नेपाली साहित्यमा भएका विभिन्न आन्दोलन र अभियानहरूमध्ये एक ‘झर्रोवाद’ हो । यो वाद आफ्नै विशिष्ट परिचयवाहक अर्थ वहन गर्ने ‘झर्रो’ र त्यस मौलिकतालाई नै अनुशरणको खास सिद्धान्त बुझाउने ‘वाद’ पदको योगबाट बनेको यौगिक पद हो । यो वाद नेपाली भाषाको इतिहासमा २०१२ सालमा बीजाधान भई ०१३ सालमा प्रकटमा आएको हो । यो नोपली भाषामा मौलिकीकरणलाई प्रोत्साहन गर्ने चिन्तन र आन्दोलन पनि हो । यस वादले भाषा र साहित्यका क्षेत्रमा झर्रा (मौलिक) र स्वदेशी स्रोतका शब्दको प्रयोग गर्नुपर्छ भन्ने चिन्तन अगाडि सार्यो । यस चिन्तनले भाषाको प्रयोग र लेखन वा सिर्जन क्रियाबाट विस्तारै भाषाको भण्डार थप्तै र विकास गर्दै लैजानुपर्छ भन्ने चिन्तनलाई प्रयोगमा ल्यायो । यसका अभियन्ताहरूले यसलाई झर्रोवादी आन्दोलनकै रूपमा चलाए । यस आन्दोलनका आन्दोलननकर्ता वा अगुवाइ गर्नेहरूमा बालकृष्ण पोखरेल , तारानाथ शर्मा, कोशराज रेग्मी, बल्लभमणि दहाल, चूडामणि रेग्मीलगायतको भूमिका देखिन्छ । यस आन्दोलनको घोषणा पत्र नौलो पाइलो द्वैमासिक पत्रिका नै हो । यस पत्रिकाका प्रधान सम्पादक बालकृष्ण पोखरेल हुँदा उनैलाई यस आन्दोलनका मूल नेता मानिन्छ । यसको अगुवाका हिसाबले कसरी झर्रोवादी आन्दोलन आरम्भ भयो भन्ने जिज्ञासा राख्दा बालकृष्ण पोखरेलले दिएको जवाफ यस्तो थियो :
त्यो बेला भारतीयहरू नेपालीलाई अलग्गै भाषा नै मान्दैन थिए । यसलाई हिन्दीकै शाखा भन्थे । विद्यालयका साथीहरू पनि ‘नेपाली भाषा त हिन्दीजस्तै हो,’ भन्थे । उनीहरू नेपाली लेखकले लेखेका लेख, कविता पढेर सबै मिलेको दाबी गर्थे । तर म मान्दिन थिएँ । मेरो आफ्नै अडान थियो । एक दिन भारतीयहरूले भाषाको कक्षामै नेपाली भाषालाई हिन्दी भनिदिए । मलाई साह्रै चित्त दुख्यो । कैयौँ दिन निद्रा लागेन । त्यसपछि मैले निकै मिहिनेत गरेर गाउँ ठाउँका झर्रो शब्दहरू सङ्कलन गरेँ । अनि तर्क गरेँ, ‘लौ भन तिम्रो हिन्दी भाषामा छन् यी शब्दहरू ?’ उनीहरू गले । त्यो दिन जति खुसी मलाई आजसम्म लागेको छैन । मैले झर्रो नेपाली शब्दबारे अध्ययन थालेँ । बनारसबाट छापिने पत्रपत्रिकामा झर्रो नेपाली भाषाबारे लेख–रचना छापिन थाले । तारानाथ शर्मा, चूडामणि रेग्मी, कोषराज रेग्मीहरू झर्रो भाषाको विकास गर्न हौसिए । बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठ पनि सर्मथक भए । झ्याउरे भाका प्रयोग गर्दा जातै जान्छ भनेझैँ गर्ने लेखनाथ पौड्याललाई पनि मैले हात जोडेर आफ्नो साहित्यमा झ्याउरे प्रयोग गर्न हौस्याएँ । त्यो बेला उनले डाँफे चरीको विरहमा प्रशस्त झ्याउरे भाषा प्रयोग गरे । झर्रो आन्दोलनका सहयोगीमध्ये तारानाथ शर्मा अलि बढी उग्र थिए । कति ठाउँमा उनले विवादै ल्याइदिन्थे । सम्हाल्नको सास्ती हुन्थ्यो । हामीले नेपालमा त्यो बेला प्रकाशित हुने रूपरेखा पत्रिकामा झर्रो भाषामा स्तम्भ नै राखेका थियौँ । सम्पादक बालमुकुन्द पाण्डेले बसिबियाँलो स्तम्भ राखिदिएका थिए ।
