आजको नेपाली समीक्षा व्यवहारिक वा सैद्धान्तिक विमर्शका क्रममा कुनै एउटा अङ्ग्रेजी किताबको टेको लिनुमा गौरव गरिरहेको छ । यद्यपि हामीसँग अनेक मूल्याङ्कन पद्धति र परम्परा नभएका होइनन् । हामीसँग भएका कुरा बिर्सिएर हामी मौलिक सिद्धान्त निर्माणमा भन्दा अरूका सिद्धान्तको टेको लिनमा रमाइरहेका छौँ । यसले हामीलाई आफूमा भन्दा अरूमा भर पर्ने कमजोर लेखक बनाइराखेको छ । यसो भए पनि नेपाली भाषासाहित्यको अध्ययनका लागि आफ्नै माउ भाषा संस्कृत साहित्यका सैद्धान्तिक पक्ष र मानविकी एवम् लोकसंस्कृतिका बहुविध पक्षहरू हामीसँगै छन् । तिनका आधारमा मौलिक सैद्धान्तीकरणको खाँचो मात्रै हो ।
पश्चिमी टेको लिनका लागि विभिन्न आधार छन् । तीमध्ये रोमन याकोब्सनले एउटा सरल किसिमको सङ्केतपद्धति निर्माण गरे । उनको समीक्षा पद्धतिको पहिलो स्वरूप ‘प्रेषक — सन्देश — प्रेषिती’ को शृङ्खलामा शृङ्खलित छ । उनकै दोस्रो स्वरूप ‘लेखक — लेखन — पाठक’को शृङ्खलामा शृङ्खलित छ । याकोब्सनको यस चिन्तनलाई भाषीय कृत्य वा कार्यसँग जोडेर ‘भावात्मक — काव्यात्मक — गुणार्थक’ गरी अर्को शृङ्खला पनि निर्माण गरेका छन् । उनको यस शृङ्खलाको मूल आशय सर्जक, सिर्जना, समीक्षक र पाठकबिचको अन्तरसम्बन्धको खोजी हो । यो एककिसिम समीक्षाको सैद्धान्तिक अभिरेखाङ्कनको वैज्ञानिक प्रयत्न हो । यस्ता प्रयत्न हामीकहाँ पनि असचेत रूपमा नभएका होइनन् तर तिनको सचेत सैद्धान्तिकीकरण नहुनाले हामीले याकोब्सनका जस्ता मौलिक चिन्तन अगाडि सार्न पाएनौँ । बरु याकोब्सन र याकोब्सनहरूका विचार बोकेर हिँडिरह्यौँ । उनीहरूका फुटनोट प्रयोग गर्नुलाई विद्धता र भयङ्कर बौद्धिकता मानिरह्यौँ ।
समीक्षा सिर्जना कला र सैद्धान्तिक कला पनि हो । यो कृतिमाथिको मूल्याङ्कन मात्र होइन; पुनः सिर्जन पनि हो । गम्भीर दृष्टिले हेर्ने हो भने समीक्षा सिर्जनामाथिको सिर्जना हो । यसरी सिर्जनामाथिका सिर्जना मूलतः दुई प्रकारका हुन्छन् । ती हुन् सैद्धान्तिक समीक्षा र व्यावहारिक समीक्षा । यी दुवैमा सर्जक सामर्थ्यको त्यत्तिकै खाँचो पर्छ । सर्जक सामर्थ्यविनाको सिर्जना कमजोर भए जस्तै समीक्षा पनि कमजोर बन्न पुग्छ ।
कुनै कृति, प्रवृत्ति, व्यक्तित्व समीक्षाका क्रममा समीक्षकले मूलतः दुई वटा काम गरिरहेको हुन्छ । उसले एउटा काम पूर्वस्थापित सिद्धान्त र सिर्जनाहरूको अध्ययन, अनुसन्धान र विश्लेषण गरिरहेको हुन्छ । यसरी अध्ययन अनुगमन वा विश्लेषण गर्ने क्रममा समीक्षक स्वयम्ले नयाँ सिद्धान्तको निर्माण गर्न सक्छ । यसरी सिद्धान्तसमेत निर्माण गरिने समीक्षालाई सैद्धान्तिक समीक्षा भनिन्छ । समीक्षकले गर्ने समीक्षा नै भए पनि दोस्रो कार्य समीक्षाका क्रममा समीक्षकले आफूपूर्व निर्धारित वा स्थापित सिद्धान्तका आधारमा कुनै सिर्जना वा कृतिको विश्लेषण गरी त्यो सिद्धान्तअनुसार सम्बन्धित सामग्री कस्तो छ भनी मूल्याङ्कन गर्छ । यसरी मूल्याङ्कन गर्ने क्रममा प्राप्त तथ्यहरूको निष्कर्षण पनि गर्दछ । समीक्षकले गर्ने यस्तो समीक्षात्मक कार्यलाई व्यावहारिक वा प्रायोगिक समीक्षा भनिन्छ । समीक्षकका यिनै दुई वटा कार्यका आधारमा समीक्षा सैद्धान्तिक र व्यवहारिक गरी दुई किसिमका हुन्छन् । यस वर्गीकरणमा अग्रज समीक्षकहरू प्राय सबै एकमत छन् । यिनका थप पद्धति हुनै नसक्ने भने होइन ।
हामीले यी दुई समीक्षा पद्धतिका मूल पक्ष बुझ्नलाई पश्चिमसम्म पुगिरहनै पर्दैन । सरसरती हेर्दा पूर्वीय काव्यशास्त्रीहरू भरतमुनि, भामह, विश्वनाथ, दण्डी, पिङ्गल आदि सैद्धान्तिक समीक्षक हुन् । उनका लक्षणशास्त्रहरू सैद्धान्तिक समीक्षाका उपज हुन् । ऐतिहासिक दृष्टिले हेर्दा पूर्वीय काव्यशास्त्रमा व्यावहारिक समालोचनाको थालनी आचार्य राजशेखरबाट भएको हो । उनको काव्यमीमांसा व्यवहारिक समीक्षाको प्रारम्भिक रूप हो । यस दृष्टिले नेपालीमा अधिसमीक्षा वा समीक्षात्मक अनुचिन्तन नभएको होइन । सैद्धान्तिक अनुचिन्तन भए पनि मूल सिद्धान्त प्रतिपादनका अभावका कोणबाट सरसरती हेर्दा नेपाली साहित्यमा लेखिँदै आएका अधिकांश समीक्षाहरू व्यावहारिक समीक्षाका कित्तामा पर्दछन् ।
आजसम्म भए गरेका समीक्षाको अनुगमन गर्दा व्यावहारिक वा प्रायोगिक समीक्षाका लागि लेखक, कृति र समीक्षक भए पुग्ने देखिन्छ । यी तीन पक्षको उपस्थितिले समीक्षाको पुनः सिर्जन भएको देखिन्छ । एक कोणबाट हेर्दा पहिलो लेखकको काम आफूले जाने वा सकेको सिर्जना गर्ने हो । सिर्जनापछि उसको भूमिका ज्ञान विस्तारका क्षेत्रमा सकिन्छ । लेखकको भूमिका सकिएको त्यही कृति समीक्षकका लागि आधार बन्छ र दोस्रो सिर्जना हुन्छ । त्यस सिर्जनाले थप ज्ञानको विस्तार गर्दछ । त्यही दोस्रो सिर्जनाको अर्को नाम समीक्षा हो । समीक्षा सिर्जनामाथिको सिर्जना वा अधिसिर्जना हो ।
-डा. रमेश शुभेच्छु