डा. मुकुन्द पथिकको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विविध विधामा कलम चलाइरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको हुँदा यहाँ सारभूत परिचयसहित रुसमा बसेर नेपाली साहित्य सेवामा समर्पित विशिष्ट अनुवादक एवम् समीक्षक कृष्णप्रकाश श्रेष्ठको संस्मरण गरिएको छ ।
-सम्पा. |
फराकिलो निधार, सेतो कपाल र हँसिलो अनुहारले साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठको व्यक्तित्वलाई झन् उचाइमा पुर्याएको थियो । चम्किला आँखा र प्रायःजसो सधैं दाह्रीजुँगा काटेर अनुहारलाई टिलिक्क बनाउने उहाँको स्वभाव थियो । आप्mनो मातृभूमिप्रति अहोरात्र समर्पित भएर उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आप्mनो जीवनको महत्त्वपूर्ण समय व्यतित गर्नुभएको थियो ।
रुसको राजधानी मस्कोमा नेपाली रेडियोको स्थापनाकालदेखि नै अनवरत रूपमा समर्पित भएर गर्नुभएको सेवाका कारण उहाँ देश र विदेशका धेरै श्रोताका बिच ज्यादै लोकप्रिय हुनुभएको थियो । साहित्यको रचना गर्नु र नेपाली साहित्यलाई रुसी भाषामा र रुसी साहित्यलाई नेपाली भाषामा अनुवाद गर्नु उहाँको एक किसिमको अम्मल नै थियो । उहाँले आप्mनो राम्रो बानीलाई जीवनको उत्तराद्र्धकालसम्म निरन्तरता दिइरहनुभयो ।
सकारात्मक सोचका धनी श्री श्रेष्ठ काठमाडौंको चुन्निखेलमा वि.सं. १९९५ मा जन्मनुभएको थियो । बाल्यकाल र किशोरावस्था नेपालमा रमाइलोसँग बिताउनुभएका उहाँले युवावस्थामा विदेश जाने इच्छा गर्नुभयो । त्यसक्रममा उहाँ सोभियत सङ्घको राजधानी मस्को पुग्न सफल हुनुभयो । मस्कोमा घरजम गरेर ६ दशकसम्म अन्तर्राष्ट्रिय जगत्मा नेपाली भाषा, साहित्य र संस्कृतिको अभिवृद्धि, संरक्षण र संवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न उहाँ सफल हुनुभयो । शारीरिक रूपमा उहाँ प्रवासमा रहे तापनि उहाँको मन सधैं नेपालमा रहन्थ्यो ।
साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठले २०२० मे ८ मा फेसबुकमा अपडेट गर्नुभएको थान्का चित्र—
दुईजना छोरीका पिता श्री श्रेष्ठले यस लेखकसँगको भेटघाटमा आफू मस्कोमा रमाएर बसेको र नेपाली साहित्यलाई रुसी भाषामा र रुसी साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यमा संलग्न भएको कुरा बताउनुभएको थियो । उहाँले मस्कोमा नेपाली समुदाय, नेपाली विद्यार्थीहरूलाई मात्र नभएर नेपाली राजदूत र कूटनीतिक व्यक्तित्वका साथै नेपाली साहित्यकार, कलाकारहरूलाईसमेत स्वागत र सहयोग गर्नपाएकामा सन्तुष्टि प्राप्त भएको कुरा पनि स्पष्ट पार्नुभएको थियो । मस्कोमा उहाँ धेरै नेपाली विद्यार्थीहरूको अभिभावक पनि बन्नुभयो । शिष्ट, भलाद्मी र मधुर स्वरका धनी श्री श्रेष्ठ नेपाल, नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकदम श्रद्धा गर्नुहुन्थ्यो । उहाँ ज्यादै नम्र र सहृदयी स्वभावका हुनुहुन्थ्यो । काठमाडौंमा भेट भएको समयमा उहाँले ‘मस्को जाँदा मलाई सम्झनुहोला’ भन्नुभएको थियो । उहाँसँग कहिलेकाहीँ जुममा कुराकानी भए तापनि दैवको लीला उहाँलाई मस्कोमा भेट्ने धोको सफल हुन पाएन । उहाँले भन्नुभएको उक्त वाक्य सधैं सम्झना आइरहन्छ ।
