दिव्य गिरी नेपाली साहित्यमा बहुुमुखी ढंगले कलम चलाउने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । उनका मुक्तक, कविता, कथा र जीवनीहरू पनि प्रकाशित छन् । उनी त्यत्तिकै राम्रा गजलकार पनि हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको गजल रचना समेटिएको छ । ऊ किन ढल्यो बोलको यस गजलले परिश्रम गर्दा पनि फल प्राप्त नभएको व्यक्तिको चित्रण गरिएको छ । |
ऊ किन ढल्यो ? उसैलाई था’छैन
ऊ किन गल्यो ? उसैलाई था’छैन ।
दिनरात पसिनाले भिजेकै हो
ऊ किन बल्यो ? उसैलाई था’छैन ।
मुर्च्छा परेको पनि युगौँ भैसक्यो
कसरी चल्यो ? उसैलाई था’छैन ।
रगतले सिंचेको हो माटोलाई
काँडा पो फल्यो, उसैलाई था’छैन ।
सपना देख्नु मात्र अधिकार भयो
बिपनै जल्यो, उसैलाई था’छैन ।