्भिके देखिन्छ । यिनै विशेषताका आधारमा भर्तृहरि निर्वेद नाटकको नाट्यायनका सम्बन्धमा केन्द्रित भएर विवेचना गर्नु उपयुक्त देखिएका कारण यिनै विशेषतालाई केन्द्रमा राखेर समालोचना कार्य गरिनु वाञ्छनीय देखिन्छ ।

२.लेखनाथ पौड्यालको नाट्य यात्रा
कविताका सर्जक पौड्यालमा कवि प्रौढोक्ति र कविनिबद्ध प्रौढोक्तिका प्रस्तुति कलालाई अनुशरण गर्ने परम्परा प्रबल देखिन्छ । नेपाली साहित्यको इतिहासमा विधागत संवेदनाका आधारहरू निरूपण गर्ने विषय पनि प्रतिपादन भएको अवस्था छ । साहित्य सृजनामा माध्यमिक कालका विशेषताहरूलाई पन्छाएर आधुनिक कालका विशेषताहरू आत्मसात् गर्ने कामको आरम्भ पनि उनबाट भएको छ । मानवीय सीमााका सामाजिक र सांस्कृतिक विषयहरू उनका सृजनाका विषय बनेका हुन्छन् । विशेषतः लेखनाथको नाट्य चेतनाका विशेषताहरू अभिनेयता र पठनीयताका गुणहरू पनि यहाँ प्रतिष्ठित रहेको देखिन्छ । नाटक बन्नका निम्ति विषयले नाट्यायन र पाठ्यायनको तह प्राप्त गर्नु पर्ने हुन्छ । विशेषतः नाटकका निम्ति निम्नलिखित चार तत्त्वहरू अनिवार्य मानिन्छन्— १. नाटक क्रीडनीय हुनु पर्छ, २. नाटक अनुकरणीय हुनु पर्छ, ३. नाटक प्रेक्षणीय हुनु पर्छ, ४. नाटक पठनीय हुनु पर्छ । नाटकका निम्ति यी चार तत्त्वहरू पूर्णतः अनिवार्य मानिन्छन् । यस दृष्टिले काव्य संवेदना र नाटकका कलात्मक तत्त्वहरू अपेक्षित तहमा लगभग एकै साथ उपस्थित हुनु पर्ने तत्त्व मानिन्छन् ।

पौड्यालका नाट्य कृतिहरूका पूर्वसन्दर्भमा संस्कृतको लामो नाट्य परम्परा र नेपाली नाटकको इतिहासले पृष्ठभूमिको काम गरेको छ । यस पृष्ठभूमिमा जहाँसम्म नेपाली नाटकको पृष्ठाधारको प्रश्न छ त्यसमा प्रेरक तत्त्व बनेर रहेका नाटकहरूको उपस्थिति राम्रै देखिन्छ । नेपाली भाषामा नाट्यायनको आरम्भ शक्तिबल्लभ अर्यालको हास्यकदम्ब (१८५५) ले तयार गरेको मार्ग एकातर्फ नाटक लेखनको परम्परा र अर्कातर्फ संस्कृत भाषाका नाट्य कृतिको अनुवाद व्यवस्थित बन्दै गएको अनुवाद र सृजनाको पनि काम आरम्भ भएको छ । यस आधारमा अनुवाद सृजनाको परम्पराले व्यवस्थित तथा प्रौढता पनि प्राप्त गर्दै गएको अवस्था देखिन्छ । अनुवादको यस यात्रा क्रममा भवानीदत्त पाण्डेको अनूदित नाटक मुद्राराक्षस (१८८३) जस्ता कृतिले नेपाली भाषामा नाट्यायन चेतना प्रखर भएको देखिन्छ । नेपाली साहित्यका प्राथमिक कालमा आरम्भबाटै भएका नाट्ययात्राले संस्कृत साहित्यको विगत गरिमालाई नेपालीमा स्वायत्तीकरण गर्ने काम व्यवस्थित ढङ्गले सम्पन्न गर्दै आएको देखिन्छ । मोतीराम भट्टको आगमनपूर्वको अवस्थामा नेपाली नाटकमा हुर्किँदै गरेका कलिला प्रयासहरूले प्राथमिक कालभरी नै आफ्नो अवस्थालाई निकै सङ्घर्षका साथ सबल बनाउन प्रयत्न गरेको स्थिति देखिन्छ ।

मोेतीराम भट्टले नाटकका चारओटा गुणमध्ये क्रीडनीय गुणको पनि पारख गर्ने अवसर पाएका थिए । बनारस तथा कोलकत्तामा रहँदा उनले त्यहाँका मञ्चमा अभिनित भएका नाटक प्रेषण गर्ने अवसर पाएका थिए । यस क्रममा नाटकको महत्त्व बुझेका कारण भट्टले बनारस र कोलकाताको बसाइमा हिन्दी र बङ्गला साहित्यले आधुनिक काल प्राप्त गरिसकेको अवस्था थियो । यस संवेदनाबाट प्रेरित र प्रभावित भएका भट्टले प्रियदर्शिका र रत्नावली जस्ता सफल नाटक नेपाली भाषामा रूपान्तरित गरेका थिए । यिनको प्रभावबाट लेखनाथ पौड्याल प्रेरित पनि बन्न पुगेका थिए । यो समय साहित्यको पठनपाठन र अध्ययन अनुसन्धानतर्फ प्रारम्भिक प्रयत्नको पनि चरण थियो । यसरी विकसित बन्दै आएको स्थितिमा पहलमान सिंह स्वार (१९३५) को अटलबहादुर (१९६२) नाटक प्रकाशनमा आएको स्थिति नेपाली नाटकले आधुनिक कालको पहिचान खोजेको स्थिति प्राप्त हुन्छ । यसले नेपाली नाटकको सृजन यात्रालाई क्रमशः विकासको दिशा दिँदै गएको कुरा पनि यहाँ प्रकट भएको देखिन्छ । नेपाली नाटकले विकसित र विस्तारित पाउने प्रयत्नमा स्रष्टाहरूको सृजन यात्रामा माध्यमिककालीन प्रवृृत्तिहरूलाई त्यागेर आधुनिककालीन प्रवृत्तिका विशेषता आत्मसात् गर्दै नयाँ नयाँ आयामहरू खोजेको स्थिति पनि साहित्यमा प्रकट हुँदै आएको देखिन्छ ।

