- संस्मरण
पवन आलोक (वास्तविक नाम पवन कँडेल, २०११ वैशाख २० भोजपुर, सुपुत्र : जीतबहादुर कँडेल र चन्द्रमाया कँडेल) नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । २०२३ सालबाट लेखन आरम्भ गरेका आलोक २०२७ सालमा बेलपत्र वर्ष एक, अंक एकमा ‘प्रेमः एक अभिवयक्ति’ शीर्षकको कविता प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका हुन् । त्यस्तै ‘जिन्दगीको गीत’ शीर्षकको गीतिकथा २०३५ मा रेडियो नेपालबाट प्रशारण भएको थियो । उनका पवन आलोकका केही कविता (२०६०) कवितासङ्ग्रह, युरोपको झझल्को (२०६७) संस्मरण, अरूण एक्सप्रेस (२०७३) उपन्यास, केही सम्झना केही सिर्जना (२०७३) निबन्ध एवम् संस्मरणका कृतिहरू प्रकाशित छन् । उनका पत्रपत्रिकामा छरिएका संस्मरणात्मक निबन्धको सङ्ख्या निकै व्यापक छ । उनको द पोइम्स ट्री शीर्षकको अनुदित कविताको कृति पनि प्रकाशित छ । उनले गुराँस भित्ते पत्रिका (२०३३), बहुमुखी व्यक्तित्वकी धनी योगमाया (२०७०), का साथै द एन्थोलोजी अफ नेपाली भर्सिस (सन् २०१२), समकालीन नेपाली कविता (सन् २०१२), श्री इन्द्रप्रसाद श्रेष्ठ जीवनवृत्त र व्यक्तित्व (२०७३) जस्ता कृतिहरू सम्पादन गरेका छन् । नेपाल स्रष्टा समाज काठमाडौँका निवर्तमान अध्यक्ष एवम् संरक्षक आलोकले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानको स्थापना पनि गरेका छन् । उनले विभिन्न ठाउँको भ्रमण गरी अनेक अनुभवहरूलाई नियात्राका माध्यमबाट निरन्तर सार्वजनिक गरिरहेका छन् भने साहित्यिक योगदानबाट विविध मान सम्मान र पुरस्कार पनि प्राप्त गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आलोकको ‘मेरो पहिलो अमेरिकायात्रा शीर्षकको रचना समेटिएको छ । यस रचनाले अमेरिका यात्राको अनुभूतिलाई समेटेको छ ।
-सम्पा. |
–
सपनाको देश अमेरिका हेर्ने रहर कसलाई नहोला र ?
अमेरिका त के, मलाई त विदेशतिर अझ भनौँ समुद्रपारिका देशहरूमा जाने, घुम्ने सानैदेखिको उत्कट चाहना थियो । शायद अरूलाई पनि होला । झन् अमेरिका ! वाह ! कस्तो होला त्यो देश । एक पटक मात्रै त्यहाँ पुग्न पाए पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो । धेरै प्रयत्न गर्दा पनि सफल हुन सकिरहेको थिइनँ ।
बल्ल बल्ल सन् १९८५ को जुनतिर वेलाइत जाने अवसर मिल्यो । वेलाइतको झन्डै १४ महिनाको बसाइमा कलेजमा अलि लामो छुट्टी भएको समय पारेर लण्डनबाट न्यूयोर्क घुम्न जाने योजना बनाएको थिएँ । न्यूयोर्क मात्र होइन त्यहाँ पुगेपछि वासिङ्टन डि.सी. पनि जाने सोच थियो । एक जना मिल्ने साथी थियो मेरो, ऊ न्यूयोर्क बस्थ्यो । उसकैमा बस्ने र घुम्ने योजना थियो तर त्यो साथीलाई त्यही समयमा अपर्झट नेपाल फर्कनु परेको हुँदा मेरो यो योजना तुहियो । विद्यार्थी मान्छे, न्यूयोर्क गएर महँगो होटलमा बसेर घुम्ने मेरो औकात थिएन । त्यत्तिकै भयो ।
