शोधपरक समीक्षा शोधपद्धतिको अनुसरण गरी गरिने समीक्षा हो । यसले समालोचनामा हुन सक्ने काल्पनिक पक्षको अन्त्यमा बल पुर्याउँछ । शोधपरक समीक्षकहरुले समीक्षाका क्रममा आउने भावनात्मक, हार्दिक एवम् लेखक र समीक्षकका सम्बन्धका गनथनलाई कति पनि महत्त्व दिँदैनन् । समीक्षकले कृति वा प्रवृत्ति समीक्षाका क्रममा अरु पक्ष त परै राखौँ, आफ्ना निजी अनुभवको अंश पनि कतै सङ्केत नगरी वस्तु, सत्य, तथ्य वा प्रमाणका आधारमा अध्ययन गरी विधिपूर्वक निष्कर्षसम्म पुग्ने प्रयत्न गरेपछि मात्र कुनै समीक्षा शोधपरक समीक्षा बन्दछ । समीक्षक शोधका औपचारिक र विशिष्ट भषामा वस्तुपरक र प्रामाणिक पक्ष मात्र बोल्दै उपयुक्त निष्कर्षतर्फ लम्किइरहेको हुन्छ ।
विधाचिन्तनका कोणबाट हेर्दा समीक्षा साहित्य सिर्जना जस्तो हार्दिक उत्पादन नभएर बौद्धिक उत्पादन हो । बौद्धिक उत्पादनले आधिकारिक प्रमाण र मूल्यनिर्णयसहितको निष्कर्ष प्रस्तुत गर्न सक्नुपर्छ । लेखिँदै गरेको समीक्षा निबन्धन वा सिर्जनात्मक भषाबाट उठेर शोधपरक लिगमा हिँड्न थाल्नासाथै त्यसले प्रकल्पित निष्कर्षका लागि आवश्यक प्रमाणहरू खोजी गर्छ । त्यस्ता प्रमाण जुटाउँदै लिएको सैद्धान्तिक पक्षका चिन्तनलाई समेट्तै, ससाना मूल्यनिर्णयहरु दिँदै समीक्षक क्रमशः एउटा आधिकारिक, वैज्ञानिक, वस्तुतपरक र प्रामाणिक निष्कर्ष निकाल्न अगाडि बढ्छ ।
शोधपरक समीक्षालाई धेरैले उपाधि लिने समीक्षाका रुपमा बुझिरहेका छन् । स्वतन्त्र समीक्षा लेखन होस् अथवा अनुसन्धानहरु गर्दा होस् शोधपरक समीक्षा पद्धति नै बढी भरपर्दो हुन्छ । समीक्षाको अन्तिम सफलता नै शोधपरकता हो । शोधका भाषामा अनुसन्धानात्मक कार्य कहिलै पनि पूर्ण हुँदैन । धेरै शोधका पण्डितहरुले कुनै पनि शोधकर्ता कुनै बाटाबाट पनि अन्तिम विन्दुसम्म पुग्दैन भनेको पनि नपाइने होइन । यो निष्कर्ष वा अन्तिम बिन्दु नभएर निरन्तर प्रक्रिया हो भन्ने बुझिन्छ । एउटा शोधकार्यले अर्को शोधकार्यका लागि अभिप्रेरित गर्छ । थप नयाँ नयाँ शोधका लागि ढोका खोलिदिन्छ । यो शोधका भाषाको कठोरपक्षभित्रको अर्को नरम पक्ष हो ।
शोध अन्तिम बिन्दुमा पुग्दैन भन्नुको अर्थ हरेक शोध अपूर्ण हुन्छन् भन्ने होइन । तत्कालीन सन्दर्भमा र शोधकर्ताका साधन स्रोतका आधारमा हरेक शोध पूर्ण हुन्छन् । थप परिश्रम र साधन स्रोतले अझ बढी मूल्य पहिल्याउने सम्भावना रहिरहन्छ । शोधपरक समीक्षकले जे विषय र क्षेत्रमा शोध गरिरहेको छ सो सम्बन्धित विषय र क्षेत्रका लागि त्यो शोध नै पूर्ण र सम्पूर्ण हो । शोधकर्ताले आफ्नो शोधलाई सकेसम्म सर्वमान्य बनाउने प्रयत्न गरिरहेको हुन्छ । सर्वमान्य हुन नसके पनि बहुमान्य वा अधिकतम आधिकारिक बनाउने प्रयत्न गर्दछ । आधिकारिकता र विश्वसनीयता शोधपरक समीक्षाका मूल विशेषता हुन् ।
कुनै शोधपरक समीक्षाले एउटा अन्तिम निर्णय दिँदादिँदै पनि सोही विषयको अर्को कोण निर्धारण गर्न सघाउँछ । त्यस नयाँ कोणमाथि पुनः पुनः समीक्षा चलिरहोस् भन्ने पक्ष निर्धारण गर्दछ । यसै कारण शोधपरक समीक्षामा समीक्षकले विषय र क्षेत्रको सीमाङ्कन गरेको हुन्छ । त्यही सीमाङ्कित पक्षलाई आधिकारिक वा प्रामाणिक निष्कर्ष दिनु हरेक शोधपरक समीक्षाको धर्म हो । कुनै भषासाहित्य वा कला सिर्जनाको जति बढी शोधपरक समीक्षण हुन सक्यो त्यसको विकासमा त्यत्ति नै राहत मिल्छ ।
-डा. रमेश शुभेच्छु