नेपाली साहित्य जगतमा विभिन्न सम्मान पुरस्कार स्थापना भएका छन् । नयाँ नयाँ सम्मान पुरस्कार स्थापना हुने क्रम पनि त्यत्तिकै चलिरहेको छ । मन्त्रालय, प्रज्ञा–प्रतिष्ठान, प्रदेश प्रतिष्ठानहरू हुँदै स्थानीय तहका प्रतिष्ठानहरू सम्मानको लर्को लगाइरहेका छन् । त्यस्ता प्रतिष्ठानबाट स्रष्टाले सम्मान पुरस्कार एवम् पदक प्राप्त गरेको र प्रदान गरिएका समाचार बारम्बार आइरहन्छन् । तिनै सम्मानित स्रष्टाका अप्राप्य प्रायः भइसकेका कृति, नवप्रतिभाहरूका नयाँ कृति प्रकाशन गरिदिएर प्रोत्साहन गरिदिने प्रतिष्ठानहरू शून्य प्रायः हुँदै गएका छन् । प्रदेशमा बन्ने र स्थानीय तहमा बन्ने साहित्य संस्कृति प्रबर्द्धन गर्ने संस्थाहरू पनि यता लम्कन सकिरहेका छैनन् । यस परिस्थितिले साहित्यिक जगतमा सिर्जना कम र सम्मान बढी हुन थालेको कनाहा परिस्थिति बनेको छ ।
आज स्रष्टालाई सम्मानबाट व्यक्तित्व भन्दा उसको कृतित्वलाई उजागर गर्ने संस्थाको खाँचो हुँदैछ । कृतित्वसहितको व्यक्तित्वको सङ्ख्या कम हुँदै गएको छ । पुराना कृति प्रकाशन गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले सिर्जनाभन्दा समीक्षामा जोड दिन थालेपछि नेपाली साहित्य परम्परामा सिर्जनाका नयाँ नयाँ आयामहरू आउन सकिरहेका छैनन् । हिजो हरेक नयाँ प्रयोग भएका कृतिहरू ती संस्थाबाट सार्वजनिक हुन्थे । तिनका हौसलाले इन्द्रबहादुर राईहरू, ध्रुवचन्द्र गौतमहरू एकपछि अर्को उपन्यास लेख्थे । मोहनराज शर्माहरू, सरुभक्तहरू एकपछि अर्को नाटक लेख्थे । ईश्वर बल्लभ, मोदनाथ प्रश्रित र दिनेश अधिकारीहरू एकपछि अर्को कविता लेख्थे । आज त्यसरी हौसला दिने संस्थाहरू कम हुँदै गएका छन् । पाण्डुलिपि बुझाउने भरपर्दा प्रकाशकहरू कम हुँदै र सकिँदै गएका छन् । प्रकाशकहरू स्वयम् स्रष्टासँग पैसा त्यो पनि छाप्दा लाग्नेभन्दा बढी लिइरहेका छन् । पारिश्रमिक दिएर रचना प्रकाशन गरिदिने पत्रपत्रिका सून्य प्रायः भइसकेका छन् । यसले नेपाली स्रष्टाभित्रको सिर्जना मरिरहेको छ । भविष्यमा हरेक स्रष्टाहरू कृतिभन्दा बढी सम्मानको थुप्रोमा पुरिएर रहने सम्भावना बढिरहेको छ ।
सिर्जना प्रकाशनका हौसला बोकेर साझा प्रकाशन र नेपाल प्रज्ञाप्रतिष्ठान स्थापना भएका बेला अधिकांश राम्रा कृतिहरू जन्मिएका छन् । आजभन्दा हिजो राम्रा कृति लेखिन्थे भन्ने विचार पश्चगमी विचार हुन सक्छ । समय प्रवाह र नयाँ युगमा नयाँ चेतनाका कृति लेखिन्छन् । आज भन्दा हिजो अभिप्रेरक संस्थाहरू थिए भन्नु पश्चगामी विचार होइन । आजका संस्थालाई कसरी अगाडि बढाउने भन्ने चिन्ताको विषय हो । हरेक समाज, स्रष्टा र सिर्जना हिजोका जगबाट नै अगाडि बढ्ने हो । आज नेपाल प्रज्ञा–प्रतिष्ठानले समीक्षा र अनुसन्धानलाई महत्त्व दिनु एक दृष्टिले उपयुक्त छ । यी क्षेत्रका लागि अभिप्रेरक काम बनिरहेको छ । त्यसो भए पनि नित्य नवीन सिर्जनाविना समीक्षा र अनुसन्धान मात्र बाँच्न सक्तैनन् । निजी सरकारी सबै संस्था र प्रतिष्ठानहरूको ध्यान यतातिर जान सकोस् । पाण्डुलिपि लिएर छानेर प्रकाशन गरिदिने अभियान अगाडि बढोस् । त्यसले साहित्यको वस्तुगत विकासलाई प्रोत्साहन हुन्छ ।
-डा. रमेश शुभेच्छु