लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्य, शिक्षा र समग्र वाङ्मयिक गजत्का अग्रगन्य व्यक्तित्व हुन् । नयाँ नेपालको अवधारणा र परिवर्तीत सन्दर्भअनुसार उनको सम्मानमा राष्ट्रले छुट्टै पुरस्कारको स्थापना गरेको छ । २०६८ मा सरकारले स्थापना गरेको यस पुरस्कारको नाम ‘महाकवि देवकोटा पुरस्कार’ राखिएको छ । कुल पाँच लाखको संस्कृति मन्त्रालयले प्रदान गर्ने यो पुरस्कार हरेक वर्ष लक्ष्मीजयन्तीको सन्दर्भ पारेर पाँच जना साहित्यसेवी व्यक्तित्वलाई वितरण गर्दै आएको छ । यो पुरस्कार परम्पराको एक दशक पूरा भएको छ । एक दशकलाई सर्वेक्षण गर्दा यस पुरस्कारका केही सबल र केही दूर्वल पक्षहरू देखिएका छन् ।
एक दशकअघिदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । वस्तुगत रुपमा हेर्दा देवकोटाका नाममा स्थापित यो पुरस्कार निकै गरिमापूर्ण पुरस्कार हो तर यसको वितरण प्रक्रियामा केही प्राविधिक पक्ष मिलिरहेको छैन । यो पुरस्कारलाई यसरी पाँच पाँच जना प्रतिभालाई चारो बाँडे जस्तो बाँड्नु भन्दा कुनै एक सफल र प्रतिभाशाली वा साहित्य सेवामा समर्पित प्रतिमालाई यो पुरस्कार अर्पण गर्न सके यसको इतिहास बलियो हुने थियो । २०६८ देखि अहिलेसम्म छनोटमा परेका प्रतिभाहरूमा मिसमास योगदानको कदर भएको देखिन्छ । अब केही वर्षमा धेरै जनाले देवकोटा पुरस्कार पाइसकेका हुने छन् र यो गरिमापूर्ण पुरस्कार नभई आम पुरस्कार जस्तो हुनेछ । मदन पुरस्कारले नि विधापिच्छे पुरस्कार दिन थाल्यो भने त्यसको आजको गरिमा नरहन सक्छ । यस विषयमा किन सोचिएन वा पुनर्विचार गर्ने ठाउँ छ कि ?
देवकोटाका नाममा पुरस्कार दिँदा साहित्य क्षेत्रमा योगदान दिने व्यक्ति नै छनोटमा पर्छन् । यस विषयमा सङ्का होइन तर विगत दश वर्षको अनुभवले यस पुरस्कार वितरणमा प्रतिभासँगै पार्टीगत भागबण्डाको गन्ध, जातीय भाग भण्डाको र क्षेत्रीय भागवण्डाको गन्ध आइसकेको छ । त्यस्तै लैङ्गिक भागवण्डाको गन्ध पनि आइसकेको छ । देवकोटाका कृति सम्पादन गर्ने, देवकोटाका विषयमा शोध अनुसन्धान गर्ने विशिष्ट प्रतिभाभन्दा अरु अरु व्यक्तिहरूलाई यो पुरस्कार बाँडिसकिएको छ । दश वर्षको अनुभवका आधारमा यस पुरस्कारको गरिमालाई अझ उचो बनाउने हो भने यो भागबण्डाको अनुभवलाई हेरेर एउटै पुरस्कार बनाउनु सान्दर्भिक हुने छ । काम गर्दै जाँदा भएको कमजोरीको सम्बोधन पनि हुने छ र नेपाली साहित्यमा यो गरिमापूर्ण पुरस्कारका रुपमा स्थापित हुने छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारको छनोट प्राप्त आवेदनका आधारमा एउटा समितिले गर्दछ । यो आवेदन हालेर पुरस्कार थाप्ने पक्षमा कतिपय व्यक्तिको रुचि हुँदैन भन्ने पक्षमा पनि सोचविचार गर्नुपर्ने देखिन्छ । कतिपय प्रतिभाहरू कृति र काम भन्दा बढी पुरस्कारले चिनिएका छन् र त्यसको कारण यही आवेदन हेर्ने परिपाटी हो । जनही रु एक लाख राशिको यो पुरस्कार पाउने पाँच जना स्रष्टामध्ये एक कविता काव्य क्षेत्रबाट, दुई निबन्ध र समालोचना क्षेत्रबाट, तीन आख्यान र नाटक क्षेत्रबाट, चार बाल साहित्य, लोक साहित्य क्षेत्रबाट र पाँच समग्र साहित्य सेवाका क्षेत्रबाट दिइँदै आएको छ । यसो गर्नु सबै क्षेत्रमा देवकोटाको नाम पुर्याउनु त हो तर केही वर्षमा कमजोर योगदान रहेका मानिस देवकोटाका नामबाट पुरस्कृत हुन थालेपछि यस पुरस्कारको गरिमा घट्ने र विशिष्ट योगदान दिने प्रतिभाले पुरस्कार नथाप्ने वा वहिस्कार गर्ने सम्भावना बढ्छ । यो अवस्था अरु पुरस्कारमा पनि देखिएको छ । यो वस्था आउने ठोका बेलैमा थुन्न सके देवकोटा पुरस्कारको गरिमा सुरक्षित रहने थियो ।
महाकवि देवकोटा पुरस्कार अर्पणका लागि निश्चित मापदण्ड तथा कार्यविधि छ । सोबमोजिम गठित महाकवि देवकोटा पुरस्कार चयन समितिले गरेको सिफारिसअनुसार मन्त्रीस्तरको निर्णयबाट पुरस्कार दिने घोषणा गरिन्छ । यसो भए पनि निवेदनवाला प्रतिभा मात्र छानिने र समिति पनि समावेसी रहने र नेपालका सरकार जहिलै गठबन्धनमूलक हुने हुँदा उचित प्रतिभा घुटिरहेको र पहुँचवाला प्रतिभा पुरस्कृत भइरहेको देखिन्छ । यो अवस्था अन्य पुरस्कारमा पनि छ तर देवकोटा पुरस्कार यस्तो कमजोरीको शिकार बन्नुहुने थिएन भन्ने लागिरहन्छ । वर्तमान सन्दर्भमा देवकोटाका नानमा राज्यले दिने पुरस्कार मदन पुरस्कार गुठीले दिने जगदम्बाश्री पुरस्कार जति पनि गरिमापूर्ण नबन्नु विडम्बनापूर्ण अवस्था हो । यसका लागि राज्य र सरोकारवाला व्यक्तित्वहरूको चासो जान आवश्यक छ । प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने पृथ्वी प्रज्ञा–पुरस्कार जस्तै देवकोटा पुरस्कार पनि गरिमापूर्ण पुरस्कार बन्न आवश्यक छ । यो पुरस्कार वितरण भइरहँदा र पुरस्कृतहरूको नाम पढिरहँदा देवकोटाकै अपमान भइरहेको बोध कसैलाई हुनुहुँदैन र यो अवसर दिइनु पनि हुँदैन ।
-डा. रमेश शुभेच्छु