उत्तरआधुनिकतावादले साहित्यमा बहुलताको परिकल्पना गरेको छ । सरसरती हेर्दा यसले सर्जकलाई उदार बनेर सिर्जनाको क्षेत्र दिएको छ तर ती सिर्जनाका मूल अध्येता समीक्षकलाई समस्यामा पारेको छ । नेपाली समीक्षाका जगमा रहेर कुरा गर्दा हिजो नेपाली साहित्यका कृतिहरूको विश्लेषण गर्दा संस्कृत र नेपाली भाषा जान्नु तथा भरतमुनिदेखि जगन्नाथ, विश्वनाथ, क्षेमेन्द्र आदिसम्मका काव्यमान्यताहरूलाई जाने पुग्ने अवस्था थियो । अलिपछि अरस्तुदेखि माक्र्स इलियट आदि पढ्दा पुग्ने अवस्था थियो । यसमा अङ्ग्रेजी साहित्यको प्रभावसँगै अङ्ग्रेजी भाषा जान्नु र निश्चित समयमा देखिएका निश्चित वाद वा मान्यताहरू जान्दा पुगिहाल्थ्यो । उत्तरआधुनिकताले ल्याएको बहुलता र समावेशी मान्यताका कारण समीक्षकहरूलाई अफ्ठ्यारो परिरहेको छ । कुनै कृतिको समीक्षक बन्न अध्ययनको दायरा फराकिलो बनाउनुपर्ने भएको छ । सर्जकहरूले जे पनि लेख्न सक्ने उदार स्वतन्त्रता पाएकाले समीक्षकले त्यसलाई ठम्याउन सक्ने धारिलो अध्ययन सामर्थ्य विकास गर्नुपर्ने भएको छ । एकै व्यक्ति बहुल विषय क्षेत्रको ज्ञाता हुन नसक्ने यथार्थ पनि छँदैछ ।
उत्तरआधुनिक लेखन जटिल पनि हुन सक्छ । यसले लेखकको र इतिहासको अन्त्य गरिसकेको दावी गर्छ । यस अर्थमा एकभन्दा बढी भाषामा एउटै रचना हुन पनि सक्ने भयो । बहुनायकत्व, बहुकेन्द्र वा जेजस्तो विषय र शैली पनि अवलम्बन हुन सक्ने भयो । धु्रवचन्द्र गौतमको जेलिएको उपन्यासलाई नेपाली मात्र बुझ्ने समीक्षकले बुझ्न जटिल छ । यहाँ नेपाली भाषाभित्र भरमार भोजपुरी भाषाको प्रयोग पनि छ । भोजपुरी समुदायको संस्कार र संस्कृतिलाई निकै बाक्लै प्रतिविम्बन गरिएको छ । यस कृतिलाई बुझ्न र सही विश्लेषण गर्न भोजपुरी भाषा र संस्कृति पनि बुझ्नुपर्ने हुन्छ । यसरी नै अन्य मैथिली, अवधी, नेवारी, मगराती, मैथिली, गुरुङ, चेपाङ, राई, लिम्बु,तामाङ, पाली राउटे आदि भाषालाई नेपाली भाषी कृतिभित्र सोभैm प्रयोग गर्ने हो भने त्यसको अध्ययन गर्ने सामर्थ्यको समीक्षक को होला ? कुमार नगरकोटीका र अरू धेरै पहिचानवादी लेखकका कृतिमा नेपाली सांस्कृतिक बहुलता छ । भानुभक्त पोखरेलले हिमवत्खण्ड महाकाव्यमा संस्कृत शब्दकोशमा नि नभेटिने गरी संस्कृत शब्द प्रयोग गरेका छन् । उनले वैदिक पौराणिकदेखि इतिहासका अनेक पात्र जोडेर महाकाव्यमा किराँत सभ्यताको वर्णन गरेका छन् । यो एउटै कृतिको सही विश्लेषण गर्न वैदिक भएर मात्र पुग्दैन, जनजातिविज्ञ भएर मात्र पुग्दैन, पौराणिक इतिहासको ज्ञाता मात्र भएर पनि पुग्दैन र इतिहासकार वा विद् भएर मात्र पनि पुग्दैन । त्यसको सही ढङ्गले अध्ययन गर्ने समीक्षकको खाँचो छ । यो अवस्था बहुलवादी कृतिहरूमा बारबार देखिन थालेको छ ।
बहुलता र समावेशी चिन्तनले सिर्जनालाई सुरूप वा कुरूप के बनाउने भन्ने विषयको सही छिनोफानो हुन बाँकी छ । एउटा भाषामा लेखिएको कृतिमा अर्को भाषाका शब्द सोझै प्रयोग कतिसम्म गर्ने । विम्बात्मक रूपमा बहुलताका नाममा कतिसम्म सामग्री समेट्ने भन्ने विषय बहुलवाद र उदारताका हिसाबले लेखकले नसोच्ता भयो तर त्यस कृतिको समालोचना गर्ने समीक्षकले के गर्ने ? अबका समीक्षमा बहुलताको प्रवेश भएको छ तर त्यसलाई चिर्न निकै गम्भीर चुनौति थपिएको छ ।
उत्तरआधुनिकतावादको एउटा पक्ष सबै अन्तरविषयहरूलाई कला वा साहित्यमा संयोजन प्रयास हो र यो नै बहुलवाद हो । यद्यपि कुनै विषय क्षेत्रको व्यक्ति धेरै विषय क्षेत्रको सामान्यज्ञान लिन सके पनि त्यसलाई चिरफार गरेर विश्लेषण गर्ने सामर्थ्य राख्दैन । यसले सतही अध्ययन र विश्लेषण्को खतरा निम्त्याउँछ । यही कारण पनि होला पश्चिममा पनि हाल यस मान्यताको प्रभाव क्रमशः क्षीण हुँदै गइरहेको र त्यसको ठाउँमा नवआलोचनात्मक यथार्थवाद स्थापित हुँदै गएको अवस्था छ । यद्यपि यसले नेपाली भाषा साहित्य जस्ता अङ्ग्रेजी साहित्य सिर्जनपरम्परा र प्रयोगबाट प्रभावित विश्वका भाषासाहित्यमा संक्रमण फैलाइसकेको छ । उत्तरआधुनिक मान्यताको मेरुदण्ड मानिने विनिर्माणवादका जनक ज्याक डेरिडा स्वयम् पनि जीवनको उत्तराद्र्धमा परम्परागत मूल्यतिर आकृष्ट हुँदै गएको उनी केन्द्रित समीक्षकहरूको ठहर छ । झट्ट हेर्दा उत्तरआधुनिक चिन्तनले संसारलाई उदार नवदृष्टि दिएको छ तर यसले धेरै आदर्श र मूल्यहरू विगठन गरेको छ । यसबाट बच्न माक्र्सवादीहरूले अभियानै चलाएका पनि छन् । यद्यपि यो अधुनिक युगका ससाना मूलयलाई लिएर चुनौतिका साथ हो र होइनको भ्रमका बिचबिचैबाट विकसित भइरहेको छ । यसका धेरै मूल्यहरू सैद्धान्तिक मूल्यका साथ भन्दा पनि अवधारणाका रूपमा अगााडि आएका छन् । यीमध्ये कतिले विस्तारै सैद्धान्तिक मूल्य पाउलान् र कति अवधारणाकै रूपमा विलय पनि होलान् । साहित्यलाई अन्तरविषयक चिन्तनका बहुलतामा लैजान भने यस वादले पनि सहयोग नै पुर्याएको छ ।
-डा. रमेश शुभेच्छु