लेखनाथले भर्तृहरि निर्वेद नाटकलाई प्रकाशनमा ल्याएपछिको स्थितिमा बालकृष्णसमको नाटक तानसेनको झरी (लेखन १९७७) नाटकले आधुनिकताको सूत्रपात गरिसकेको स्थिति प्राप्त हुन आएको अवस्था छ । रामप्रसाद सत्यालको फूलमा भ्रमरो अर्थात् प्रह्लाद नाटक (१९८५) पनि माध्यमिककालीन प्रवृत्तिकै निरन्तरतामा जोडिन आएको कृृतिका रूपमा स्थापित बनेको देखिन्छ । १९८६ सालमा प्रकाशित समको नाटक मुटुको व्यथाले भने पूर्णतः नाटकलाई आधुनिकताको संवेदना प्रदान गर्ने काम गरेको छ । मोतीराम भट्ट, पहलमानसिंह स्वार, लेखनाथ पौड्याल, रामप्रसाद सत्याल, बालकृष्ण सम लगायत नाट्य स्रष्टाको क्रियाशीलताको सन्दर्भमा यी प्रतिभाशाली व्यक्तित्वहरूको योगदानबाट नेपाली नाटकले आधुनिकताको आयाम वरण गर्दै गएको समय पनि यहाँ उपस्थित भएको स्थिति देखिन्छ । नाटक सृजन यात्राका सन्दर्भमा लेखनाथ पौड्यालका माध्यमबाट माध्यमिककालीन काव्य तथा नाट्य संवेदनाका पक्षहरू पनि यहाँ उपस्थापन भएका छन् । यस यात्राका सन्दर्भमा जहाँसम्म लेखनाथको नाट्य यात्राको प्रश्न छ त्यसमा के भन्न सकिन्छ भने माध्यमिककालीन साहित्यका समग्र प्राप्तिको रूपान्तरण र आधुनिककालीन नेपाली साहित्यको पूर्व सन्दिर्भमा सृजनामा प्रवृत्त बनेका पौड्याल नाटकका निम्ति युग सन्धिका प्रतिभाका रूपमा आफ्नो विशिष्ट पहिचान लिएर समग्र साहित्यवृत्तमा उपस्थित बनेका स्रष्टाका रूपमा सम्बोधित हुने प्रतिभा बनेका छन् ।

३. लेखनाथ पौड्यालको नाट्य यात्रा
कविताका माध्यमबाट साहित्य सृजनामा प्रवृत्त भएका लेखनाथ पौड्यालको सृजनयात्रा कवि प्रौढोक्ति र एकालापीय काव्यिक प्रस्तुतिका आधारमा सृजनामा क्रियाशील बनेका स्रष्टा हुन् । ‘पिँजराको सुगा’ बुद्धिविनोद, ‘गौँथलीको चिरीबिरी’, सत्यकलि संवाद लगायतका कृतिमा कविनिबद्ध प्राकृतिका आधारमा भोक्ताहरूको संयोजन गरेर संलापात्मक सृजनातर्फ प्रवृत्त बनेको पौड्यालको नाट्य चेतना कविता काव्य मार्फत नै प्रादुर्भाव भएको देखिन्छ । क्रीडनीय कला, प्रदर्शनीय कला, पठनीय कला, अनुकरणीय कला समेतको संयोजन भएर नाट्य चेतना प्रस्तुत भएको देखिन्छ । नाट्यान्तर विधामा पनि पनि नाट्यायनका चेतना प्रक्षेपित बनेका स्रष्टा पौडेलले लेखेको नाटकहरूको विषयवस्तु ख्यातवृत्त रहेको देखिन्छ । कवि भर्तृहरिद्वारा कल्पित विषयको आधारमा केन्द्रित रहेको नीतिशतक, श्रृङ्गारशतक र वैराग्यशतकका विषयलाई नाटकीकरण गरेका सन्दर्भमा भर्तृहरि निर्वेद तयार भएको देखिन्छ । त्यस्तै लक्ष्मीपूजा नाटक पूर्वीय जीवनका सामाजिक तथा सांस्कृतिक सन्दर्भको सम्पन्नता र विपन्नताका सूचक विषयहरू नाट्यायन भएको स्थिति यहाँ नाटक तयार भएको छ । यस्तै अनूदित नाटकका हकमा शाकुन्तल नाटक पनि व्याख्येय विषय बन्न सक्छ । यस स्थितिलाई आकलन गर्दै यहाँ कवि लेखनाथ पौड्यालमा रहेको नाट्य चेतना र कलालाई निरूपण गर्ने काम गरिएको छ ।

