कुनै पनि समीक्षकले कुनै पनि कृतिमाथि कलम उठाएपछि कुनै न कुनै मूल्यनिर्णय दिनुपर्ने हुन्छ । कृतिको खास मूल्य निर्धारण समीक्षाका लागि अति आवश्यक पक्ष हो। कुनै समीक्षालाई सम्बन्धित विधा वा समग्र वाङ्मयका अध्ययन अनुसन्धान परम्परामा सम्झिइरहन लायक बनाउने आधार त्यसको परिचय, व्याख्या, विधागत विश्लेषण मात्रै भन्दा पनि मूल्यनिर्णय बनेको पक्ष आजसम्मको समीक्षा परम्पराको अनुगमनबाट थाहा हुन्छ ।
कृतिको मूल्य निर्धारण गर्ने अनेक प्रविधि हुन्छन् । निर्धारित कृतिलाई सोही कृतिका वैशिष्ट्यका आधारमा पनि के कस्ता वैशिष्ट्यका साथ प्रकाशन भएको छ भनी मूल्याङ्कन गर्न सकिन्छ । लेखककै त्यसपूर्व प्रकाशित अर्को कृतिका आधारमा तुलना गरेर पनि मूल्य निर्धारण गर्न सकिन्छ । आवश्यकताअनुसार समतुल्य अन्य स्रष्टाको अर्को कृतिसँगको तुलनात्मक विश्लेषणबाट पनि मूल्य निर्धारण गर्न सकिन्छ । यी कुनै वा अन्य ऐतिहासिक आधारमा, कृतिका कुनै विधागत तत्त्व वा तत्त्वहरूकै बिचका तुलनाबाट मूल्याङ्कन गर्ने काम समीक्षकले गर्न नसके समीक्षा समीक्षा नभएर निबन्ध मात्र बनिदिन्छ ।
आज बजारमा समीक्षा समालोचनाका नाममा कुनै कृतिका आद्योपान्त परिचयात्मक लेखहरू बढी पढ्न पाइन्छ । वास्तवमा त्यस किसिमको प्रस्तुति समीक्षा होइन । कृतिमाथिको आलोचनात्मक र मूल्य अन्वेषणात्मक दृष्टि मात्र समालोचना वा समीक्षा बन्छ । एउटा कृति प्रकाशन हुनु साहित्यिक वा वाङ्मयिक वा कला जगत्का लागि एउटा ठुलो प्राप्ति हो । त्यस्तो प्राप्ति सही छ वा अपूर्ण छ भन्ने मूल्याङ्कन समीक्षकले मात्र गर्न सक्छन् । त्यसैले कुनै कृतिमाथि समीक्षात्मक दृष्टि राखिसकेपछि समीक्षकले मूल्यनिर्णय गर्न आनाकानी गर्नु हुन्छैन । तत्काल मूल्य निर्णयले कृतिकारलाई अफ्ठ्यारै पार्छ भने पनि त्यहाँबाट सचिने इतिहासले समाजलाई ठुलो फाइदा गर्छ । समीक्षकले त्यो कुन स्तरको कृति हो ? ऐतिहासिक दृष्टिले कहाँ छ ? लेखककै समकालीन अन्य लेखकका सोही विधाका कृतिसँगका तुलनामा कहाँ छ ? भाषिक कला, विधागत सौन्दर्य र विचारका दृष्टिले कहाँ छ भन्ने कुराको मूल्यनिर्णय दिनुपर्ने हुन्छ । त्यसै मूल्यनिर्णयले भावि पाठक र अध्यताको मार्ग निर्धारण गर्ने भएकाले यसमा निकै गम्भीर बन्नुपर्ने हुन्छ ।
