भक्त राई (खोटाङ) नेपाली साहित्यमै उच्च शिक्षा लिएर साहित्य, लोकसाहित्य र संस्कृतिमा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘दशैँ’ शीर्षकको गीत समेटिएको छ । यस गीतले यथार्थपरक ढङ्गले नेपाली सांस्कृतिक पर्वको रमाइलो र स्मरणीय पक्षलाई उद्घाटन गरेको छ । -सम्पा. |
दशैँ तिहार चाड आउँदा घर जानेको ताँती
मलाई पनि खोज्दै होलान बाल्यकालका साथी ।
छैन अरे गोपेकामा, दुङ्माली र तल्ला घरकी सानी
सधैँ मलाई माया गर्ने आफ्नै छोरा ठानी
गाँउ घर सम्झी ल्याउँदा मनमा नाना भाँती
मलाई पनि खोज्दै होलान बाल्यकालका साथी ।
छैन अरे सिरमाने र सिरान घरको देपा
भेट्न मन लाग्यो मलाई सबलाई एक खेप
मेरा लागि तिनै हुन सबैभन्दा माथि
मलाई पनि खोज्दै होलान बाल्यकालका साथी ।
हर्क दाइ, लीला दाइ मिल्ने डाक्टर भाइ
साउदीबाट आयो अरे रौसे पदम दाई
काठमांडौँको महल भन्दा गाउँको घरै जाती
मलाई पनि खोज्दै होलान् बाल्यकालका साथी ।