भर्तृहरि निर्वेद नाटक जम्मा सात अङ्कमा लेखिएको छ । यी सातओटा अङ्क पनि विभिन्न दृश्यहरूमा व्यवस्थित गरिएका छन् । तिनका व्यवस्थितिमा विषयको वितरण पनि निम्नअनुसार भएको छ । पहिलो अङ्क नान्दीको नादपछि सूत्रधारको प्रवेशबाट आरम्भ भएको छ । सूत्रधार र नटीको कथन प्रक्रियाबाट विषयको स्थापना भएपछि प्रथम अङ्को प्रथम दृश्य आरम्भ भएको छ । राजा काशीराज र रानीको उपस्थितिका माध्यमबाट विषयको उठान भएको विषय यहाँ नाट्यायनका आधारमा प्रकट भएको छ । राजा काशीराजकी छोरी भानुमती राजा भर्तृसँग विवाह गरे बिदा गर्ने अवसरमा मनमा आएका अनेक उहापोहलाई यहाँ विषयको स्वरूप प्रदान गरिएको स्थिति यहाँ विषय बनेर प्रकटमा आएको छ । दोस्रो दृश्यमा गायिकाहरूले मङ्गल गान गाएको संक्षिप्त प्रसङ्ग मात्र यहाँ प्रकटमा आएको छ । तेस्रो दृश्यमा ब्रह्चारी, महाजन, योगी तिन जना पात्रको संवादमा जीवनका व्यावहारिक र सन्यासका स्थितिहरूको चर्चा भएको छ । चौथो दृश्यमा भने राजा भर्तृहरि र भानुमतीको उपस्थितिमा अन्य नारी पात्र चम्पा, निम्बी, श्यामाजस्ता पात्रको अभिनयले जीवनका विषयका स्थितिहरू प्रस्तुत गरेका छन् । यसरी छोरीको विवाहपछि बाबु आमाका मनमा आएको चिन्ता र छोरी तथा उसका साथीका पनि मनमा आएका स्थिहरूलाई यहाँ नाट्य विषयका रूपमा प्रस्तुत गरिएको छ ।

दोस्रो अङ्क पनि चार दृश्यमा वितरित बनेको छ । यसको आरम्भमा वैतालिकहरूको स्तुति गान प्रस्तुत भएको छ । काशीराज र मन्त्री, सेनापति र काजी, व्यक्ति चतुर्भुज र विदूषक समेतको उपस्थिति र अभिनयमा आफ्ना कृत्यहरूको समुस्थापन गरिएको सन्दर्भ यहाँ व्यवस्थित गरिएको छ । दोस्रो दृश्यमा राजको भ्रमण गाउमा हुने र गाउँले तथा गाउँका नायक चौधरीको उपस्थितिमा भएको राजाको सवारीका सन्दर्भले जन्माएका प्रसन्नता गाउँलेहरू, सीयाराम, विहारी, बुधन, लखन, गणपत जोखू, अफिसर राजा समेतको उपस्थितिमा सम्पन्न भएको अभिनयमा राज्य परिचालन र राजाको लोकप्रियता प्रस्तुत भएको छ । यस अङ्कको तेस्रो दृश्यमा चोपदारको प्रवेश हुन्छ र विषयले गति प्राप्त गर्दछ । राजा चोपदार र अफिसरको संवादाभिनयमा यो दृश्य संयोजन भएको छ । चौथो दृश्य चाहिँ रानी, चम्पा, निम्बी, चुन्नी, राजाहरूका अभिनयमा प्रस्तुत भएको छ र राजारानीका मनमा परेका छोरी विदाइको निकट सम्भावनाले जन्माएको चिन्ता यहाँ नाटकका रूपमा प्रस्तुत भएको छ । राजा रानीको परस्परको वियोगको अप्रियताको कुतर्कताले जन्माएका स्थितिको पनि यहाँ नाटकीकरण गरिएको छ ।

तेस्रो अङ्क मात्र दुई दृश्यमा विस्तार भएको छ । यस अङ्कको पहिलो दृश्यमा विदूषक आचरणमा रहेको चतुर्भुजको प्रवेश भएको छ । विदूषकको स्वागत कथनको गन्थनमा राज्यमा आएका अनेक विसङ्गत स्थितिको विषयमा प्रस्तुत भएको छ । सती प्रथाको विरोधी चिन्तन बोकेको चतुर्भुजको सुधार चेतनाबाट प्रेरित बनेका राजाको मानसिकता यस दृश्यको विषय बनेको छ । यसको दोस्रो दृश्यमा चाहिँ रानीको प्रवेशपछि उनमा जन्मेको चिन्ता र रानी र उनका सुसारे चुन्नी, निम्बी, चम्पा समेतको बिचमा गएका अनौपचारिक संवादहरू यहाँ विषयका रूपमा प्रस्तुत भएका छन् । यसको भोगको प्रतीकात्मक उपस्थापन भ्रमराको बिम्बका रूपमा यहाँ सुसारेहरूले गरेका संवादको अवस्था यहाँ प्रकट भएको छ । यसरी तेस्रो अङ्कका दुवै दृश्यहरू यहाँ आएर समापन भएको स्थिति देखिन्छ ।

चौथो अङ्कमा जम्मा चारओटा दृश्यको व्यवस्था गरिएको छ । विदूषक चतुर्भुज, सैन्यका बिचमा भएको घोडाको यात्रामा आउनु पर्ने सन्तुलनका विषयमा भएको वर्णनमा केन्द्रित रहेको छ । दोस्रो दृश्य चाहिँ बलवन्तसिंह, कुलवन्तसिंह, पार्थिवसिंह र रघुवरसिंह जस्ता बलवान् सिकारीका बिचमा संवाद भइरहेका अवस्थामा विदूषकको प्रवेश आएको र राजाको आगमन हुने कुराको सन्देश दिएको प्रसङ्गको विवरण प्रस्तुत भएको छ । यसै स्थितिमा राजाको प्रवेश र राजा तथा शूरसेनका बिचमा भएका संवाद पनि यहाँ उपस्थापन भएको छ । सिकारबाट निवृत्त हुने सन्दर्भ यहाँ सूचित बनेको छ । यस दृष्टिले यहाँ राजाको मनस्थिति र उनका सहयोगीहरूले गर्ने व्यवहारमा आएका छिद्रताहरू प्रतिपादन भएका छन् । यसै अङ्कको तेस्रो दृश्यका पात्रहरूमा राजा, अफिसर, विदूषक र हरदयाल, तथा कुलवन्तसिंह समेतको उपस्थितिमा यहाँको सन्दर्भ पनि उपस्थित भएको अवस्था छ । चौथो दृश्यमा चाहिँ कुलवन्तसिंह, दुर्वादीका बीचका बहसहरू अनुक्रियाका रूपमा उपस्थित भएका छन् । पाचौँ दृश्यमा चोपदार, राज वैद्य, सूर सेन, विदूषक चम्पा, मन्त्रीहरू रानीको बिरामी र उनको उपचारमा लागेको सन्दर्भ यहाँको विषय बनेको छ । रानीको मूर्छा परेको अवस्थालाई यहाँ विषयका रूपमा नाट्यायन गरिएको छ ।

