दशैँ हिन्दूहरूको महान चाड हो । सारमा यो चाड हिन्दुहरूको मात्र होइन । यो नेपालमा बसोबास गर्ने नेपालीहरूको साझा चाड हो । यो चाडलाई हिमाल, पहाड र तराईमा बस्ने नेपालीहरूले आआफ्नै ढङ्गले मनाउँदै आएका छन् र राष्ट्रिय चाडका रूपमा विकास गरेका छन् । आज विश्वभर छरिएर रहेका नेपाली जातिको साझा चाडका रूपमा यस चाडको विकास भएको छ । नेपालीहरू जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँ जमरा र रातो टीकाका साथै नेपाली सद्भाव पनि पुगेको छ । यो नेपाली जातिका लागि खुसीको कुरा हो ।
हरेक चाडपर्वका धार्मिक सांस्कृतिक पक्षहरू हुन्छन् नै । त्यो पक्षबाट हेर्दा दशैँ हिन्दू धर्मको देवी उपासनासँग जोडिन्छ । पौराणिक कालका राम र रावणका कथासँग पनि जोडिन्छ । यसो भए पनि यस चाडको सामाजिक सद्भाव र कृषिसम्भयतासँग जोडिएको पाटो स्मरणीय छ । दशैँमा जमरा राख्ने, पशुबलि दिने, प्रकृतिका विभिन्न वनस्पति र बालिनालीको पूजा गर्ने पक्ष पनि छ । दशैँको टीका मानिसले लगाउनुपूर्व खेतीबालीलाई चढाइन्छ । दशैँमा भित्रयाइने फूलपातिमा विभिन्न वनस्पतिको प्रयोग र पूजा गरिन्छ । दशैँको टीकामा दही अक्षताको प्रयोग गरिन्छ । रङको विकास भएपछि रङ पनि प्रयोग गर्न थालियो तर यस पर्वमा प्रयोग हुने दही र अक्षता एवम् जमराजको आफ्नै महत्व छ । यिनको वैज्ञानिक उपादेयता पनि छ र यो कृषिव्यसनीहरूको पर्व हो भन्ने देखिन्छ ।
दशैँसँग सामाजिक सद्भावका अनेक पक्ष छन् । बिग्रिएको वा नयाँ बाटोघाटो बनाउने, भत्किएका वा नयाँ पुलपुलेसा बनाउने, सार्वजनिक ठाउँमा रोटेपिङ र लिङ्गे पिङ लगाउने, धान चिउरा आदि कुट्न अर्मपर्म गर्ने, कमेरो वा रातोमाटो खन्न सामूहिक रूपमा पर परसम्म जाने, स्थानीय ठाउँमा दशैँविशेष हाटबजार लगाउने, स्थानीय मठमन्दिरको सरसफाई र सिँगार गर्ने आदि प्रचलनका बिच सामाजिक सद्भाव निकै प्रबल छ । यस पर्वले नेपाली जातिलाई अरूजातिसँग र विश्वभर छरिएर रहेका जातिसँग पनि जोडेको छ ।
दशैँ पर्वसँग पारिवारिक सद्भावको निकै गहिरो सम्बन्ध छ । वर्षौदेखि भेट नभएका परिवारका सदस्यहरू दशैँ भनेपछि जसरी पनि घर पुग्नुपर्छ र मान्यजनका हातको टीका थाप्नुपर्छ भन्ने निष्कर्षमा पुग्छन् । यसले पारिवारिक सद्भाव बढाउँछ । परिवार परिवारको सद्भावले सामाजिक सद्भाव बढाउँछ । सामाजिक सद्भावले नै मानवीय र राष्ट्रिय अन्तराष्ट्रिय उच्च मानवीय सद्भाव बढाउँछ । यस विशेष पर्वका अवसरमा साहित्यसागरको प्रस्तुत शृङ्खलालाई दशैँ विशेष रचनाशृङ्खलाका रूपमा प्रस्तुत गरिएको छ ।
-सम्पादक