बुँद राना नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको कलम कवितात्मक विधा र उपविधाहरूमा जमेर चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेको हुँदा यहाँ उनको सारभूत परिचयसहित एउटा गजल रचना समेटिएको छ कसैको के कसैको के’ बोलको यस जगलले क्षय हुँदै गरेको मानवीय मूल्यप्रति व्यङ्ग्य गर्दै मानव मूल्यको खोजी गरिएको छ । -सम्पा. |
कसैको के कसैको के छ आफ्नै ताल मान्छेको
भई बेतालको मान्छे भयो बेहाल मान्छेको ।
पुगियो ठाउँमा भन्दै छ हिंड्दै पाइला मेट्दै
यहाँ भन्दा भनौं के नै छ कस्तो चाल मान्छेको ।
कहाँ त्यो जालले जेल्नु कहाँ कुन् जेलले थुन्नु
भयो भोगी नसक्नु पो यहाँ जंजाल मान्छेको ।
थुपारी दोष अर्कैमा लिई सन्तोष के गर्नू !
असलमा आज मान्छे नै बनेको काल मान्छेको ।
सबै हार्ने गरेका छन् कसैले के जित्यो कुन्नि
चलेको शानले देखेँ जुवाको खाल मान्छेको ।
गरेरै के यहाँ हुन्थ्यो पछुतो आखिरी बेला
अरूकै आसमा बित्छन् महिना साल मान्छेको ।
छ जो कंगाल झैं आफै छु मालामाल भन्दैछ
अहो खोजी दिने कल्ले ? गुमेको माल मान्छेको ।
नदीले बाढको धम्की सुनामी दिन्छ सागरले
अझै यो बूँदले भन्दै छ बन्छू ढाल मान्छेको !