पाचौँ अङ्क एउटै दृश्यमा केन्द्रित रहेको छ । चोपदारको प्रवेशबाट आरम्भ भएका यस दृश्यमा राजा, राजवैद्य, दुर्वादी, बुढाकाजी, शूरसेन, चतुर्भुज, चम्पा, मन्त्री लगायतका पात्रहरूको उपस्थित भएको छ । यहाँ यिनै स्थितिहरू यहाँ चिन्ताका विषय बनेका छन् । रानी भानुमतीको बेहोस मूर्छाको स्थिति र त्यसको कारण अनि निदानको उपायको अन्वेषणमा यस अङ्कको विषय नै समाप्त भएको छ । वैद्यहरूको उपचारको प्रयासबाट रानीको मूर्छा हट्ने र होसमा आउन सक्ने सम्भावनाका सन्दर्भहरू यसमा प्रयोग भएका छन् । यस अङ्कलाई नाट्यायन गर्ने क्रममा नाटककार पौड्यालले अभिज्ञान प्रयोग गर्ने काम गरेका छन् ।

छैटौँ अङ्कको पहिलो मात्र दुई अङ्कमा व्यवस्था गरिएको छ । पहिलो अङ्क चोपदार मन्त्री, बिचको संवादको सन्दर्भ यहाँको विषय बनेको छ । जीवनका सुख दुःखका दुई आयामहरू यहाँ व्यवस्था गरिएका छन् । रानीको निधनका कारण दुःखित बनेका राजाको बिलौनामा दोस्रो दृश्य चाहिँ राजा र जोगी गोरखका बिचको विलापको सन्दर्भ प्रतिस्पद्र्धी बनेर यहाँ प्रकट भएको छ । जोगी हन्डी फुटेका कारण रोइरहेको र राजा रानीको मृत्यु भएका कारण रोएको सन्दर्भलाई समानताको बिम्व बनाएर उपस्थापन गर्ने र तिनको सादृश्यीकरण गर्ने काम जीवन एउटा हन्डी समान हो र सानोतिनो कुतौजीबाट यो फुट्न सक्छ भन्ने कुरा यहाँ प्रस्तुत भएको छ । राजाको दृष्टिमा जीवनको नश्वरताको ज्ञान यस दृश्यमा ब्युँझिएको सन्दर्भ यहाँ विषय बनेको छ ।

सातौँ अङ्क जम्मा चारओटा दृश्यमा विभाजित भएको छ । यसमध्ये पहिलो दृश्यमा काजी र मन्त्रीका बिचमा राजाको चिन्ताको विषय उपस्थित भएको छ । राजामा रहेको चिन्ता भगाउने प्रयत्न गर्ने प्रयत्नमा केन्द्रित रहेको छ । दोस्रो दृश्यमा राजा, गोरख, मन्त्रीका बिचमा भएका संवादमा जीवनको अस्तित्व र यसको उपलब्धिलाई विशिष्ट महत्त्वको विषयका रूपमा विचार विमर्श गर्ने काम भएको छ । तेस्रो दृश्य चाहिँ गोरखनाथ, राजा, रानी र मन्त्री समेतको उपस्थितिमा रानीको मूर्छा हटेको सन्दर्भ यहाँ नाटकीकृत बनेको छ । चौथो दृश्य गुरु गोरखनाथको एकालापमा मात्र केन्द्रित रहेको छ र रानीको स्वस्थता पछिको स्थितिमा गोरखनाथले दिएको अभिषेकको मन्त्र वाचनसँगै नाटकको अन्त भएको छ र नाटक सुखान्त संयोजनमा समाप्त भएको छ ।

३.दार्शनिक विषयको नाटकीकरण
नाटककार पौड्यालले यो पहिलो नाट्य कृति हो । यस कृतिमा जीवनका आवश्यक मौलिक गुणहरूले नाटकीय मर्यादा प्राप्त गरेका छन् । संस्कृत साहित्यको विख्यात आख्यानवृत्त यस नाटकको विषय र सन्दर्भ बनेको छ । राजा भर्तृहरिको जीवनमा आधारित काव्यत्रय भर्तृहरि ‘श्रृङ्गारशतक’, ‘वैराग्यशतक’ र ‘नीतिशतक’ यसका आधारभूत सामग्री बनेका छन् । जीवन उमङ्ग र रोमान्सको पनि माध्यम हो । यसमा पहिलो रमणीयताको विशिष्ट अर्थ रहन्छ । जीवनको सार्थकता रमणमा हुन्छ नै । यसलाई ‘श्रृङ्गारशतक’ले प्रतिनिधित्व गरेको हुन्छ । त्यति मात्र होइन, जीवन जिउन र व्यवहार गर्न नैतिक आचरण र मर्यादाको पनि महत्त्व रहन्छ । त्यसलाई पनि नियम र मर्यादाका सीमामा राखेर व्यवहार गर्नु पर्ने हुन्छ । यसका निम्ति ‘नीतिशतक’को विशिष्ट महत्त्व रहेको छ । यो जीवनको परिपक्व अवस्थाको प्राप्ति हो । जीवनको उत्कर्ष वीतराग हो यो उत्तराद्र्ध वयको बोध हो । यहाँ पुग्दा मान्छे सांसारिक मोहबाट विरत बनिसकेको हुन्छ र यो वैराग्यको अवस्थामा प्रवेश गरेको हुन्छ । यसलाई ‘वैराग्यशतक’ले प्रस्तुत गरेको छ । यसरी लेखनाथले त्रयशतकलाई आफ्नै विचारका आधारमा नाट्यायन प्रदान गरेका छन् ।