पोखरेलको यस अभिव्यक्तिले झर्रोवादी आन्दोलनको अन्तर्य बुझ्न सघाउँछ । झर्रोवादी आन्दोलन नेपाली भाषाको इतिहासमा भाषाका शब्दभण्डारको मौलिक विकास गर्ने चेतनाबाट अभिप्रेरित छ । यसका विषयमा तारानाथ शर्मा र चूडामणि रेग्मीहरू निरन्तर बोलिरहेका छन् । यस आन्दोलनका अनुसार हामीले प्रयोग गर्ने शब्दहरूको मौलिकता हुनुपर्छ, आफ्नै मौलिक चिन्तनबाट नेपाली भाषालाई सम्पन्न तुल्याउनु पर्छ भन्ने चिन्तन अगाडि सारेकाले तत्कालीन अभियन्तालगायत आम भाषाका प्रयोक्तालाई यसले प्रभाव पार्न सफल भयो । यस आन्दोलनले २०१० को दशकमा नेपाली भाषको प्रयोगमा विदेशमा पढ्न जाने र फर्किएर आएर विदेशी भाषा मिश्रित भाषाको प्रयोग गर्ने व्यक्तिहरूको विरोधमा नेपाली भाषाको नेपालीपन संरक्षणमा भूमिका निर्वाह गरेको थियो ।
नेपालमा शिक्षाको प्रयाप्त अवसर नहुँदा छिमेकी मुलुकमा गएर संस्कृत र हिन्दी वा अङ्ग्रेजी पढेर स्वदेश फर्केका भाषाका प्रयोकताले संस्कृतका जटिल तत्सम शब्द र हिन्दीका ठिमर शब्दका साथै अङ्ग्रेजी शब्दको प्रयोग गरिदिनाले नेपाली भाषाको शब्दभण्डारलाई र वाक्य गठनलाई पनि बिटुल्याउन लागेको थियो । यसले नेपाली भाषाको मौलिकपनमाथि प्रश्न उठ्ने स्थिति देखी मूलतः विदेशी भाषाको सोझो हस्तक्षेपकारी प्रभावलाई न्यूनीकरण गर्ने ध्येयले आफ्नो चिन्तनका साथ अभियान थालेको थियो । यस अभियानले नेपालीका झर्रा शब्दको र नेपाली किसिमका प्रत्यय तथा पूर्वसर्गको उपयोग गर्न आग्रह गरेको छ ।
झर्रोवादले आन्दोलनको रूप लिएपछि यसले प्रभाव र प्रेरणाको रूप लिँदै धेरै मौलिक शब्दको सचेत प्रयोग हुँदै आएको देखिन्छ । मूलतः हिन्दी र संस्कृतका साथै अंशतः अङ्ग्रेजी भाषाको प्रभावले बिटुलिँदै, चिथोरिँदै र रङ्गिँदै गएको नेपाली भाषाको मौलिकपन जोगाउने प्रयत्नमा यो आन्दोलन देखा पर्यो । भाषाको विकास र विस्तार गर्नुपर्ने तर मौलिकता मर्न दिनुनहुने प्रयत्नमा यस आन्दोलनमा संलग्न प्रतिभामध्ये बालकृष्ण पोखरेल र तारानाथ शर्माले निकै विवेक र परिश्रमका साथ यस आन्दोलनलाई स्थापना र सर्वस्वीकार्य स्थितिमा पुर्याएका हुन् । नेपाली भाषाको भाषिक विशुद्धताका निम्ति आरम्भ भएको आन्दोलन हुँदा यस आन्दोलनलाई नेपाली भाषी लेखक र पाठकले स्वीकार गर्न उति गाह्रो थिएन ।
झर्रोवादी आन्दोलनका लागि नेपाली युवाहरूलाई केले प्रेरित गर्यो भन्ने जिज्ञासा राख्दा उक्त पोखरेलको चिन्तनसँगै विश्व सन्दर्भका केही प्रभाव विन्दुहरू फेला पर्छन् । यस सन्दर्भमा फ्रेन्च भाषाको प्रभावबाट अङ्ग्रेजीलाई मुक्त गर्ने उद्देश्यले पुनर्जागरण कालपूर्वको आङ्ग्रेजी भाषामा भएको प्युरिस्ट अभियान यसको मूल अभिप्रेरक पक्ष देखापर्छ । नेपाली अध्येताहरूले त्यस अभियान र यस अभियानको तुलनात्मक अध्ययन गर्न बाँकी रहे पनि यसको प्रभाव क्षेत्र अन्वेषणीय छ । नेपाली भाषाको प्रयोग शुद्ध हुनुपर्छ भनेर सिर्जना र अन्य अभिव्यक्तिमा पनि सचेत हुँदै आएका कोश एवम् व्याकरणकार महानन्द सापकोटा, पुष्कर शमशेर, विपिनदेव ढुङ्गेल आदिको प्रभाव पनि यस आन्दोलनको अभिप्रेरक पक्ष देखिन्छ । यसरी आन्तरिक र बाह्य प्रभावले यस आन्दोलनलाई बढी गहन र सर्वग्राह्य बनाएको पक्ष स्मरणीय छ ।