सन् २०१२ को जुन महिनामा अर्को अवसर प्राप्त भयो । काठमाडौँस्थित अमेरिकी दूताबासमा मेरी धर्मपत्नी रेखा र मैले भिसाको लागि निवेदन दियौँ । अन्तर्वार्तामा खासै केही सोधिएन । सामान्य २÷३ वटा प्रश्नहरूको उत्तर दिएपछि हामीलाई सजिलै अमेरिकी भिसा उपलब्ध भयो ।
हाम्रो छोरा सुनिल केही वर्षदेखि अमेरिकामा थियो र कान्छी छोरी अनिता वेलाइतमा थिई । ऊ सपरिवार उतै बस्थी । हामीले योजना बनायौँ पहिले बेलायत गएर छोरी ज्वाइँलाई भेट्ने ,करिब एक महिना घुम्ने अनि त्यतैबाट अमेरिका प्रस्थान गर्ने । यही योजनाअनुसार ब्रिटिस भिसा पनि लिइसकेका थियौँ ।
पूर्वयोजनाबमोजिम सन् २०१२ को १ जुनमा हामी कतार एयरवेजको राती ११ ः ३५ बजे उडानबाट कतारको दोहा हुँदै लण्डन जानुपर्ने थियो । मौसमको खराबीले भारतको लखनऊ डाइभर्ट गरिएको जहाज घण्टौँ कुर्दा पनि नआएपछि राती ३: ०० बजेतिर हामी यात्रुहरूलाई कसैलाई सोल्टी होटल त कसैलाई ¥याडिसनमा लगेर राख्यो । रेखा र म होटल सोल्टीमा प¥यौँ । भोलिपल्ट २ जुनको अपरान्ह ३ ः २० मा बल्ल हाम्रो जहाज उड्यो ।
कतारको राजधानी दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हामी उत्रियौ । ठीक २६ वर्षपछि यो वेलायती भूमिमा टेक्दै गर्दा निक्कै रोमान्चित थिएँ म । छोरी अनिता र ज्वाइँ रोशन हामीलाई स्वागत गर्न हिथ्रो आएका थिए । हामी लाग्यौँ छोरी ज्वाइँको ननिटन स्थित घरतिर । करिब एक महिनाको वेलायत बसाईका क्रममा वेलायतका केही प्रमुख सहर र दर्शनीय ठाउँहरू तथा फ्रान्स, जर्मनी, स्विटजरल्याण्ड, बेल्जियम, लक्जमवर्ग आदि देशहरू घुम्यौ ।
यीमध्ये धेरै देशहरू म पहिलेनै घुमिसकेको थिएँ । म घुमे पनि रेखालाई घुमाउनु थियो । एक महिना जतिको वेलायत बसाईको क्रममा वेलायतको फान्व्रो सहरमा नेपाली प्रतिभा प्रतिष्ठानद्वारा आयोजित साहित्यिक कार्यक्रममा विशेष अतिथिको रूपमा भाग लिन निम्ता पाएकोले सहभागी भएँ । त्यसरी नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वेलायत च्याप्टरले लण्डनमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा पनि भाग लिने अवसर मिल्यो । २९ जुनका दिन रेखा र म लण्डन हिथ्रोबाट न्यूयोर्कका लागि प्रस्थान ग¥यौँ ।
करिब सात घण्टाको उडानमा मैले सोचेँ– जुन देशमा जाने सपना मैले दशकौँ अघिदेखि देखेको थिएँ, त्यो सपना आज पुरा हुँदै थियो । म रोमाञ्चित भइरहेको थिएँ । आज त्यो भूमिमा टेक्दै थिएँ ।
कोलम्बसले पत्ता लगाएको त्यो देश ! अत्यन्त विकसित र विश्वकै शक्तिशाली राष्ट्र । एउटा गरिब मुलुकको दुर्गम ठाउँमा जन्मेका हामीहरू, अमेरिका जस्तो देशमा जान पाउनु ठूलो सौभाग्यकै कुरा पनि थियो । त्यो सपनाको देशमा जान संसारभरिकै प्रायः मानिसहरू लालयित हुन्छन् । जान्छन् पनि ।
