दुर्गाकिरण तिवारी युवा पुस्ताकी सक्रिय स्रष्टा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको एउटा गजल सिर्जना समेटिएको छ । यस सिर्जनाले मानवीय सम्बन्धको गहन पक्षलाई उजागर गरिएको छ । -सम्पा. |
उम्लिन्छ हुलुक्क भई कमजोर मन, यही न हो
मरुभूमिझैं छ खडेरीमा प्यासी तन, यही न हो ।
लगाउँछौ वचन रुखा घोच्छन् चस्स हृदयमा
दुख्छ पोल्छ घाउ बेचैनी हुन्छ झन्, यही न हो ।
बढाउन दुरी सम्बन्धमा बहाना बनाउँछौ अनेक
मिलनप्रति हदै बनाउँछ अधीर पन, यही न हो ।
हाम्रो भेट होला नहोला, नियतिकै त छ खेल
उसैले चलाउँछ हर कुरा, गर्छ खटन, यही न हो ।
बिर्सिन सक्छौ सम्बन्ध र पत्थर बन्न सक्छौ तिमी
माया र प्यासका पोका जति यहीँ छन्, यही न हो ।