छन्दमञ्जरीको नियमित तथा ६६ औँ श्रृङ्खला सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट असार ११ गते शनिबार श्रृङ्खला भएको हो ।
श्रृङ्खलामा रचित र वाचित सिर्जनाहरू असार विशेष रहेका थिए ।
कवि चन्द्रावती अधिकारीले झ्याउरे संरचनामा ‘परदेशी फर्क’ बोलको लोक असारे गीत प्रस्तुत गरेकी थिइन् । कवि दुर्गा अधिकारी र हरिप्रसाद चौलागाईँले झ्याउरे असारे गाएका थिए । कवि उत्तम भेटवालले बालुवामा पानी भो लगानी शीर्षकको सवाई संरचनामा असारे गाएका थिए भने अतिथि कवि विदुर अधिकारीले लोकछन्दमा असारे गीत गाएका थिए ।
यस्तै कवि गुणनिधि घिमिरेले संयुक्त राज्य अमेरिकाबाट जन्मभूमि सम्झिँदै लोक झ्याउरे लयमा कविता प्रस्तुत गरेका थिए । श्रृङ्खलामा अतिथि कवि नारायण निरौलाले अनुष्टुप छन्दमा किसान शीर्षकको कविता प्रस्तुत गरेका थिए । अर्का अतिथि कवि वीरेन्द्र नेपालले असार तथा किसानकै सम्बन्धमा शार्दूल विक्रिडीत छन्दको कविता गाएका थिए ।
श्रृङ्खलामा वाचित कविता बारे डा. सीता सुवेदी पन्थीले सङ्क्षिप्त टिप्पणी गरेकी थिइन् । छन्दमञ्जरीका संरक्षक कवि भुवनहरि सिग्देलको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको यस कार्यक्रममा मियो टङ्कराज ढकाल तितेपातीले सम्बोधनमा नेपालीकरण गर्ने सल्लाह दिँदै नेपाली भाषाको समाप्त पार्ने सबै प्रपञ्चविरुद्ध स्रष्टाहरू लाग्नुपर्ने सल्लाह दिएका थिए ।
आगामी श्रृङ्खलामा १६ अक्षरबाट बन्ने कुनै पनि छन्दमा कविता लेख्ने निर्णयसहित श्रृङ्खला सकिएको थियो ।