सन्देश सुब्बा नेपाली साहित्यमा सिर्जना, समीक्षा र सङ्गठनका माध्यमबाट सेवा गरिरहेका प्रतिभा हुन् । उनको सम्झनाको आँधी (२०७७) प्रतिनिधिमूलक गजल सङ्ग्रह हो । साहित्यसागरमा उनको ‘बाँच्छ यो सहर’ बोलको गजल समेटिएको छ । यस गजलले सहरको कुरूप पक्षलाई उद्घाटन गरेको छ । -सम्पा. |
रित्तो रित्तो आफू मात्र, बाँच्छ यो सहर,
मानवता भन्ने सबै, मास्छ यो सहर ।
घुर्र घुर्र अनिदोमा, दिनभरि घुर्छ,
छि? लोदर ! साँझपछि, बास्छ यो सहर ।
डिस्को अरे डान्सबार अरे, कुन्नि के के भन्छ,
लबस्तरो नाङ्गो नाच, नाच्छ यो सहर ।
गमक्क छ झूठो खोक्रो, शानसौकतमा,
ङिच्च दाह्रा देखाएर, हाँस्छ यो सहर ।
आफ्नो स्वार्थ पूरा गर्न, सस्तोभन्दा सस्तो,
महासस्तो खोक्रो नाता, गाँस्छ यो सहर ।
मुखले त रामै भन्छ, च्याँखे असुल्न,
अलिकति मौका भेटे, पास्छ यो सहर ।
आँखा छली नेपथ्यमा, काँडा खेती गर्छ,
थुप्रै फूल कोपिलामै, छाँस्छ यो सहर ।
के भनेको भन्नुहोला, ‘सन्देश सुब्बा’ ले,
टेक्नुहोस् न कत्ति तल, भास्छ यो सहर ।