झर्रोवादी आन्दोलनका अभियन्ताहरूले सं स्कृत, हिन्दीलगायत अन्य विदेशी भाषाका शब्दका स्थानमा नेपाली भाषाका क्षेत्रीय भाषिका तथा उपभाषाका शब्दहरूलाई उपयोगमा ल्याउने प्रयत्न गरे । उनीहरूले सकेसम्म मौलिक स्रोतका शब्द पहिचान र तिनको प्रयोग गर्ने प्रयास गरे । यस आन्दोलनले एक किसिम नेपाली भाषाको मौलिकीकरण वा पुनरुद्धार गरेको मान्नुपर्छ । यसले नेपाली भाषाको सरल एवम् शुद्ध बनाउने प्रयत्नलाई पनि केन्द्रमा राखेको देखिन्छ । यद्यपि यस अभियानका घोषित कार्यक्रम र प्रयोगहरू त्यति धेरै चलेनन् । यसलाई प्रयोक्ताले आफ्नो लेखनमा छोटै अवधिमा आत्मसात् गरेका कारण र केही पत्रिकाहरूले यसलाई अनुशरण गरेका कारण झर्रोवादले आफ्नो प्रौढता प्राप्त गर्दै गएको देखिन्छ । यसको एक उदाहरण जूही पत्रिकालाई लिन सकिन्छ ।
झर्रोवादलाई तत्कालीन पत्रपत्रिकामध्ये नौलो पाइलो, युगज्ञान, फूलपाती आदिको भूमिका उल्लेख्य छ । युगज्ञान पत्रिकामा ‘भासेली सुरेली’ र ‘पुछारको पातो’ स्तम्भका रूपमा प्रकाशन हुन्थे । ती स्तम्भका सामग्रीले झर्रोवादी चिन्तन प्रवद्र्धनमा निकै सघाए । ती चिन्तनले नेपाली भाषाका प्रयोक्ताहरूलाई तत्सम र आगन्तुक शब्दको प्रयोगमा निकै सचेत पनि बनाए । यस पत्रिकाभित्र बालकृष्ण पोखरेल, तारानाथ शर्मा, चूडामणि रेग्मी, मोहनराज शर्मा आदि लेखकले भाषाको झर्रोपनको विकासका निम्ति लेख रचनाहरू प्रकाशित गरेको देखिन्छ । फूलपाती जस्ता पत्रिकाले यस अभियानलाई सघाएको देखिन्छ । झर्रोवादी आन्दोलन नेपाली भाषासाहित्यका आन्दोलनका इतिहासमा भने दार्जिलिङको भाषिक आन्दोलन र हलन्त बहिष्कार आन्दोलनभन्दा सशक्त रहेको केही विद्वान्हरूको ठहर छ । यो आन्दोलन आरम्भमा केही उग्र रूपमा देखा पर्यो । यसलाई भाषिक सिद्धान्तबाट विचलित आन्दोलनको आरोप पनि लाग्यो । यद्यपि यो नेपाली भाषाकै हित र मौलिक विकासमा समर्पित थियो ।
नेपाली भाषाको लेखन सुधारका र मौलिकीकरणका लागि आरम्भ भएको यो आन्दोलन नेपालबाहिरबाट आरम्भ भएको थियो । तत्काल बनारस बसेर पढ्ने विद्यार्थीहरू यसका मूल अभियन्ता थिए । यस आन्दोलनले आफ्नो भाषा विषयक चिन्ता स्वदेशमा रहँदा भन्दा विदेशमा पुगेपछि हुन्छ भन्ने पक्षलाई पनि सङ्केत गरेको छ । यो अवस्था आज पनि नेपालबाहिर छरिएर रहेका नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरूले देखाइरहेका छन् । यो चिन्ताको आरम्भ सूधपादेखि भएको पक्ष पनि स्मरणीय छ ।
