हामीले समीक्षाका क्रममा पश्चिमी टेको लिनुलाई नेपाली समीक्षाको विकास ठानिरहेका छौँ । त्यसरी टेको लिने पश्चिमी चिन्तकमध्ये एक एम. एच. अब्राम्स हुन् । उनले पाश्चात्य समीक्षामा चार ओटा मूल चरित्र उल्लेख गरेका थिए । तिनको प्रयोग निकै बाक्लो मात्रामा भयो । उनले प्रस्तुत गरेका ती चारवटा चरित्र हुन् :
(क) अनुकृतिमूलक,
(ख) सम्प्रेषमूलक,
(ग) अभिव्यक्तिमूलक र
(घ) वस्तुपरक ।
अब्राम्सले अगाडि सारेका यी चरित्र आफूपूर्वका अध्ययनपरम्पराका अनुगमनबाट तयार पारेका थिए । यी चरित्रमध्येमा अनुकृतिमूलक चरित्रले प्लेटो कालीन चेतना र चिन्तनको सङ्केत गर्दछ । यसले प्राचीन सौन्दर्य चेतनामूलक समालोचना पद्धतिलाई चिनाउँछ । यसको प्रयोग पश्चिममा आजसम्म कुनै न कुनै रूपमा भइरहेको छ ।
अब्राम्सले अगाडि सारेको दोस्रो चरित्र सम्प्रेषणमूलक चरित्र हो । यस चरित्रले सिडनी कालीन कलादृष्टिको झल्को दिन्छ । यसले अनुकृतिलाई व्याख्यात्मक रूपमा प्रस्तुत गर्छ । यो व्याख्यात्मक समीक्षा गर्ने पद्धति विशेष हो । यसको मूल काम कृतिको व्याख्याबाट सम्प्रेषण गर्नु हो । यो पद्धति आज पनि कला समीक्षामा कुनै न कुनै रूपले जीवन्त छ । यसको प्रभाव हामीमा अझ बलियो छ ।
अब्राम्सले अगाडि सारेको तेस्रो चरित्र अभिव्यक्तिमूलक चरित्र हो । यस चरित्रले पश्चिममा विकसित स्वच्छन्दतावादी समीक्षा पद्धतिको झल्को दिन्छ । यसले वर्डस्वर्थ कालीन रोमान्टिक कला समीक्षा पद्धतिलाई चिनाउँछ । यस पद्धतिले सकेसम्म मूल सिर्जनालाई चिनाउने काम गर्छ । सिर्जनाको थप व्याख्या गर्ने र त्यसका गुढ अर्थ पहिल्याउने प्रयत्न गर्छ । यस पद्धतिको विम्बहरूको अर्थ खोजी गर्ने प्रयत्न समीक्षा परम्परामा निकै सबल छ ।
अब्राम्सले अगाडि सारेको वस्तुपरक चरित्रले अठारौँ शताब्दीको अन्त्यपछि देखा परेको काव्यात्मक संरचनालाई सम्बोधन गरेको छ । यस चरित्रले तथ्यका आधारमा गरिने कला– साहित्यको विश्लेषणको स्वरूपलाई चिनाउँछ । यसको प्रभाव आज पनि त्यत्तिकै छ । यो तथ्यपरक समीक्षाको आधार पनि बनिराखेको छ ।
माथिको विमर्शका कोणबाट हेर्दा समीक्षाको साँचो उस्तै देखिए पनि यो एकै प्रकारको नभएर फरक फरक छ । यसले विधा र सिद्धान्तअनुसार आफूलाई फरक स्वरूपमा प्रस्ततु गर्दछ । त्यसरी नै शैली र प्रक्रियाअनुसार पनि फरक फरक स्वरूपमा प्रस्तुत गर्छ । यी पक्षलाई वास्तविक समीक्षकहरूले बुझेरै प्रयोग गरिरहेका हुन्छन् र सन्तुलित भाषा बोलिरहेका हुन्छन् । आफ्नो समीक्षालाई सिर्जनामाथिको प्रहार नभई सिर्जनमाथिको अधिसिर्जनाका रूपमा उपयोग गरिरहेका हुन्छन् । नेपाली समीक्षा परम्परामा यस पक्षको गम्भीर अन्वेषण आवश्यक छ ।
– डा. रमेश शुभेच्छु