हाम्रो जहाज न्युजर्सी राज्यको नेवार्क लिवर्टी अन्तराष्ट्रिय विमानस्थलमा ओर्लियो । मनमा एउटा डर थियो –अमेरिकाको इमिग्रेसन नियम अत्यन्तै कडा थिायो । त्यस्तो नियम भएकोले कैयौं ख्यातिप्राप्त व्यक्तिहरूलाई समेत अपमानजनक तरिकाले नाङ्गै जस्तो पारेर जाँच गर्ने र कैयाँैलाई अमेरिका छिर्नै नदिई फर्काइदिने गरेका घटनाहरू पनि सुनेको थिएँ । कतै हामी पनि त्यस्तै कडा जाँचमा त पर्दैनाँै ? कतै हाम्रो लगेजका सामानहरू मध्येका कुनै सामान हाम्रो अज्ञानतावश त्यो देशमा प्रतिबन्धितमध्येका परेर दुःख दिए भने ? अज्ञात त्रासले मनमनै डराइरहेको पनि थिएँ । यी कुरा मैले रेखालाई चाहिँ भनिनँ ।
रेखालाई ढाड दुख्ने समस्याले गर्दा लण्डनमा मैले उनको लागि व्हिल चेयर अनुरोध गरेको थिएँ । प्लेनको ढोकाबाट वाहिरिनासाथ अन्य व्हिलचेयरवालाहरूसँगै रेखाको नाम भएको प्लेकार्ड वोकेको एक जना मान्छे पनि व्हिलचेयरसाथ उभिएको देखेँ । त्यसलाई टिकट देखाएपछि रेखालाई व्हिल चेयरमा राखेर त्यस्ले हामीलाई छुट्टै लाइनबाट इमिग्रेसनतिर लग्यो । म पछि पछि गएँ । भि.आई.पी., कुटनीतिज्ञ र यस्ता व्हिल चेयरवालाहरूलाई स्पेसल रुटबाट अलग अलग इमिग्रेसन काउन्टरमा लगिँदो रहेछ । क्यूमा बस्नै नपर्ने । इमिग्रेसन अफिसरलाई हाम्रा पासपोर्टहरू देखाएपछि भन्यो–
“यु पिपुल आर नट लाइक इण्डिएन एण्ड पाकिस्तानिज । आइ नो, यु नेप्लिज आर अनेन्ट एन्ड ब्रेभ । यु आर मस्ट वेलकम टु अमेरिका ।”
“तपाईहरू भारतीय वा पाकिस्तानीजस्ता होइनौ । मलाई थाहा छ, नेपालीहरू इमानदार र वीर हुन्छन् । अमेरिकामा तपाईंहरूलाई स्वागत छ ।”
हाम्रा पासपोर्टहरूमा छाप लगाइदियो । मैले त्यो अफिसरलाई धन्यवाद दिएँ र अगाडि बढेँ । लगेज कलेक्सन गरेर बाहिर आउँदा छोरा सुनिलले हामीलाई देखेर परैवाट हात हल्लाइरहेको थियो । हामी उसलाई भेटेर अत्यन्त खुसी भयौँ । त्यो व्हिलचेयर एटेन्डेन्टलाई पाँच डलर टिप्स दिएर विदा गर्योँ र हामी कारमा सुनिलको अपार्टमेन्टतिर लाग्यौँ ।
हामी छोराको अपार्टमेन्टमा पुग्न उत्साही थियौँ । त्यो अपार्टमेन्ट ह्ड्सन नदीको किनारमा थियो, पारिपट्टि न्यूयोर्कको मुटु म्यानहटनका गगनचुम्बी घरहरू देखिन्थे । त्यो अपार्टमेन्ट न्यूजर्र्सीमा पर्ने भए पनि हड्सन नदी तर्नासाथ न्यूयोर्क पुगिँदो रहेछ ।
पारिपट्टि सन् २००१ को ११ सेप्टेम्बरमा ध्वस्त पारिएका ट्विन टावर भएको क्षेत्रमा हाल निर्माण हुँदै गरेको झण्डै उस्तै एउटा टावर पनि देखिन्थ्यो । हाल त्यो ठाउँलाई ग्राउन्डजिरो भनिँदो रहेछ । म इतिहासको त्यो कालखण्डमा पुगेँ । केही भावुक बनेँ । त्यहाँ मारिएका मान्छेहरूको स्मृतिमा मनमनै श्रद्धाञ्जली दिएँ ।