मान्छेको जीवनमा यी तिनओटा अवस्था सधैँ रहन्छन् । यौन र जीवनभोगको उमङ्ग पनि जीजनको सत्य हो । जीवन भोगका अनेक कोणहरूको स्थिति यही भौतिक जीवन हो । यस स्थितिलाई संयमित र मर्यादित तुल्याउने दोस्रो पक्ष नीति हो, यसले लौकिक जीवनका मर्यादालाई नियमन गर्दछ र यसले शिष्टता प्रदान गर्दछ । यसले आहार निद्रा, भय, यौनजस्ता प्राकृतिक विषयलाई मान्छेले मात्र मर्यादामा राख्न सक्छ भन्ने पनि सन्देश दिएको छ । त्यसकै निम्ति शतकत्रयमा ‘नीतिशतक’को व्यवस्था गरिएको हो । मर्यादाविहीन भएमा मान्छे केवल प्राणी हुन्छ, मानव चाहिँ हुँदैन । यौन र अन्य व्यावहारिक जीवनका समग्र पक्षको नियम र मर्यादाका साथ उपयोग गर्ने जीव मान्छे मात्र हो र यी सबैको उपभोग भइसकेपछिको स्थितिमा मात्र मान्छे पूर्ण मान्छ बन्छ । यी सबैको अवान्तरमा पुग्दा मान्छे वीतरागी पनि बन्दछ । वीतरागी बनेको मान्छे संसारको भोगबाट विरत हुन्छ र यो नै मान्छेमा अविर्भाव हुने वैराग्य हो । मानव जीवनका यी तिनओटा अवस्थालाई भर्तृहरिले काव्यायनमा अलग अलग त्रयशतकका रूपमा उयोग गरेका छन् । जीवनका त्रिधावस्थाको प्रस्तुतिमा नै त्रयशतक तर अलग अलग स्थितिमा उपस्थित भएका छन् ।

श्रृङ्गारिक सञ्चेतनाका आधारभूमिमा रचित भाव संवेगका काव्यात्मक पद्यहरूको उपस्थिति यहाँ दाम्पत्य प्रणयका दुई पुस्तामा विभाजित बनेको छ । पहिलो पुस्तामा राजा भर्तृहरि र रानी भानुमतीको उपस्थिति छ र ज्वाइँ काशीनरेश र छोरीको उपस्थिति मार्फत बहन गराइएको छ । राजधर्म र संस्कृतिको नैतिक मर्यादा, राज्य परिचालनका स्थितिहरूको संरक्षण र निष्ठाको स्थिति पनि यहाँ विषय पनि यहाँ नीतिशतकको परिवृत्त नाटकीकरण भएको छ । यस विषयको उपस्थापन गर्दा काव्यिक संवेदनालाई नाटक बनाउँदा कतिपय सन्दर्भहरू यहाँ पनि काव्यिक भावकै स्थितिमा अभिव्यक्त भएका छन् । जीवनको उत्तर वय भनेको वानप्रस्थ र सन्यासमा गुज्रिने अवस्था हो । यसलाई राजा भर्तृहरिको जीवनको विषय र आन्तरिक आध्यात्मिक चेतनाका स्थितिको प्रादुर्भाव पनि यहाँ वैराग्य शतकका नाममा प्रकट भएको छ । ‘श्रृङ्गारशतक’, ‘नीतिशतक’ र ‘वैराग्यशतक’का भाव संवेगहरू पनि यहाँ प्रस्तुत गरिएको छ । भावनाको प्रवाहलाई वस्तु र प्रविधिका स्थितिहरू यहाँ नाटकीकृत बनेका छन् । यिनै विषय र प्रस्तुतिका आधारमा यो नाटक काव्यात्मक तथा दार्शनिक नाटक बन्ने अवस्थामा पुगेको छ ।

४.काव्यनाटकको उपस्थिति
लेखनाथ पौडेल नैसर्गिक रूपमा कवि हुन् र उनको सृजनाचेत काव्यत्वमा बढी केन्द्रित रहेको छ । गेयात्मक गुण सन्निधान बनेका कविताका पङ्क्ति पङ्क्तिमा जीवन र जगत्का, इहलोक र परलोकका, भौतिक र नैतिक जगत्का, अविनाशी ईश्वर र परब्रह्म बारेका चिन्तनका विषयमा र भावका संवेगहरूको प्रतिष्ठा पनि यहाँ नाटकको आयतनमै भएको छ । यस आधारमा कवि लेखनाथको उपस्थापन जीवन्त रूपमा भएको छ । नेपाली कविताको आधुनिक कालको प्रवर्तन गर्ने कवि लेखनाथ पौड्यालको सृजनाचेत सधैँ आध्यात्मिक चेतनाका सन्दर्भतिर उन्मुख भएको छ । यसै दिशातिर उन्मुख भएका कवि लेखनाथमा आध्यात्मिक जीवन चेतना र अविनाशी रूपको उपस्थापन गर्ने काम यहाँ पनि यहाँ कविताको विषय बनेको स्थिति देखिन्छ । यिनै भाव संवेग र वस्तुस्थितिमा पनि कविको संवेदना प्रस्तुत भएको हुन्छ । यिनै स्थितिका आधारमा लेखनाथको सृजनाको गति तीव्र बनेको देखिन्छ । नाटकमा पनि कवि लेखनाथको काव्य सृजनाको संवेग विशिष्ट रूपमा अवतरित भएका पक्षहरू पनि प्रदर्शित बनेका छन् ।

