विनय कसजू नेपाली साहित्य र बालसाहित्यका क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा लघुकथा समेटिएको छ । यस लघुकथाले एउटा रेस्टुराँमा पाक्ने मेनु र संविधानलाई सादृश्य गर्दै राजनीतिक पक्षप्रति व्यङ्ग्य गरेको छ । -सम्पा |
रेस्टुँराबाहिर ढोकैमा आकर्षक मेनु साइनबोर्ड जस्तै गरी ठूलो पाटीमा झुण्ड्याइएको थियो । मन पर्ने परिकार देखेर भित्र पसेँ ।
बेयराले मुसुक्क हाँसेर स्वागत गर्दै बस्ने टेबुल देखाए । बस्न नपाउँदै रङ्गिन परिकारहरूको चित्र सजिएको मेनु दिए । आहा कति मिठा परिकार रहेछन् जिब्रो नै रसाउने !
मैले बेरालार्इ बोलाएर मेनुमा लेखेको परिकार देखाएर अर्डर गर्न खोजेँ । मैले देखाएको परिकारको चित्र हेर्दै उसले कपाल कन्याउँदै भन्यो, “यो परिकार अहिले हामी कहाँ पाक्दैन सर ।”
मैले अर्को परिकार देखाएँ । उसले भन्यो, “त्यो पनि हामीकहाँ पाक्दैन ।”
मलाई अचम्म लाग्यो । तैपनि मैले धैर्य गर्दै अरू दुई तीन वटा खाने कुराको नाम लिँदै मेनुमा देखाएँ ।
उसले फेरि पनि कपाल कन्याउँदै भन्यो, “हामी कहाँ यी कुनै पनि परिकार पाक्दैन सर । माफ गर्नु होला ।”
छक्क पर्दै दिक्क मान्दै मैले सोधेँ, “आखिर यो रेस्टुँरामा के पाक्छ त भाइ ?”
“भान्छेहरूले जे कुरा पकाउन मन लाग्यो त्यही कुरा पाक्छ यहाँ । सर !” उसले निर्वकार भएर भन्यो ।
“त्यसो भए यो मेनुको के मतलब के भयो त भाइ ?” मैले अलिअलि झर्किँदै सोधेँ ।
उसले हाँस्दै भन्यो, “यो मेनु हाम्रो संविधान जस्तै हो । नेताहरूलाई जुन परिकार पकाउन मन लाग्छ त्यही पकाउँछन् ।”