उहाँमा भाषिक दखलता र क्षमता पनि असाधारण थियो । शब्द चयन र प्रस्तुतिमा उहाँ दक्ष हुनुहुन्थ्यो । पाठक तथा श्रोताको मन जित्न सफल उहाँका आप्mना रचनाका साथै थुप्रै अनूदित साहित्य पनि ज्यादै रोचक भेटिन्छन् ।
उहाँले अनुवाद गर्नुभएका रुसी साहित्यहरूमध्ये उदाहरणको रूपमा मिखाइल शोलोखोभद्वारा रचित र उहाँद्वारा अनूदित मान्छेको भाग्य र दोनका कथाहरू, भाग ७ को अनुवादको कला र दक्षता हामी यहाँ देख्नसक्छौं । यसलाई साहित्य पोष्टले २०७८ जेठ १० गते प्रकाशित गरेको थियो । जस्तै–
‘… हजुरबा ढोकाबाहिर दलानमा निस्किए । उनले करेसो बारीमा सनपाटको हरियो झ्यापुल्ले झ्याङभित्र, मिशाको टाउको अलपिँदै गएको देखे । उसले लगाइराखेको गाढा निलो रङको जाँगे मात्रै झल्याक–झुलुक देखा पर्दैथ्यो र बिलाउँथ्यो । बुढा हजुरबा आफ्नो लौरो हल्लाउँदै निकै बेरसम्म मिशालाई हकारिरहेका थिए, तर उनको ओठको मृदु मुस्कानलाई भने झुस्स परेको दाह्री–जुँगाले अरूले नदेख्ने गरी छोपिराखेको थियो ।’
सरल जीवन र उच्च विचारका धनी श्री श्रेष्ठ नेपालबाट उच्चशिक्षा हासिल गर्ने उद्देश्यले तत्कालीन सोभियत सङ्घ जाने पहिलो नेपाली हुनुहुन्थ्यो । उहाँले १९६३ मा मस्को स्टेट युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन सफलतापूर्वक सम्पन्न गर्नुभयो । त्यसपछि तुरुन्तै उहाँले रेडियो मस्कोमा नेपाली समाचार वाचकको रूपमा आप्mनो सेवा प्रारम्भ गर्नुभयो । उहाँ धेरै वर्षसम्म नेपाली कार्यक्रमको सफल प्रस्तोता पनि हुनुभयो । रेडियो मस्कोमा नेपाली कार्यक्रम रोचक र कुशलतापूर्ण प्रस्तुतिकै कारण उहाँ देश तथा विदेशका श्रोताबिच लोकप्रिय हुन सफल हुनुभयो ।
शारीरिक रूपले विदेशी भूमिमा सफलतापूर्वक जीवनयापन गरिरहनुभएका श्री श्रेष्ठ विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरसको कारण ज्यादै अस्वस्थ हुनुभयो । मस्कोस्थित अस्पतालमा उपचारको क्रममा उहाँ वि.सं. २०७७ चैत १६ गते सोमवार अर्थात् २०२१ मार्च २९ मा यस संसारबाट कहिल्यै नफर्कने गरी सधैंका लागि बिदा भएर जानुभयो । उहाँको निधनले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा ठुलो क्षति हुनपुगेको छ । श्री श्रेष्ठ अव हामीबिच नरहे तापनि उहाँले आप्mनो जीवनमा नेपाली भाषा, साहित्य र सांस्कृतिक बगैंचाको क्षेत्रमा एउटा लगनशील र समर्पित मालीको पहिचान छोडेर जान सफल हुनुभएको छ । हामी अव उहाँलाई भौतिकरूपमा देख्न पाउँदैनौं तर उहाँको सेवाभाव, सत्कर्महरू र कीर्तिहरूमार्फत उहाँ धेरै समयसम्म मानसपटलमा रहिरहनुहुनेछ । उहाँको आत्मालाई शान्ति प्राप्त होस् ।