रातिको दृश्य अत्यन्त मनमोहक लाग्यो । जताततै आकाशै छेडुँला झैँ गर्ने स्काइलाइनहरूका झलमल्ल बत्तीहरू, हड्सन नदीमा तैरिरहेका जहाजहरू देखेर आनन्द आयो । रेखालाई त झन् धेरै रमाइलो लागेको थियो, उनलाई अग्ला अग्ला घर र समुद्र मन पर्छ । अपार्टमेन्टको झ्यालबाट पारिको रमणीय दृष्य हेरिरहिन् घण्टौँसम्म ।
भोलिपल्ट बिहान हड्सन किनारको वाक वे र आसपासका क्षेत्रहरू घुम्यौँ । न्यूयोर्कमा रहेका केही साथीहरूसँग फोनमा कुरा पनि भयो ।
न्यूयोर्कमा हरेक महिनाको पहिलो हप्ताको आइतबार ‘सिर्जनाका यात्राहरू’ नामक साहित्य श्रृङ्खला चलाइने गरिँदो रहेछ । यस्ता कार्यक्रममा पहिलो सत्र एकल कविता वा गजल वाचन अनि दोस्रो सत्रमा अन्य स्रष्टाका रचनाहरू पाठ गर्ने, समीक्षा गर्ने परिपाटी रहेछ । यसै क्रममा म अमेरिका पुगेकै एक दिनपछि २०१२ को जुलाई महिनाको पहिलो आइतबारको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मलाई निम्त्याइएको हुँदा छोरा सुनिलसँग ज्याक्सन हाइटस्थित कार्यक्रम स्थलमा पुग्यौँ हामी । त्यहाँ केही सुपरिचित स्रष्टाहरू र केही नयाँ सर्जकहरूसँग भेट्ने अवसर पाएँ ।
साहित्यकार गीता पन्थ, गीतकार विनोद रोका, कवि मणि वाङ्देल, डा. गोविन्द कोइराला, कवि मनु लोहोरूङ राई, कवि देवेन्द्र सम्वाहाम्फे, मीना श्रेष्ठ, सीता खरेललगायतसँग भेट भयो । कार्यक्रमको पहिलो सत्रमा युवा गजलकार अरूण खत्री ‘अनुरागी’को एकल गजल वाचन कार्यक्रम रहेको थियो । दोस्रो सत्रमा विभिन्न स्रष्टाका रचनाहरू सुनिए । त्यो कार्यत्रममा सहभागी बन्दा साह्रै खुसी लाग्यो । मैले सोचेको पनि थिइनँ, यति टाढा अमेरिकामा पनि यस्तो साहित्यिक माहौल छ भनेर । अन्त्यमा वाचन गरिएका सम्पूर्ण रचनाहरूको समीक्षा गर्न अनुरोध गरिएअनुसार मैले छोटकरीमा आफ्नो समीक्षात्मक धारणा राखेँ र आफ्नो एउटा रचना पनि वाचन गरेँ ।
उक्त कार्यक्रमपछि ८ जुलाईका दिन अ.ने.सा.स. न्यूयोर्क च्याप्टरको आयोजनामा आयोजित भानु जयन्ती समारोहमा विशेष अतिथिको रूपमा भाग लिने अवसर जु¥यो । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि तत्कालीन स्थायी नेपाली प्रतिनिधि श्री ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि, अम्बर नेम्वाङ लिम्बु र विनोद रोका पनि विशेष अतिथि हुनुहुन्थ्यो । उक्त समारोहमा आदिकवि प्रति सम्मान प्रकट गर्दै विभिन्न स्रष्टाहरूले रचना पाठ गर्नुभयो । अ.ने.सा.स. न्यूयोर्क च्याप्टरकी अध्यक्ष श्री पूनम काफ्लेको अध्यक्षतामा आयोजित उक्त समारोहमा मैले पनि आफ्नो रचना पाठसहित मन्तव्य राखेको थिएँ ।
