हे सत्वमूर्ति कविता ! सुन अर्चना यो
द्यौ प्रेरणा दिन दिनै नव सिर्जनाको ।
यी पङ्क्तिहरू राष्ट्रकवि माधव घिमिरेको प्रकाशन हुँदै गरेको महाकाव्य ऋतम्भराका प्रारम्भिक अंश हुन् । यी पङ्क्तिलाई साहित्यसागरका प्रस्तुत गर्नु गर्वको विषय हो ।
माधव घिमिरे (१९७७–२०७७) नेपाली साहित्य सिर्जन परम्पराका दोस्रो या तेस्रो पुस्ताका सर्वाधिक चर्चित कवि हुन् । उनलाई भानुभक्तीय शास्त्रीय लयचेतनाका चुली मान्न सकिन्छ । उनको कवित्व मात्र होइन नाट्यकारिता पनि त्यत्तिकै उच्च छ । उनी नेपाली कविता परम्परामा परिष्कारवादी धारातर्फ लेखनाथ पौडेलका उत्तराधिकारी र स्वच्छन्दतावादी धारातर्फ लक्ष्मीप्रसाद देवकोटाका उत्तराधिकारी हुन् ।
नेपाली बालकविताका नमुना कस्ता हुनुपर्छ ? नेपाली गीत कस्ता छन् वा हुनुपर्छ ? गीति नाटक कसरी लेख्न सकिन्छ ? काव्य नाटक भनेको के हो ? खण्डकाव्य भनेको के हो ? शोककाव्य कस्तो काव्यलाई भनिन्छ ? रचनामा राष्ट्रियताको स्वार कसरी कलाभित्र छोपिएर आउन सक्छ ? आदि धेरै जिज्ञासाका साझा जवाफ माधव घिमिरेका सिर्जना हुन् । आजको पुस्ताका लागि उनी पितामह अझ धेरैका लागि प्रपितामह पुस्ताका कवि हुन् । उनले आफ्नो समयमा जति साधना गरे ती सबै नमुना कृतिका रूपमा स्थापित छन् । अब उनका सिर्जनाको आलोचना भन्दा पनि त्यहाँबाट सिक्न सकिने कुरा सिक्तै अगाडि बढ्न आवश्यक छ ।
घिमिरेले कविताका मुक्तकदेखि खण्डकाव्य हुँदै महाकाव्यसम्मका रचना सिर्जना गरे । उनले जीवनको अधिकांश समय महाकाव्यको साधना गरेर पनि प्रकाशन गर्न भ्याएनन् । उनको महाकाव्यको पाण्डुलिपि अवलोकन गर्दा त्यो अपूर्ण भन्दा पनि पूर्ण नै छ । त्यसलाई साझा प्रकाशनले प्रकाशन गर्ने अन्तिम तयारी गरी कभर पनि सार्वजनिक गरिसकेको छ । यहाँ त्यस काव्यको एउटा अंश समेटिएको छ । आशा गरुँ घिमिरेको यो काव्य नेपाली महाकाव्य परम्परामा उल्लेख्य कृति हुने छ । यस कृतिबाट नेपाली मौलिकपनहरूको काव्य वाणी पढ्न पाइने छ । यही शुभेच्छाका साथ घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली ।
– डा. रमेश शुभेच्छु