दार्जिलिङ कालेबुङ जिल्लाहरू गोर्खा बाहुल जिल्ला हुन्। यी दुवै जिल्लालाई कै चोटि दार्जिलिङ पहाड़ भन्न सकिन्छ। अझ हामीले यसलाई हाम्रो पहाड भन्न सक्छौं। यहाँभित्र नेपाली भाषा साहित्य संस्कृति, परम्परा आदिले परिचित छ। दार्जिलिङ पहाड भनेको भोटे, लाप्चे र नेपाली (गोर्खाली) हरू एउटै चुल्हाका तीन चम्को जस्तो भएर बसिआएका हुन्। पहाडभरि यी तीन समुदाय एकै भएर, काँधमा काँध मिलाएर बसेका छन्। हाम्रा चाड पर्वहरू साझा रूपमा पालन गरिन्छ, मिलेर खेती पाती गर्छौं, छिमेकीका रूपा रहिआएका छौं। माथ्लो घर र तल्लो घरमा रही एकार्का मिलेर बसिरहेका छौं। एकार्कामा सहयोग, सहभागी र सहवासी भएर बसिरहेका छौं। यद्यपि अब हाम्रो पहाडमा यी तीनबाहेक अन्यभाषीहरूको सङ्ख्या बढ्दो छ। पहाडका शहरहरूमा अरूको ढलीमली छँदैछ तर अब गाउँबस्ती कमानमा पनि अब अरूहरूको सिलिङ्मिलिङ् शुरू भइसकेको छ। अब कोलकाता र अन्य मधेसका शहरहरूको बढ्दो जनघनत्वलाई तह लाउन पहाडका खाली जमीनमा गिद्धे नजर परिसकेको छ। हाम्रो जमीन भटाभटी बिक्री भइरहेका छन्। किन्नेहरू बाहिरबाट बढी छन् भन्ने सुनिदैछ।
होम स्टे, होटल, पसल, व्यवसाय आदिका माध्यमबाट अन्यहरू हाम्रतिर छाप्छाप्ती गरिरहेका छन्। मासु पसल, लटरी पसल र घुमन्तेहरू, नरिवलवाला, च्याप्लावाला, चनावाला, खाद्य सामाग्री पसल, पसलका सामान सप्लाइ गर्नेहरू, काठमिस्री, सिमेन्ट मिस्त्री, रङ्गवाला आदिहरू पहाडभरि छरिएका छन्। गाउँ बस्ती कमानतिर पनि यिनीहरू रगरगी गरिरहेका छन्। हाम्रो मानिस अल्छी भएको जानेर बुझेर साना काम ग्रन पनि उनीहरू विस्तारै गाउँमा घुसिरहेका छन्। हाम्रा गाउँका सौन्दर्य हराभरा, शान्त शीतल, सफा परिवेशप्रति आकृष्ट भएर यती घर बनाउने लोभ पनि जाग्दछ। हाम्रा गाउँ बस्ती जमिनहरू कोलकाताबाट बढी किन्न आउँछन्। उतैबाट किनमेल हुन्छ, दाम काम हुन्छ। हाम्रै मान्छेहरूले दलाली गरेर जमीन देखाइदिने, जमिनको मालिकलाई फकाइदिने, प्रलोभन देखाइदिने हुन्छन्।
अहिले विशेषगरी कालिम्पोङमा अन्यभाषीहरूको रगरगी चहलपहल बढिरहेको छ। पहिले पहिले बिहानको समयमा गाउँ बस्तीबाट मिस्रीहरू काम गर्न उकालो बजारतिर जानेहरूको ताँती लाग्थ्यो अहिले भने बजारतिरबाट बस्तीतिर मिस्री काम गर्न जानेहरूको ताँती हुन्छ। अहिले हाम्रा खेत बारी बाँझै रहन थाले। हामी धान, मकै कोदो, फापर तोरी, आलु, साग सब्जी फलाउन छोड्दै लगेका छौं। हामीले धान रोप्दा लागेको लागत खर्च पनि उठ्दैन भनेर धान रोप्न छोडेका छौं। मूल रूपमा हामी जाँगरिलो र कर्मठ जाति हो