विगत केही वर्षदेखि वासिङ्टन डिसी मेट्रो क्षेत्रमा कविहरूद्वारा नियमित रूपमा सञ्चालन भइरहेको कवि गोष्ठीको दसौँ श्रृङ्खला २८ जुलाईका दिन भर्जिनियाको स्प्रिङफिल्डस्थित स्रष्टा डा. मोहन जोशीको निवासमा आयोजना गरिएको रहेछ । उक्त अवसरमा मलाई विशेष अतिथिको रूपमा निम्त्याइएको हुँदा भाग लिन पुगेँ । वरिष्ठ साहित्यकार मित्र गोविन्द गिरी प्रेरणाले पटक पटक फोन गरेर बोलाउनु भएको थियो । गोविन्दजीले नै मलाई त्यहाँ लिएर पनि जानु भयो । आतिथ्य कवि डा. मोहन जोशीले मलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो अनि अ.ने.सा.स. डिसी. च्याप्टरका तर्फबाट स्रष्टा मञ्जु निरौलाले खादा ओढाएर सम्मान गर्नुभयो ।
त्यति टाढा पुगेर पनि त्यस्तो आत्मीय स्वागत पाउँदा म हर्षले गदगद भएँ । साहित्यमा लागेर गल्ती गरेको रहेनछु भन्ने लाग्यो । यति टाढा आएर पनि यस्तो न्यानो स्वागत पाउनु मेरा लागि कम खुसीको कुरा थिएन । उक्त कार्यक्रममा कविहरू डा. मोहन जोशी, गोविन्द गिरी प्रेरणा, नारायण अधिकारी, होमनाथ सुवेदी, सुदीपभद्र खनाल, वसन्त श्रेष्ठ, प्रेम सङ्ग्रौला, बासु श्रेष्ठ, शरद निरौला, प्रकाश निरौला, कपिल सिटौला, मञ्जु निरौलालगायतले आ–आफ्ना सुन्दर रचनाहरू वाचन गर्नुभएको थियो । छोटो समीक्षा गर्न भनिएकोले मैले वाचित कविताहरूबारे टिप्पणी गर्दै आफ्नो रचना पनि सुनाएँ ।
१० अगष्टका दिन मित्रद्वय शिवप्रकाशजी र गोबर्धन पूजाको निमन्त्रणामा वोस्टन पुगियो । हिमालयन लायन्स क्लब, न्यू इङ्गल्याण्डले आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा मलगायत गायक नरेन्द्र प्यासी, स्रष्टा शेखर ढुङ्गेल र पत्रकार राजेश कोइराला विशेष अतिथिका रूपमा थियौँ । उक्त कार्यक्रममा पनि विभिन्न स्रष्टाहरूका रचना सुन्ने र नरेन्द्र प्यासीको गीत पनि सुन्ने अवसर पाइयो ।
१२ अगष्टका दिन न्यूयोर्क महानगरीको मुटु म्यानहाटनका स्काइलाइनहरूकै नजिक मार्कोपोलो क्रूजको व्भधभ िनामक क्रूजमा एट्लान्टिक महासागरको पूर्वीय तट हुँदै म्यानहाटन ब्रिज, ब्रुकलिन ब्रिज, हड्सन नदी र स्टयाच्यु अफ लिवर्टीको आसपास दिउँसो १२ बजेबाट ३ बजेसम्म करिब १५० जना सहभागीहरूलाई राखेर घुम्दै क्रूजभित्रै कवि तथा गीतकार वसन्त चौधरीको नयाँ ईबुक ‘मेघा’ को विमोचन संयुक्त राष्ट्रसङ्घका लागि तत्कालीन स्थायी प्रतिनिधि .उहाँ पछि यु.एन. का उपमहासचिव पनि हुनुभयो) श्री ज्ञानचन्द्र आचार्यले गर्नुभयो । यो नेपाली साहित्यकै इतिहासमा ऐतिहासिक र सम्भवतः पहिलो पटक न्यूयोर्कको एट्लान्टिक महासागर र हड्सन नदी आसपास क्रूजमा घुम्दै नेपाली स्रष्टाको ई–बुक विमोचन गरिएको पहिलो घटना थियो ।