आज पत्रपत्रिका र अनलाइन माध्यमहूमा हुने कृतिसमीक्षामा मूल्य निर्णय भन्दा पनि कृतिपचिरय बढी छापिनाले नयाँ लेखकलाई जे लेखे पनि हुने रहेछ भन्ने भ्रम परिरहेको छ । नेपाली समीक्षा परम्परामा रामकृष्ण शार्मादेखि तारानाथ शर्मासम्मको खरो मूल्यनिर्णय सामर्थ्य उदाहरणीय मानिन्छ । यस्तो सामर्थ्य मोहनराज शर्माका समीक्षामा पानि पाइन्थ्यो । वासुदेव त्रिपाठी, कृष्ण गौतम, राजेन्द्र सुवेदी आदिका सन्तुलित समीक्षात्मक मूल्यनिर्णयहरू उदाहरणीय पाइन्छन् । धेरै समीक्षकले सोही सन्तुलित शालीन मूल्यनिर्णय सामर्थ्य प्रस्तुत गरिरहेको देखिन्छ । कहिलेकाहीँ सन्तुलित मूल्यनिर्णय नहुँदा लेखक र समीक्षकका बिचमा फाटो आएका विषय पनि सुन्नमा आउँछन् तर बौद्धिक कर्ममा कसैसँगको सम्बन्ध भन्दा कलामूल्यमा अन्याय हुन दिनुहुँदैन । यसमा सहास गर्न नसक्ने समीक्षकहरू असफल हुने सम्भावना पनि त्यत्तिकै रहन्छ ।
नेपाली समीक्षा परम्परामा निनु चापागाईं, ऋषिराज बराल, ताराकान्त पाण्डेय, अमर गिरी, घनश्याम ढकाल, देवीप्रसाद गौतम आदि समीक्षकले माक्र्सवादी सौन्दर्यशास्त्रीय अध्ययन पद्धतिअनुसार गरेका समीक्षामा वैचारिक मूल्यहरूको खोजीमा निकै निर्मम मूल्यनिर्णय गरेको देखिन्छ । त्यस्तै बामदेव पहाडी, खगेन्द्रप्रसाद लुइटेललगायतका समीक्षकले पनि कतिपय कृतिका सन्दर्भमा अलि खरो आलोचनात्मक मूल्यनिर्णय गर्न सकेको देखिन्छ । पछिल्लो समय राजकुमार बानियाले आफ्ना समीक्षात्मक लेखमा शोधपरकतालाई भन्दा पनि मूल्यनिर्णयलाई महत्व दिइरहेका छन् । युवा पुस्ताका समीक्षकमध्ये नेत्र एटम र रामप्रसाद ज्ञवाली सकेसम्म मूल्यनिर्णयका प्रयत्नमा अगाडि देखिन्छन् । लक्ष्मणप्रसाद गौतम, देवी नेपाल, महेश पौडेललगायतका समीक्षकले सन्तुलित मूल्यनिर्णयको बाटो लिएको देखिन्छ ।
तुलनात्मक रूपले हेर्दा केशव सुवेदी, महादेव अवस्थी, रमेशप्रसाद भट्टराई, सुकुम शर्मा आदिका समीक्षा नेपाली समीक्षा परम्परामा सन्तुलित लाग्छन् । उनका समीक्षामा विचार र कलाको खोज सन्तुलित रूपमा उत्खनन भइरहेको हुन्छ । लोकसाहित्य परम्परामा चूडामणि बन्धु र मोतीलाल पराजुलीका कलम त्यस्तै शालीन र सन्तुलित लाग्छन् । समीक्षामा मूल्यनिर्णय सामर्थ्यले आफै शोधका विधिविधान खोज्छ । मूल्य निर्णय गर्ने बेलामा इतिहास, परम्परा, अर्को कृतिसँगको तुलना, लेखककै एकअर्को रचनाबिचको तुलना, सैद्धिान्तिक दृष्टि र कृतिले आत्मसात गरेको सैद्धान्तिक पक्ष, सौन्दर्यशास्त्रीय पक्ष आदि कृतिसँग जोडिएर आउँछन् । यसले समीक्षालाई समीक्षा बनाउन र शोधपरक जामा लागाउन पनि सघाउँछ । यस दृष्टिले पनि हरेक समीक्षकभित्र मूल्यनिर्णय सामर्थ्य हुनुपर्दछ । मूल्यनिर्णय सामर्थ्य नभएका समीक्षाहरू पुस्तकमा केन्द्रित निबन्ध हुने सम्भावना हुन्छ ।
-डा. रमेश शुभेच्छु