तर हाम्रो जाँगर घटदो छ। हामी अल्छे बन्दै गएका छौं। हामी छोटो बाटो हिँडेर छिटो कमाउन खाज्छौं। हामी दिल्ली, पुणे, बेङ्गलोर, हैदरवाद आदितिर गएर अर्का काम गर्न जान्छौं तर आफ्नो माटोमा धान फलाउन छोड्यौं। बारीमा एक चपरी खन्न पनि नसक्ने भैसकेका भयौं। सुन फल्ने हाम्रो खेतबारीमा अब इलामे झार र काँडे वनमारा फूल्न थालेको छ। हाम्रोतिर रूखपात बढेका छन्। घर घरै पालिने गाई पाल्न छाडदै लगेका छौं। दुध घिउ, दही किन्न अब बस्तीबाट बजार जानु पर्ने भएको छ। फलफूल पनि हाम्रा बस्तीमा फल्न कम हुन थालेका छन्। सब्जीबारीमा सब्जी रोप्न छाडेका छौं। हामी बेसी बजार निर्भर भयौं। हाम्रो उत्पादन घटदो छ। यो चिन्ताजनको स्थिति छ।
अब हाम्रो यस रिक्तताले हीलाई नै घात गरिरहेको छ। अब यस विकृतिको सुधार गरेर हामी उत्पादनमुखी हुनुपर्दछ। हामी अब अर्काको परनिर्भर हुनुभन्दा आफ्नो उत्पादनमा बल गर्नुपर्दछ। हाम्रा बारी-खेतीलाई फेरि लहलह उपजाउनु पर्छ। नत्र हाम्रो बारी-खेती कोलकाताबाट गिद्धे नजरबाट बाँच्न सक्ने छैन। हाम्रो जमिन कोलकाताबाटै सञ्चालित हुन थाल्न सक्छ। हामीले आफ्नो जमिन दाम पाइयो भन्दैमा भटाभटी बिक्री गरे कालान्तरमा हामी आफ्नै जमिन हेर्चाह गर्ने नोकर र चौकीदार मात्र हुनेछौं। टाडा गएर अर्काकोमा दुःख गर्नुभन्दा आफ्नै जग्गाजमिनलाई कोरीबाटी गरी उत्पादन बढाउन आवश्यक छ। धानमा नोक्सान लागे हामीले आफ्नो जमिनलाई कृषि फार्मिङ गरी धेरै कमाइ गर्न सक्छौं। दार्जिलिङ पहाडका कालेबुङ, बिजनबारी, खरसाङ, मिरिक, दार्जिलिङका केही गाउँ आदितिर धान सब्जी र जुनै पनि कृषि फार्मिङ गर्न सक्छौं। यी ठाउँहरू अत्यन्तै उर्वर छन्। जे रोपे पनि फल्न सक्छ। यहाँ धेरै सम्भावना छन्। कस्तुरीले आफ्नै नाभिमा कस्तुरी वीणा बोकेर पनि खोज्दै अन्यतिर भौंतारिने गर्छ। हाम्रो पनि ठिक यही स्थिति छ। सरकारले कृषिका लागि विभिन्न किसिमका सहुलियत, तालिम आदि दिन गर्छ तर हामी नै असचेत छौं। फूलको खेती गरेर पनि पहाडलाई आर्थिक रूपमा माथि उचाल्न सक्छौं। यसका निम्ति गोर्खाल्य़ाण्ड क्षेत्रीय प्रशासन छ, यसले पनि धेरै काम गर्न सक्छ। हामीले नै हाम्रो खेत बारीलाई उब्जाउ नगरे हाम्रो भविष्य राम्रो छैन। हामीलाई प्रकृतिले नै सुन्दरता, उर्वरता, वनपाखा, हिमाल-पहाड़, नदी-नाला, शीतलता, जलस्रोत आदि सबै दिएको छ तर हामी लिन चुकेका छौं। हाम्रा जग्गामा बाहिरकाले मरिहत्तै त्यसै गरेका होइन्न. तर हामी आफ्नो जग्गा जमिनलाई चिन्न सकेका छैनौं। हाम्रो सन्ततिका भविष्य बेलैमा सोचौं।