लेखनाथको प्रस्तुत कृति नाटक हुँद हुँदै पनि यहाँ गीत र कविताको गायन तत्त्वले पुरै तिरोहित गरेको अवस्था छ । यसमा लेखनाथमा भएको कविता चेतना र सृजनशील गुण एकातर्फ प्रबल तत्त्व बनेर रहेको छ भने अर्कातर्फ भर्तृहरिको काव्यचेतनाले पनि प्रभावित तुल्याएको छ । लेखनाथ स्वयंमा रहेको माध्यमिक कालको अन्तमा सूक्तिसिन्धुको सांस्कृतिक संवेदनाले जन्माएको तथा यौन चेतनाकाको काव्यायन भर्तृहरिको श्रृङ्गार शतकको विषय र भाव संवेगको समीकरण बनेर नाट्यायित बनेको स्थिति देखिन्छ । यसरी श्रृङ्गारिक चेतनाको स्थिति पनि यहाँ निरूपित बन्न सक्छ । यसरी नै नीति र मर्यादा, जीवन चेतना र भौतिक व्यवहारका स्थितिहरू पनि यहाँ काव्य संवेगका आधार भूमि बनेर प्रयोगमा आएका छन् । यसलाई भर्तहरिको ‘नीतिशतक’ले उर्जावान् बनाएको छ । लेखनाथ स्वयंमा रहेको नीति चेतनाले भर्तृहरिको ‘नीतिशतक’को नैतिक चेतनाबाट उर्जा प्राप्त गरेको छ र नाटकलाई यसै नीति चेतनाले उत्प्रेरित गरेको छ । नाटककार लेखनाथको आध्यात्मिक भाव संवेग र ‘वैराग्यबल्ली’ सृजना गर्ने भाव संवेगका सन्दर्भहरूको पूर्व सङ्केतलाई भर्तृहरिको ‘वैराग्यशतक’ले उत्प्रेरित गरेको छ । यसै ‘वैराग्यशतक’को उत्प्रेरणाले र लेखनाथ स्वयंमा रहेको वीतरागी चिन्तनले यस नाटकको वस्तु निर्माण गर्नमा विशेष योगदान पु¥याएको छ ।

विषयको नाट्यायन कार्य निकै जटिल प्रविधि हो । सृजनाका आधारमा सबभन्दा प्राविधिक विधा नाटक हो । यसमा समाजको स्थितिलाई बिम्बन गर्ने पात्रहरू प्रतिनिधिका रूपमा रहन्छन् । यस आधारमा तिनको जीवनमा पर्ने प्रभावका बिम्बहरू पनि यहाँ विषयकै रूपमा आएका छन् । प्रस्तुतिमा भने नाटकका कवि लेखनाथबाट तिरोहित बनेको छ । नाटकमा व्यावहारिक जीवनका संवेग वहन गर्ने अनेक पात्रहरू उपस्थित हुन्छन् । तिनले समाज र संस्कृतिका अनेक आयाम धान्नु पर्ने हुन्छ । समाजमा अनेक जाति, वर्ग, लिङ्ग, वर्ग र क्षेत्रका भोक्ताहरूको उपस्थिति रहन्छ । त्यहाँ अनेक चेतना र सांस्कृतिक पृष्ष्ठभूमिका भोक्ताको उपस्थिति हुन्छ । त्यहाँ अनेक चिन्तन र चेतनाका पात्रहरूको उपस्थिति हुन्छ । यी सबैखाले जीवनको प्रतिबिम्बन गर्ने काम नाटकबाट हुनु पर्दछ । यस स्थितिमा नेपाली समाजको पनि आफ्नै मौलिकता छ । त्यसलाई भने यस नाटकले प्रतीकात्मक समायोजनका आधारमा मात्र काम गरेको अवस्था रहेको छ । नेपाली समाजका मानव चिन्तनले आत्मसात् गर्ने आचरण र नेपाली संस्कृतिका संवेदनाहरू पनि यहाँ विषयको बिम्ब बनेर प्रकटमा आएका छन् । गद्यको सन्दर्भ आधुनिक नाटकमा जति व्यावहारिक रूपमा उपस्थित रहन्छ पद्य त्यति सहज अनुभव नहुने आजको स्थितिलाई यहाँ विशेष ढङ्गले प्रतिपादन भएको देखिन्छ ।

५. भर्तृहरिको नाट्यायन र भाषिक प्रस्तुति
नेपाली नाटकको आधुनिक कालको आरम्भ लेखनाथ पौड्याल र बालकृष्ण समको प्रयत्नबाट भएको हो । वर्णमातृक छन्दका कवितात्मक पद्यमा केन्द्रित नाटकहरू यस समयमा प्रशस्त लेखिएका छन् । पुरापुर गद्यको प्रयोग त नेपाली नाटकमा भीमनिधि तिवारीकोे आगमन पछि मात्र भएको हो । समको समय भनेको चाहिँ लेखनाथबाट नै आरम्भ भएको हो र यसको उत्कर्ष समको अनुष्टुभ् पद्यनाटकमा आएर भएको हो भन्ने कुरा सिद्ध हुन्छ । पद्यमा संवाद गरिने काम अभिनयका निम्ति निकै कठिन विषय बन्दछ । अझ पद्यमा पनि शिखरिणी, भुजङ्गप्रयात, मन्दाक्रान्ता, अनुष्टुभ्, तथा शार्दूलविक्रीडित जस्ता अनेक छन्दहरूमा कवितात्मक संवादका कवितामा नाटकको कथालाई विषय, संवेदना र भावका तरङ्गलाई व्यवस्थित गर्ने काममा लेखनाथबाट सुन्दर ढङ्गले भएको छ । यहाँ कवितात्मक संवादको उपस्थापन गर्ने काम लेखनाथबाट कुशलतापूर्वक भएको छ । नाटकमा पद्य रहँदा संवाद र पद्यको औचित्य, कथा र कथ्यको औचित्य, अभिनेयता र अनुकरणीयताको औचित्य यहाँ उपस्थापन गरिएको स्थिति पनि स्वाभाविक अवस्थामा देखिएको छ । विशेषतः लेखनाथीय नाट्य पद्यमा कथाको गति कम र स्पष्टीकरण एवं उदाहरणको गपत बढी उपयोग भएको हुन्छ । यस्तो स्थिति प्रद्योतन गर्न धेरै पद्यहरू नाटकमा उपस्थापन भएका छन् । त्यस्ता पद्यहरू उपस्थापन भएका कारण गीत र गानाहरू पनि नाटकमा पद्यवत् बनेका छन् । नेपाली नाटकमा काव्यात्मकताका गेय पद्यहरू उर्जाशील बनेर प्रकटमा आउनु आफैमा सान्दर्भिक ठहर्छ । उदाहरणका निम्ति केही पद्यहरू ः

