कृसु क्षेत्री नेपाली साहित्यका सुपरिचित प्रतिभा हुन् । उनको कलम सिर्जनाका विविध विधाका साथै साहित्यका विकासमा उनको समर्पण निकै लोभलाग्दो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको दशैँमा सहर र गाउँका विषयलाई समेटेर तयार परिएको ‘दशैँ नोस्टाल्जिक’ शीर्षकको निबन्धात्मक आलेख समेटिएको छ । -सम्पा. |
राजधानीमा छु र राजधानीमा दसैँ मनाएको वर्षौँ भइसकेको छ तर पनि दसैँ भन्ने बित्तिक्कै गाउँकै दसैँ नै याद आइरहने । सुवेदी गाउँको दसैँ ।
टांगटिंग र बिरिंग खोलाका बगरका काँसघारी फुलेर सेतै हुन्थ्यो अनि हामी दसैँ आउन लागेको थाहा पाउँथ्यौं । असोजमै पाक्ने टाइचीन धान पहेंलपुर पाक्थ्यो अनि हामी दसैँ आएको थाहा पाउँथ्यौं । हातका नंगहरू फुल्न थाल्थे अनि हामी कुरा गर्थ्यौँ दसै आयो अब नयाँ लुगा लगाउन पाइन्छ ।
हाम्रा कुरा सुनेर बुबा आमाको अनुहार मलीन हुन्थ्यो अनि बारीमा टांगेर सुकाई राखेका सनपाट (जुट) लाई बाँध्न थाल्नु हुन्थ्यो । गोरुगाडाका गाडा सनपाट हालेर शनशरे हाटमा बेचेपछि दसैँ आइहाल्थ्यो ।
भरे बुबाआमा हाटबाट फर्कँदा नयाँ नयाँ कपडा हुन्थ्यो । बुबाले डोराउँदै गरेको घोर्ले खसी परैबाट देखिन्थ्यो । अनि पो दसैँ आएजस्तो हुन्थ्यो ।
मध्यरातमै माल्दाजु तारादाजुहरू बर्फलेंगको जंगलमा रातो कमेरे माटो लिन जानुहुन्थ्यो र लिपपोत सुरू हुन्थ्यो । माल्दाइ (दमै माल्दाइ)र राजकुमार दनुवार खर छाउन थाल्नु हुन्थ्यो । एकवर्ष पछि घर दुलही जस्तै सजिन्थ्यो । गाउँघरमा खसी कराएको सजाएको घर देखाएर हाम्रो फुर्ती नै ठूलो हुन्थ्यो ।
बालिघरे कान्छा काका र काकी लुगा सिउने मेसिन बोकेर घरमै आउनु हुन्थ्यो र घ्यारघ्यार सिलाउन सुरु गर्नु हुन्थ्यो । ओ हो अनि त गाउँमा हामी सानो भइदैनथ्यो त । लुगा सिलाउने काका र काकीलाई पनि आमाले नयाँ कपडा ल्याइदिनु हुन्थ्यो । आमाले लुगा दिंदा काका काकीको अनुहारमा खुसी छल्केको देख्दा पो दसैँ साँच्चै ठूलो चाड रहेछ भन्ने लाग्थ्यो ।
फूलपातीको दिन त हाम्रो घरमा ठूलै उत्सव हुन्थ्यो । ठूलाकाका विहान आएर महारानीको पूजा गर्न तयारी गर्नु हुन्थ्यो । बास्दै गरेको भाले, कुखुरा र हाँसको अन्डा, उखुको बोट, केराको थम्बा, सातथरी फलफूल, पहिलोपल्ट काटेको न्वागी धान, टाइचीनको च्युरा अनि सिम्रिक राखेर फूलपाती महारानी र कूलदेवताको पूजा हुन्थ्यो । दुबसुदाजुसँग बडाऊ (ठूलोबुबा), सानाकाका, अमरदाइहरू आकाश पातालको गफिने बेला थियो त्यो । एकछिनमै कुखुराको भाले र घोर्ले खसीको गर्धन