साहित्यमा एउटा पारिभाषिक पदावली तहको पद छ –साहित्यपारख । यो शब्द ‘साहित्य’ र ‘पारख’ दुई शब्दको योगबाट निर्माण भएको छ । यो शब्द साहित्यको समालोचनाका सन्दर्भमा प्रयोग हुन्छ । यसले सहृदयी पाठक वर्गले साहित्यका सामग्रीलाई पारख गरिने कार्य भन्ने बुझाउँछ । यसले साहित्यमा अभिव्यञ्जित हुने कलात्मक संवेदनालाई पाठकले ग्रहण गर्ने र त्यस्तो ग्रहणबाट सम्मोहित हुने कलालाई देखाउँछ । यो शब्दले साहित्यको ग्रहण गरिने कार्यलाई सम्बोधन गर्छ । यो साहित्य र पाठकका बिचको सम्बन्धलाई देखाउने यौगिक शब्द हो । यसले साहित्यका ग्राहक अर्थात् पाठकले ग्रहण गर्ने खुबीलाई बुझाउँछ ।
पारखको अर्थ गुण दोष वा असल कमसल छुट्याउने काम भन्ने हुन्छ । यसलाई असल कमसल छुट्याउने बुद्धिका रूपमा र विवेकका रूपमा पूर्वीय काव्यशास्त्रीहरूले समीक्षकका गुणसँग जोडे । साहित्य पारखीको अर्थ साहित्यको परीक्षक भन्ने हुन्छ । यसले पाठकमा पनि साहित्य पारख गर्ने क्षमता हुनुपर्छ र मात्र साहित्य पढ्न र बुझ्न सकिन्छ भन्ने धारणालाई सबल बनाउँछ । यो चिन्तन पश्चिममा विकसित पाठप्रतिक्रियापरक समीक्षा परम्परामा देखिन्छ । पाठक प्रतिक्रियात्मक समीक्षा परम्पराका समीक्षकले कृतिको अस्तित्व कागजमा छापिएका अक्षर र वाक्यमा नभई पाठकको मनमा संरचना निर्माण भई प्रकट हुने विश्वास गरेका छन् । उनीहरू पाठकले कृतिको आविष्कारमा सहकार्य गर्ने धारणा राख्छन् ।
पठकीय पारख सामथ्र्यले कृतिको प्रभाव, अर्थ, कृतिचयन र कृतिको लक्षित समूह पनि निर्धारण गरिदिन्छ । पाठक केन्द्रित समीक्षक बोल्फगङ्ग इसरले कृतिबाट पाठकको प्रतिक्रिया नियन्त्रित हुने भए पनि कृतिमा रहेको रिक्ततालाई पाठकले आफ्ना सिर्जनात्मकताले भर्ने धारणा राखेका छन् । यो दृष्टिकोण भन्दाअगाडि नै पूर्वमा सुभाषितरत्नभाण्डागारममा भनिएको थियो ‘कविः करोति काव्यानि रसं जानाति पण्डितः ।÷तरुः सृजति पुष्पाणि मरुद्वहति सौरभम् ।’ साहित्यमा पारख चिन्तनले यही चिन्तनलाई अगाडि सारेको छ । यसले हरेक सिर्जनाको मूल्य पाठकले थाहा पाउने विचार अगाडि सारेको छ । पाठक सम्बन्धित कृतिको पण्डित हो भन्ने भाव अगाडि सारेको छ । यस श्लोकमा हाम्रा आचार्यहरूले लेखकले लेख्ने हो त्यसको रस पण्डितले जान्दछन् जसरी रुखले फूल फुलाउने हो सुवास हावाले चारैतिर फैलाउने हो भनेका छन् । त्यसको प्रभाव पश्चिममा अलि ढिला गरी पाठकले कृतिको अर्थ लगाउने धारणाका रूपमा विकास भएको छ । उनीहरूले व्यक्तिको सामाजिक वर्ग, आर्थिक अवस्था, जातीय पृष्ठभूमि, लैङ्गिकता, राष्ट्रियता, उमेर, शारीरिक अवस्था, पेसा, व्यवसायिक अभिरुचिअनुसार कृतिको बोध गर्छ भनेका छन् । पूर्वीय पारख चिन्तन र पश्चिमी पाठक केन्द्रित समीक्षाको समन्वय सूत्रको व्यवस्थित खोज गर्न भने बाँकी छ । जे भए पनि साहित्य पारखमा पाठकको सचेतता आवश्यक छ । पाठक केन्द्रित वा पाठक प्रतिक्रियापरक समीक्षाको आफ्नै महत्त्व छ ।
-डा. रमेश शुभेच्छु