समाचार आइरहन्छन् आज फलानाको किताब विमोचन भयो । सन्देश आइरहन्छन्– आज मेरो कृतिको विमोचन छ । मेरो कृतिको विमोचन समारोहको उद्घोषण गरिदिनुपर्यो । मेरो कृतिमाथि बोलिदिनु पर्यो । यो विमोचन चाहिँ तारे होटलमा हुँदैछ केही ठुला साहित्यकारलाई निम्ता गर्नु पर्यो । फेरि समाचार आउँछन् –फलना नेताले फलानाको कृति लोकार्पण गर्दै कृति उत्कृष्ट रहेको बताउनुभयो । प्रधानमन्त्री निवासमा फलना लेखकको कृति लोकार्पण भयो । कृतिमाथि बोल्दै प्रभानमन्त्रीले कृति आजसम्मकै उत्कृष्ट भन्नुभयो । राष्ट्रपति निवासमा राष्ट्रपतिले फलानाको कृति लोकार्पण गर्दै कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपेको बताउनुभयो । यस क्रममा मन्त्री, संसद्, मेयर, उपमेयर, वडाध्यक्ष सबै देखिइरहन्छन् । केही प्राध्यापक र बौद्धिक व्यक्तित्वका नाम पनि पढ्न पाइन्छन् । केही सेलिब्रेटीहरू पनि कृतिका विमोचन गरिरहेका र कृतिमाथि बोलिरहका भेटिन्छन् । लाग्छ, नेपाली साहित्य फस्टाइरहेछ । कृति विमोचन भइरहेका छन् । हाम्रो बौद्धिक अवस्था विकास भइरहेको छ । वास्तवमै यो अवस्था देखिए जस्तो सरल रेखामा अगाडि कढिरहेको छैन ।
नेपाली साहित्यमा कृतिको परिमार्जन र सम्पादन भन्दा भव्य विमोचनलाई महत्त्व दिन थालिएको छ । कृतिको राजधानीमा, प्रमुख सहरमा र लेखकको गृह जिल्लामा विमोचन गर्ने लहर चलेको छ । हरेक विमोचनमा कृति उत्कृष्ट छ भनिन्छ । हरेक वक्ता कृतिको गुण गरिमा उठाइरहेका हुछन् । लेखकको प्रशंसामा समाचारहरू आउँछन् । लेखकको फेसबुकका वाल समाचार र प्रशंसाले भरिएका हुन्छन् । कृतिको वास्तविक मूल्याङ्कन भने कतै पनि भइराखेको हुँदैन । विशेषज्ञ कलम मौन बसिरहेको हुन्छ । अतिथि नै समीक्षक, पात्रकार नै समीक्षक र लेखक नै समीक्षाको ड्राफ्ट गरेर अनलाइनहरू भरिरहेका हुन्छन् । यो अन्तर्य कृतिमाथिको हल्ला सुनेर किनेर ल्याएर पढेपछि मात्र खुल्ने यथार्थको सिकार बौद्धिक जगत् बनिरहेको छ ।
कुनै क्षेत्रमा एउटा नयाँ आविष्कार हुनु, र साहित्यिक जगत्मा नयाँ कृति आउनु उस्तै कुरा हुन् । साहित्यिक क्षेत्रमा पुस्तक प्रकाशन एउटा आविष्कार हो । सङ्गीत क्षेत्रमा एउटा गीत सार्वजनिक हुनु अर्को आविष्कार हो । चित्रकला र मूर्तिकलाका क्षेत्रमा एउटा चित्र वा मूर्ति बन्नु नयाँ नयाँ आविष्कार हुनु हो । चलचित्र क्षेत्रमा नयाँ चलचित्र बन्नु वा रङ्गमञ्चमा कुनै नयाँ नाटक लेखिएर मञ्चन हुनु पनि आवविष्कारकै आयाम हुन् । यस्ता आविष्कारमा विज्ञानका क्षेत्रमा जस्तै सम्बन्धित लेखक, निर्देशक वा कलाकारले लामो अभ्यास, प्रयोग र तपस्या, गरेका हुन्छन् । यिनको सार्वजनीकीकरण उत्सवमय हुनु स्वाभाविकै हो तर सार्वजनिकीकरणको भड्किलो लहरले कृतिको बौद्धिक खुराक नबबढाउँने र हल्ला हल्ला मात्र हुने कुरा बिर्सनु हुँदैन । कृतिको बौद्धिकता वा मूल्यवता बढाउन कृति प्रकाशनपूर्व नै अन्तक्रिया र परिमार्जन हुनुपर्छ । त्यसलाई बनाउने जति बनाइसक्नुपर्छ ।
कृति प्रकाशन त देखिने रूप मात्र हो । प्रकाशनपूर्वका कामहरू धेरै हुन्छन् । लेखन योजना, लेखन, टङ्कण, सम्पादन, साजसज्जा, पुनः सम्पादन, आवरण, फोटो सङ्कलन, आवश्यक सामग्रीको संयोजन आदि अनेक पक्षपछि बल्ल कृति प्रकाशनयोग्य बनेको हुन्छ । प्रकाशनका क्रममा पनि अनेक पक्ष सक्रिय बनिरहेका हुन्छन् । छाप्ने प्रेससँग जोडिएका अनेक विशेषज्ञ र कर्मचारीहरूको योगदान हुन्छ । त्यसरी आएको कृति उत्सवमय समारोहका बिच सार्वजनिक हुनु खुसीको हुरा हो तर अरू सबै कुरा उत्सवमय नबनेर कृतिको सार्वजनीकीकरण मात्र उत्सवमय बन्यो भने त्यो लेखकका लागि प्रत्युत्पादक बन्छ । सबै कृतिहरू विमोचन समारोहमा जस्तै उत्सवमय सन्देश लिएर बौद्धिक व्यक्तित्वका प्रिय बन्न सकून् ।
-डा. रमेश शुभेच्छु