लीलाराज दाहाल युवा पुस्ताका सक्रिय लेखक हुन् । उनले विविध विधामा कलम चलाइरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘चश्मा’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले आधुनिकता र विज्ञानलाई अँगाल्न समाज अझै असमर्थ रहेको देखाएको छ । |
हरि र प्रिया वैवाहिक जीवनको तेस्रो वर्षमा थिए ! दुवै स्नातकोत्तर गरेका पठित जोडी थिए ! उनीहरू बाबुआमाले गराइदिने परम्परागत मागी विवाहको घोर विरोधी थिए ! प्रिया भन्थी, …अहिलेको जमानामा पनि कसैले बाबु आमाले खोजिदिएको केटासँग विवाह गर्छ ? होइन त कालु !
“पत्नीद्वारा कालु भनिने पति हरिले श्रीमतीको भनाइमा सही थाप्यो, हो त डियर ! आफ्नो जीवनसाथी आफैं खोज्ने हो ! हामीले जस्तै ! “
उनीहरू परस्परमा मन पराएर विवाह बन्धनमा बाँधिएका थिए ! उनीहरूको प्रेमको प्रतीक टुकुटुकु हिँड्ने एउटी छोरी थिई ! पहिलो गाँसमै ढुङ्गा भनेजस्तै छोरी प्रायः जसो बिरामी हुन्थी ! त्यसैले उनीहरूको अस्पताल- आवास दौड चलिरहन्थ्यो ! कहिले कुन बिमार ,कहिले कुन ! सधैं जसो अस्पताल ! अलिअलि भएको बचत पनि सिद्धिने क्रममा थियो !
निकै दिन सकुशल रहेकी छोरी फेरि बिरामी परेपछि अस्पताल लैजान तयार भएको पतिलाई कोट्याएर प्रियाले भनी, कालु ! पल्लो टोलमा एक जना धामी बा बस्छन् रे ! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई ! “
हरि एकछिन सोचमग्न भयो र झटपट बोल्यो , ” हुन्छ ! हुन्छ ! गइहालौं ! “
एकछिनका लागि उनीहरूले चेतना र भौतिक ज्ञान बिर्सिए ! अनि अन्धविश्वासको चश्मा लगाएर छिटो छिटो धामी बस्ने गल्लीतिर लम्किए !
वागमती ११, कर्मैया , सर्लाही