झर्रोवादी अभियानले नेपाली भाषामा आगन्तुक शब्दको प्रयोगलाई नियन्त्रण गर्नका साथै शब्दभण्डारमा आएका नयाँ नयाँ शब्दको उपस्थितिलाई नेपाली शैलीमै अनुकूलीकरण गर्ने काम पनि गर्यो । नव निर्मित र आगन्तुक शब्दहरूको उपस्थिति र तिनका स्वरूपको औपचारिक विधिको पनि प्रयोग गरियो । नेपाली भाषामा प्रयोगमा आउन लागेका शब्दहरूलाई नयाँ प्रत्यय विधान, तद्धित र कृत् प्रत्ययको स्वरूपलाई उपयोगमा ल्याउने प्रयत्न पनि भए । प्रयोक्ताले प्रयोगमा पचाइसकेका र आपसमा प्रिय बन्न थालेका शब्दको विरोध भने सफल भएन । अभियन्ताले स्थापना गरेका कतिपय शब्द प्रयोगमा प्रयोक्ताले स्वीकार गर्न सकेनन् । यस आन्दोलनले तद्धित प्रत्रियाबाट उँधो+ औली =उँधौली, पुर्खा+ यौली = पुख्र्यौली, पुस्ता +एनी=पुस्तेनी, भारी+ औटे = भरौटे, पछि + औटे =पछौटे, सम्पादकं+ यौली=सम्पादक्यौली जस्ता पदलाई प्रयोगमा ल्याएका थिए । कृत्प्रत्ययअन्तर्गत देख्+ आवटी=देखावटी, राख् + औटो =रखौटो आदिको प्रयोग गरेका थिए । उनीहरूले यस्ता शब्दलाई तद्धितपुछ्रे र कृतपुछ्रे भनेका थिए । उनीहरूको एउटा मुद्दा नै संस्कृतबाटै हिन्दी इत्यादिसित नमिल्ने किसिमले शब्द निर्माण गरेर अभाव टार्नुथियो ।
झर्रोवादीहरूले शब्द भण्डारको व्यवस्थापन र तिनको स्रोतका आधारमा पनि भाषाको व्यवस्थित अध्ययनको प्रयत्न गरेका थिए । उनीहरूले जम्मा चारओटा स्रोत व्यवस्थापन गरेको सन्दर्भ आज पनि उपयुक्त देखिन्छ । ती चार ओटा स्रोत तत्सम, तद्भव, आगन्तुक र देशज हुन् । भाषाको परिवर्तन स्थानीय रूप, शब्दावली, उच्चारण विधिलगायतका स्थितिहरूबाट गर्ने प्रयत्नमा पनि यो आन्दोलन स्मरणीय छ । यस आन्दोलनले भाषाको स्वभावमा परिवर्तन र विकास सँगसँगै गर्ने प्रयत्न गरेको पक्ष स्मरणीय छ ।
झर्रोवादी आन्दोलनकर्ताले नेपाली भाषा संस्कृतको सन्तति हो भन्ने पक्ष नै भुलेर तत्सम विरोधी चिन्तनबाट प्रेरित आन्दोलनको आरोप खेप्नु पर्यो । यसलाई साहित्यमा पाखेपन ल्याउने आन्दोलन भन्ने आरोप पनि लाग्यो । तत्सम शब्दका स्थानमा प्रस्ताव र प्रयोग गरिएका शब्दहरू तत्कालीन अग्रज र प्रयोक्ताबाट आलोच्य पनि बने । यस अभियानले अपेक्षा गरेको सरलता झर्रा शब्दको प्रयोगका नाममा अझ क्लिष्ट हुने खतरा पनि देखियो । यस अभियानका यस्ता केही कमजोरी एवम् आलोच्य पक्ष रहेर पनि २०१३ पछिका नेपाली लेखकहरूलाई शुद्ध र मौलिक लेखनका निम्ति प्रोत्साहित गरिरह्यो । यस आन्दोलनपछि नेपाली साहित्य सिर्जनामा झर्रा शब्दहरू पर्याप्त प्रयोग हुन थाले । यसले भाषा विज्ञानका क्षेत्रमा नाके ओडार, कण्ठपेटारो, गलजिब्रो, हाब्रोजस्ता शब्दहरू, साहित्यमा सम्पादक्यौली, लेखक्यौली, छेकछन्द, कुर्लनु, झल्किनुजस्ता थुप्रै शब्दहरू प्रदान गर्यो । एक किसिम उग्र पनि लाग्ने यस आन्दोलनले नेपाली भाषाको मौलिक प्रयोग र प्रचलनमा विशेष योगदान पुर्याएको पक्ष स्मरणीय छ ।
– सम्पादक