शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । मेडिकल अध्ययनका लागि उनको शरीर राखिने भएको हो ।
मृत्युअघि नै जोशीले आफ्नो शरीर दान गर्ने घोषणा गरिसकेका थिए । सोही अनुसार उनको शरीर अध्ययनका लागि राखिने भएको हो ।
जोशीको शव अब किष्ट शिक्षण अस्पतालमा रहनेछ ।
शव लामो समयसम्म जस्ताको तस्तै रहने अस्पतालका प्राध्यापक डा. किशोर सिंह बस्नेतले बताए । उनका अनुसार नसाबाट केमिकल शरीरमा राखिनेछ । केमिकलले शवलाई लामो समयसम्म सड्न दिँदैन ।
सत्यमोहन जोशीले आफ्नो शरीर मृत्युपश्चात किष्ट अस्पताललाई अध्ययनका लागि दान दिने घोषणा गरिसकेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताए । ‘मलाई जलाएर पठाए खरानी हुन्छ तर नजलाए विद्यार्थीले मेरो शरीरलाई पढ्न सक्छन् भनेर उहाँले भन्नुभएको थियो’, उनले भने, ‘उहाँले मलाई मृत्युपश्चात पनि केही गर्न सकौं भनेर आफ्नो इच्छा अनुसार हस्ताक्षर गरेर विद्यार्थीलाई अध्ययनका लागि किष्ट अस्पताललाई दिन्छु भन्नुभएको थियो।’
मेयर महर्जनले जोशी ९८ वर्ष लागेदेखि नै महानगरले सहयोग गरिरहेको जानकारी दिए। नगरले जाशीलाई गाडी सुविधा र भत्ता दिँदै आएको थियो ।