चान्द्री चारुकला—समान गिरिजा उन्का सखी दौतरी ।
देखिन्छन् नगिचै जया र विजया दोटी विशाखा सरी ।।
गङ्गा स्रोत उता, यतातिर घना छन् देवदारु—द्रुम ।
आडैमा तप—कन्दरा अघचिलो जस्मा छ त्यो आश्रम ।। (शार्दूलविक्रीडित)

गङ्गा तटको आश्रम र त्यसका वरिपरिको परिसरमा रहेको स्थिति र विषयको चित्रणको अवस्था यहाँ काव्यात्मक लयमा प्रस्तुत भएको छ । यसले लेखनाथको कवित्वको संवेदनालाई यहाँ प्रस्तुत गरेको छ । त्यहाँको स्थिति पनि संवेदनाको विषय यहाँ उपस्थापन भएका छन् ।

रानी ए पुतली ! आऊ, फूलका काखमा बस ।
मस्त भै पिउँदै जाऊ, मकरन्द—सुधारस ।। (अनुष्टुभ्)

यस पद्यमा कवितात्मक संवेदनाका स्थितिहरू, कल्पनाको प्रवाहात्मक संवेगको अवस्था यहाँ कविताका रूपमा प्रकट भएको छ । कवितामा पुतलीमा मानवको आरोप गरिएको स्थिति कमलको रस पान गरिरहेको सन्दर्भ पनि यहाँ कवितात्मक रूपमा प्रकट भएको छ ।

सुनौला रूपौला छवि जलप चारैतिर पसी ।
सदा पालै पालोसित भुवन घुम्छन् रवि शशी ।।
जगत् रक्षाकारी भ्रमण तिनको मङ्गलमय ।
सबै सम्झी मेरो पुलकित भयो आज हृदय ।। (शिखरिणी)

बिदा बिन्ति गर्दा पुगी उत्तिखेरै ।
झमेला निकाल्छिन् रिसाएर धेरै ।।
लगाई सबै बेलि—विस्तार पैले ।
सवारी बिदा मागनै पर्छ मैले ।। (भुजङ्गप्रयात)

राजा देख्ने अवसर मिल्यो भाग्यले आज भन्दै ।
भक्ति—श्रद्धा—सहित खुशिका आँशुको हार उन्दै ।।
कोसेली त्यो जुन जति जुट्यो हात हातै लिएर ।
रैती आए नजिक नजिकै हुर्तुराएर धेर ।। (मन्दाक्रान्ता)

साम्राज्य भार सब यो थिति थाम राजा !
यस्तै छ कर्म गति वा विधिको तकाजा ।।
यो रत्नको मुकुट मै पहिराइ दिन्छु ।
राजाऽधिराज तिमिलाई गराइ दिन्छु ।। (वसन्ततिलका)

बिचरा कसरी घोडा चढ्लान् ।
चढि हाले पनि कसरी अड्लान् ।।
सम्झी यिनको यो अपहत्ते
माया लाग्दछ सत्ते सत्ते ।। (उपजाति)

ए दुर्वादी ! पर्ख सोझै नआऊ ।
ठाडै तातै पाइला फर्क आऊ ।।
चाँडो जाने छैन क्यै काम एैले ।
ल्याएको छू राज सन्देश मैले ।। (शालिनी)

सुख दुःख दुवै जुटाउने ।
अथवा ती बिचमा छुटाउने ।।
बलियो भवितव्य हुन्छ र ।
जस देखी पुरुषार्थ रुन्छ रे ।। (वियोगिनी)

वर्णमातृक छन्दका यी पद्यहरूमा लेखनाथको कवित्व प्रखर रूपमा प्रकट भएको छ । यी पद्यहरूमा लेखनाथमा रहेको तरुणतपसी काव्यको सृजना र संवेदना चेतको पूर्वाभाष यहाँबाट नै प्रकट भएको स्थिति छ । यहाँ कवि लेखनाथको वर्णमात्रृक छन्दको सृजनाचेत यहाँ प्रकटमा आएको देखिन्छ ।

प्रस्तुत कृतिमा विभिन्न लयका पद्यको उपस्थिति छ । त्यस्ता पद्यहरूलाई आकलन गरेर गणना गर्दा गीत, गजल र गाना भनिएका अनेक पङ्क्तिहरू प्रशस्तै उपयोग भएका छन् । त्यस्ता पङ्क्तिहरूका माध्यमबाट पनि नाट्य विषय, परिवेश र विशिष्ट स्थितिको उपयोग भएको देखिन्छ । पात्रमा स्वर व्यवस्थापन र तालको स्थितिलाई समायोजन गर्ने काम यस्ता गीात्मक कविताबाट भएको छ । यस निम्ति तलका गेय पद्यहरू पर्याप्त छन् :

