ममता मृदुल (विराटनगर –३) नेपाली साहित्य र सञ्चार क्षेत्रमा समर्पित प्रतिभा हुन् । गोरखापत्र संस्थानसँग संलग्न सञ्चार कर्मी मृदुलको कलम बहुविधामा चलिरहेको छ । नागबेलीमा २०४१ सालमा ‘माया’ शीर्षकको कविता उनको पहिलो पल्ट प्रकाशित रचना हो । उनले महेन्द्र जयन्ती तथा सम्विधान दिवसमा २०४२ सालमा कवि गोष्ठीमा प्रथम पुरस्कार, देवकोटा जयन्तीमा तृतिय पुरस्कार २०४३ गर्दै अगाडि बढेकी मृदुलले अन्य प्रतियोगितामा पुरस्कृत बन्दै सिर्जनालाई पनि निरन्तरता दिइन् उनका प्रकाशित कृतिहरू उल्लेख्य छन् । उनका अँध्यारो रात (कथासङ्ग्रह २०७०), अभिजय (कवितासङ्ग्रह २०७३), अधुरो नाता (उपन्यास २०७४), आखिर किन ? (कथासङ्ग्रह २०७६), अँजुलीको पानी ( उपन्यास २०७६), सेलाएको सयपत्री (लघुकथा सङ्ग्रह २०७७), स्पर्श (उपन्यास २०७७), समकालीन लघुकथा विवेचना (समीक्षा २०७९), कान्छी छोरी (लघुकथा सङ्ग्रह) जस्ता कविता र आख्यान विधा केन्द्रित कृति प्रकाशित छन् । यहाँ मृदुलको ‘गुलाफको फूल’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले पुरुषप्रधान समाजको एउटा कुरूप दृश्यलाई देखाएको छ । -सम्पा. |
“तिमीलाई एक घण्टा भयो पर्खेको । कहाँ गएकी थियौँ ?“ रमेशले मायालु भाव देखाएर सोधे ।
“कहाँ जानु नि । आज रोज डे फूल किन्न गएकी थिएँ “ सानुले जवाफ दिइन् ।
सानुले कति माया गर्छे । बेकार रिसाएकोमा रमेशले आफैलाई सम्झायो । विचरी फूल किन्न गएकी खाली हात आएकी छे । सकियो होला पसलमा, मनमनै सोच्यो ।
सानु खुसी छे । प्रेमिल गीत गाउँदै चिया बनाएर रमेशलाई दिँदै सोधी कति बेला आउनुभएको ? भाउजू खोइ ?
“दिदीलाई होइन म त तिमीलाई भेट्न आएको थिएँ , अब भेट भैहाल्यो जान्छु , रमेशले भन्यो ।
उ फिस्स हाँसी मात्र ।
पैसा थिएन् खाली हात भेट्न आएकोमा मन चिसो पार्दै रमेश उठ्यो ।
वर्ष दिन बित्यो । आज रोज डे रमेशले लोकसेवा पास गरेर सातौँ तहमा अधिकृत भइसकेको छ । सात महिना भइसक्यो भेट नभएको आज सप्राइज दिन्छु र बिहेको प्रस्ताव पनि राख्छु ।
एघार वटा रातो गुलाफको प्याकेट हातमा लिएर सानुलाई भेट्न गयो ।
दिदीको आँगनमा भिड थियौ । भीडबीचबाट कसैले भन्दैथियो । चार महिनाको पेट रहेछ, बिष पिएर मरी । रमेशको हातको गुलाफ भुइँमा छरियो ।