त्यस बेला साह्रै रमाइलो अनुभूति भइरहेको थियो सबैलाई । विशेष अतिथिको रूपमा मलाई पनि बोल्न अनुरोध गरियो । मैले नेपाली भाषा, साहित्य देशको सिमाना काटेर अन्तर्राष्ट्रियकरण भइसकेको र विदेशमा पनि अब नेपाल भेट्न सकिने अनुभव व्यक्त गरेँ । हाम्रा राम्रा कृतिहरूलाई अनुवादको माध्यमबाट अन्तर्राष्ट्रिय पाठकसमक्ष पु¥याउन हामी सबैले प्रयत्न गर्नुपर्ने कुरामा जोड दिएँ । उक्त भव्य समारोहमा प्राज्ञ हरिबहादुर थापा, अ.ने.सा.स. तत्कालीन केन्द्रीय अध्यक्ष गीता खत्री, अ.ने.सा.स.का तत्कालीन बोर्ड अफ ट्रस्टी अध्यक्ष होमनाथ सुवेदी, पुनम काफ्ले, साहित्यकार सीता पाण्डे, प्रकाश नेपाल, कवि हेमन्त श्रेष्ठलगायतले बोल्नुभएको थियो । अ.ने.सा.स.केन्द्रद्वारा आयोजित यो कार्यक्रम अत्यन्त रोचक भव्य र ऐतिहासिक रहेको सबैले महसुस गरे । उक्त समारोहमा वसन्त चौधरीलाई सम्मान पनि गरिएको थियो ।
उक्त समारोह पछि कवि तथा गीतकार वसन्त चौधरीको एकल कविता वाचनको कार्यक्रम आयोजना गरिएको थियो –ज्याक्सन हाइटमा । कोलोराडो र अन्य सहरहरूबाट पनि मलाई निमन्त्रणाहरू प्राप्त भएका थिए, तर टाढा भएकाले जान सकिन ।
विश्वका विभिन्न भागमा नेपालीहरूको उपस्थिति बढ्दै गएको छ । आफ्नो व्यस्तताबाट समय निकालेर नेपाली भाषा साहित्य, कला र संस्कृतिको प्रबर्धनमा सक्रिय भएर लागि पर्नुहुने सम्पूर्ण मित्रहरूको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
विदेशमा रहेर पनि यसरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा लाग्ने सबैप्रति नेपाल राष्ट्रले गर्व गर्नुपर्छ र यथसक्य त्यस्ता व्यक्ति र संस्थालाई प्रोत्साहित गर्दै सम्मानित गरिनु पर्दछ । नेपाल र नेपालीको पहिचान विदेशमा पनि कायम राख्ने काममा थुप्रै व्यक्ति र संस्थाहरू विश्वभरि सक्रिय छन् । नेपाली भाषा र साहित्य अब नेपालमा मात्र सीमित छैन । विश्वका कुना कुनामा फैलिएको छ । मलाई विश्वास छ– अब नेपाली भाषा र साहित्य अझ फैलिएर विश्वव्यापी हुँदै जानेछ।
अमेरिकाको झण्डै ३ महिनाको हाम्रो बसाई अत्यन्त अविस्मरणीय रह्यो । न्यूयोर्कका धेरै ठाउँहरू त घुमियो । भर्जिनिया, मेरिल्यान्ड, अमेरिकी राजधानी वासिङ्गटन डि.सी., न्यू ह्याम्पसायर आदि ठाउँहरू घुम्यौँ, आफन्त, नातेदार साथीहरूलाई भेट्यौँ । वासिङ्गटन डिसी घुम्दा अमेरिकी राष्ट्रपति भवन ‘ह्वाइट हाउस’ अगाडि पुगेर फोटो खिच्दा अत्यन्त आनन्द आयो । अमेरिकी संसद् भवन र डिसीका अन्य महत्वपूर्ण ल्याण्डमार्कहरू घुम्दा मलाई लाग्यो– यही ठाउँमा विश्वप्रसिद्ध कैयौं व्यक्तिहरू यिनै सडकहरूबाट हिँडे होलान् । अव्राहम लिन्कनको सालिक हेर्न पुग्दा श्रद्धाले शिर निहुरियो । वुढा अझै यतै कतै पो भेटिन्छन् कि ? इतिहासको त्यो कालखण्डमा आफू पनि पुगेझैँ अनुभूति भयो ।
न्यू ह्याम्पसायरमा केही दिन रहँदा थाहा भयो–त्यहाँ कैयौँ हजार नेपाली मूलका भुटानी शरणार्र्थीहरूलाई बसोबास गराइएको रहेछ ।