नरनाथ ! अहो !! परोपदेश । गरछन् मूर्खहरू पनी विशेष ।।
जुन दीप छ आफू भित्र कालो । अरूलाई गरने उही उज्यालो ।। (गीत)

बाहिर हेर्दा मागी खाने, काम नगर्ने अल्छी जस्ता ।
सन्त पुरुषको भित्र विचार्दा, अगम निराला अर्कै रस्ता ।
तिनले जसमा करण गर्छन् उसका टुट्छन् बन्धन सारा ।
दुःख दर्दले ढलपल गर्दौ जीवन—डुङ्गा लाग्छ किनारा ।। (गीत)

विधिवश अघि भूल भो, बिराएँ । अब पछुताई रुँदै रुँदै म आएँ ।
उठ उठ सुकुमारी नैनतारा । प्रियतमका भुलिद्यौ कसुर सारा ।। (गीति)

जगमा शान्ति विना सुख छैन ।
निशिदिन जति गर भोग तमासा मन लोभी बुझदैन ।
गिर्दालाई दिव्य परीका सुन्दै सुन्दर वैन ।
लाखौँ थरी रसरङ्ग उडाऊ मनले भो भन्दैन ।। (गीत)

शुभ होस् यद्वा अशुभ होस् । आफैले आफनू कर्म ।।
भोगनु पर्दछ विश्वमा । यो छ कडा प्रकृतिको धर्म ।। (गीत)

सिउँधाको यो रातो । सिन्दूर फुस्रो फिका पारी ।
गुरु बन्ने कुन होला । पापी त्यो सर्व संहारी ।। (गीत)

चह चह रे चह चह रे । सररर सररर पिङ लहरे ।
चह चह रे चह चह रे । भरिलो जीवन मादक मह रे ।। (गीत)

कठिन अँध्यारो जीवन पथमा । मधुर उषाको छवि छर्छन् रे ।।
धुरी धुरीमा जागृति जुगको । झुल्का झुल्कन आयो रे । (गीत)

हाय ! मेरी भाग्य लक्ष्मी ! प्राणप्यारी ! हाय ! हा !
काख छोड्यो आज मेरो बीच—बाटैमा अहा !!
भाग्य चकानाचूर भैगो शान्ति सारा दूर भो ।
ज्यान तिम्रो भेट मैले पाउँला फेरी कहाँ ? (गजल)

हे साधु जी ! भ्रष्ट भयेछौ तिमी भारी ।
तुच्छ कुरामा ममता राखी चेतन चोला सकल बिगारी ।।
माथ मुडाई घसी खरानी छोडी सबै रसिलो घरबारी ।
जोग लिएको सन्त महात्मा हण्डीसित अब मर्न तयारी ।। (गीत)

यस्ता सयौँ पद्यको प्रयोगबाट नाटकले काव्यायन प्राप्त गरेको छ । प्राचीन युगमा नाटकलाई काव्य मान्ने चलन रहेको चर्चा प्रशस्त पाइन्छ । शास्त्रीय आधारमा काव्यहरूमा नाटक सर्वाधिक सुन्दर हुन्छ र नाटकहरूमा पनि शाकुन्तल नाटक सर्वाधिक सुन्दर हुन्छ । शाकुन्तल नाटकका पनि चौथो अङ्क सफल र सुन्दर रहेको छ । त्यस चौथो अङ्कका पनि चार पद्यहरू अद्वितीय सुन्दर रहेका छन् भनिएको छ । यसले के कुरा सिद्ध गरेको छ भने नाटक पद्यवा पद्यात्मक भयो भने मात्र सफल हुन्छ भन्न प्रयत्न गरिएको छ । नेपाली साहित्यको आधुनिक कालको समारम्भमा कविता÷काव्य मार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कविताका रूपमा लेखनाथको अभ्युदय भएका कारण उनका नाटकमा पद्यमयता प्रस्तुत हुन्छ । स्वाभाविक देखिन्छ । यस दृष्टिले पनि भावी कवि लेखनाथको नाट्य चेतनालाई विशिष्ट भाव सवेगका आधारमा यहाँ विशिष्ट नाट्य चेतना पनि यहाँ मुखर भएको स्थिति देखिन्छ । यसरी काव्यनाटकको स्थिति यहाँ मुखर बनेको छ ।

४.उपसंहार
लेखनाथको सृजनाचेत यहाँ नाटकमा उपस्थित भएको देखिन्छ । कवितात्मक तथा गद्यका स्थितिहरू पनि यहाँ उपस्थापन भएको देखिन्छ । नेपाली नाट्य परम्परामा सम पूर्व र पहलमानसिंह स्वारको बिचमा श्रृङ्खला पनि यहाँ लेखनाथको उपस्थिति विशिष्ट रहेको अवस्था देखिन्छ । नेपाली साहित्यका स्थितिमा आविर्भाव भएको संवेदना पनि यहाँ नाटकका रूपमा प्रतिपादन भएको छ । भर्तृहरिनिर्वेदको काव्यचेतना निति, यौन र वैराग्य चेतनालाई नाट्य रूप प्रदान गरिएका स्थितिलाई यहाँ नाटकका रूपमा सम्मान गरिएको स्थिति देखिन्छ । अनेक सन्दर्भमा व्याख्या हुन सक्ने अनेक सम्भावना रहँदा रहँदै पनि यस लेखलाई सीमान्तीकरण गरिएको छ । यसलाई यहाँ एक सीमान्तता प्रदान गर्ने स्थिति यहाँ प्रतिपादन गरिएको छ । नेपाली साहित्यको इतिहासमा नाटकसँग जोडिएको काव्य संवेदनाको अवस्था विवेचना गर्दै यस सन्दर्भलाई यहीँ अन्त गरिएको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्रा. राजेन्द्र सुवेदी
प्रा. राजेन्द्र सुवेदी
Post Views: 1,117
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.