छप्काइन्थ्यो । एकपटकमै छ्याप्प छिनाउन तारादाजु, हरिदाइ, दमै माल्दाइ र राजकुमारका बिचमा ठूलो बाजी हुन्थ्यो । रामदाजु, भरतदाजू र म रक्ती थाप्न बाटा लिएर पर्खिरहन्थ्यौँ । काटकुट सकिएपछि आन्द्राभुँडी मुटु कलेजो रक्ती पकाएर गाउँभरिकाले प्रसाद खाइन्थ्यो । रामदाम विश्वकर्मा काका, डाकवाला सार्की काका र रामस्वरूप दनुवार दाइको नाचगान पनि सुरु भइहाल्थ्यो । ओ हो अनि पो दसैँ आएजस्तो लाग्थ्यो ।
प्रसाद खान भने बुबा, काकाहरू, बडाऊ, अमरदाइ, सलबहादुर गोले काका, गोले माइला काका, किर्ते काका, फ्यावली काका, जारीवाल दनुवार मितबा, लिम्बु मितबा, जमदार बडाऊ, मनिपुरे काकालाई पो सास्ती हुन्थ्यो । तासको खाल जमिसक्या हुन्थ्यो । लोकल तीनपाने चल्न पनि सुरु भइसकेको हुन्थ्यो । जुवाडेहरूको अनुहारमा हारजीत र खुसी उदासी देखिंदा पो बल्ल दसैँ आएजस्तो हुन्थ्यो ।
दसैँ लाग्यो कि गाउँमा भेला हुन थालिहाल्थ्यो । आसाम, मेघालय, बागडुग्रातिर गएकाहरू डोकोमा कोसेली बोकेर नेसनल रेडियो घन्काउँदै आउँथे । बल्ल दसैँको चहलपहल सुरु हुन्थ्यो ।
गाउँभरिका युवाहरू दोबाटोमा भेला हुन्थे अनि लिंगेपिंग र रोटेपिंग बनाउन दौडन्थे । कोही बाँसको जो हो गर्थे कोही बाबियो लिन दौडन्थे । काठको रोटेपिंग बनाउन मिस्त्री बन्थे कोही । पिंग बनेपछि पालो कुर्नु पनि मजै पो थियो ।सबैभन्दा मज्जा त आफूलाई मन परेकी केटीलाई पिंग मचाइदिन हुन्थ्यो । उता केटी पनि लाजले रातो हुने आफू पनि तीनचार दिन सम्झदैं पानी छम्किने ।
दसैँ लाग्यो कि डाइस (लंगुर बुर्जा) खेल्न रहर लागेर आउँथ्यो । टीका थापेर पाएको दक्षिणा त एकैछिनमा स्वाहा पार्थ्यौँ हामी । चंगाको लट्टाईमा घन्टौं रमाएर अर्काको चंगाचेट गर्न तयार हुन्थ्यौँ । धागोमा तेल दल्ने अनि धागोमा शीशा टाँसेर लडाउन लाग्थ्यौँ हामी । चेट भएको चंगा पक्डिन घरका छत पर्खाल बुर्कुसी मार्दै नाघ्दै दौडन्थ्यौँ ।
सबै रमाइलो हुन्थ्यो दसैँमा । अल्छी चाँहि टीका लगाउन हुन्थ्यो । कान्छो छोरा भएकाले पालो सारै ढीलो आउने अनि सबैतिर टीका लाउन जानै पर्ने बाध्यता। निधारभरि रातै टीका लाएर आफन्तजनको हातको टीका थाप्दै थाकेर लखतरान भइन्थ्यो । अझ धेरै ठाउँ छोरालाई दक्षिणा दिन पर्दैन भन्ने सुनेर रिसै उठेर आउँथ्यो । कहिले त दिदीको दक्षिणा चोरेर पनि लुकाइन्थ्यो ।
सम्झदै रमाइलो लाग्छ । अहिले त दसैँ राजधानीमा सुनसान हुन्छ । वल्लो घर पल्लो घर हुन्न । दसैँ आयो कि गाउँ नोस्टाल्जिक हुन्छु म । दसैँ त गाउँमै पो हुने रहेछ।