अमेरिकाको भौतिक विकासको के कुरा गर्नु ? विकासको चरम विन्दुमा पुगेको झैँ लाग्यो । कोलम्बसले पत्ता लगाएको यो देशको इतिहास नै कति लामो पो छ र ! तर यसले हरक्षेत्रमा विकास गरेको छ । छोटो समयमै विश्वमै शक्तिशाली राष्ट्र बन्न सफल भएको छ । भनिन्छ– यो अवसरहरूको देश हो । त्यसैले पनि विश्वका विकासोन्मुख र अविकसित देशका नागरिक मात्र होइन, विकसित मुलुकका मान्छेहरू पनि अवसरहरूको खोजीमा अमेरिका आएर बस्न मरिमेट्छन् । लाखौँको संख्यामा हाम्रा नेपाली दाजुभाइ, दिदीवहिनीहरू पनि यहाँ आएर आफ्नो भविष्य खोजिरहेको पाएँ । कतिले दुःख पाएका घटनाहरू पनि सुनेँ । कति सङ्घर्ष गरिरहेका छन् । कति नेपालीहरूले निक्कै राम्रो पनि गरेको देखियो ।
करिब तीन महिना बसेर रेखा र म अमेरिकाबाट स्वदेश फर्कियौँ । त्यसपछि पनि त्यो देशमा जाने अवसर पाइयो । तर पहिलो भ्रमणको अनुभूतिको छुट्टै महत्त्व हुँदो रहेछ, सदा अविस्मरणीय हुँदो रहेछ ।



पवन आलोक (वास्तविक नाम पवन कँडेल, २०११ वैशाख २० भोजपुर, सुपुत्र : जीतबहादुर कँडेल र चन्द्रमाया कँडेल) नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । २०२३ सालबाट लेखन आरम्भ गरेका आलोक २०२७ सालमा बेलपत्र वर्ष एक, अंक एकमा ‘प्रेमः एक अभिवयक्ति’ शीर्षकको कविता प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका हुन् । त्यस्तै ‘जिन्दगीको गीत’ शीर्षकको गीतिकथा २०३५ मा रेडियो नेपालबाट प्रशारण भएको थियो । उनका पवन आलोकका केही कविता (२०६०) कवितासङ्ग्रह, युरोपको झझल्को (२०६७) संस्मरण, अरूण एक्सप्रेस (२०७३) उपन्यास, केही सम्झना केही सिर्जना (२०७३) निबन्ध एवम् संस्मरणका कृतिहरू प्रकाशित छन् । उनका पत्रपत्रिकामा छरिएका संस्मरणात्मक निबन्धको सङ्ख्या निकै व्यापक छ । उनको द पोइम्स ट्री शीर्षकको अनुदित कविताको कृति पनि प्रकाशित छ । उनले गुराँस भित्ते पत्रिका (२०३३), बहुमुखी व्यक्तित्वकी धनी योगमाया (२०७०), का साथै द एन्थोलोजी अफ नेपाली भर्सिस (सन् २०१२), समकालीन नेपाली कविता (सन् २०१२), श्री इन्द्रप्रसाद श्रेष्ठ जीवनवृत्त र व्यक्तित्व (२०७३) जस्ता कृतिहरू सम्पादन गरेका छन् । नेपाल स्रष्टा समाज काठमाडौँका निवर्तमान अध्यक्ष एवम् संरक्षक आलोकले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानको स्थापना पनि गरेका छन् । उनले विभिन्न ठाउँको भ्रमण गरी अनेक अनुभवहरूलाई नियात्राका माध्यमबाट निरन्तर सार्वजनिक गरिरहेका छन् भने साहित्यिक योगदानबाट विविध मान सम्मान र पुरस्कार पनि प्राप्त गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आलोकको ‘मेरो पहिलो अमेरिकायात्रा शीर्षकको रचना समेटिएको छ । यस रचनाले अमेरिका यात्राको अनुभूतिलाई समेटेको छ ।