असार मास रोपेको रोपो भदौमा पसाउँछ
एक पल्ट आउँछ अल्लारे जोबन दुनियाँ हँसाउँछ ।
यो असारे लोकगीतको एक अंश हो । यहाँ असार र अल्लारे जोवन वा युवा उमेर एक पटक आउने र यसको सदुपयोग हुने दुनियाँलाई खुसी दिने विचार व्यक्त छ । त्यसैले असारको महत्त्व छ । यो महिनाहरूमध्ये बैँसालु महिना हो ।
असार प्रमुख धानबाली लगाउने महिना विशेष हो । यस महिनामा किसानले कठोर श्रम गरेर नै परिवार र समाजको भोक मेटिरहेका हुन्छन् । यस पर्वसँग अनेक लोकविश्वास, संस्कृति र परम्पराहरू रहेका छन् । असारमा गाइने अनेक लोकगीतहरू छन् । असारमा खाइने विशेष परिकारहरू छन् । मकै वा वर्खे धान थन्क्याएर असारमा रोपाइँ गरिने भएकाले यो असाध्यै व्यस्तताको समय पनि हो । बेठीबाजासँगै रोपाइँ गरिने र रमाइला नाचगान पनि गरिने हुँदा यो महिना सांस्कृतिक दृष्टिले पनि त्यत्तिकै महत्त्वपूर्ण छ । एकता र सद्भावका दृष्टिले पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।
असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । सम्भवतः यो पहिला पहिला किसानले रोपाइँ सकेका दिन वा बेठी लगाएका दिन खाने चलन बसाएका थिए । त्यस दिनको रामाइलोलाई जीवन्त राख्न असार १५ निर्धारण गरियो । लोकसमाजमा भने यस दिन रोपाइँ गरी दही चिउरा खानाले गति पर्ने (शुभ हुने) विश्वास छ । तर यसको वैज्ञानिक अर्थ पनि छ । दही, केरा चिउरा गर्मीयाममा श्रम गर्ने मान्छेका लागि अरू भन्दा पोसिलो र राम्रो खानेकुरा हो । दही चिहुरा लामो समय पेटमा रहने र पोषण दिने खाद्य वस्तु हुन् । माछामासु र अन्य पोषिला खानेकुरा नभएको समाजमा दही चिउरा र केरा महत्वपूर्ण र पोषिलो खाद्यय परिकार हो ।
रोपाइँसँग रमाइला खेल र संस्कृतिक पक्ष पनि रहेका छन् । हिलो छ्यापेर रमाइलो गर्ने, बाउसे र रोपाहार एवम् हलीका बिच दोहोरी चल्ने, बेठी बाजा बजाएर नाच्तै र बाजाका तालमा खन्दै र रोप्तै रोपाइँ गर्ने लोकसंस्कृति पनि असारसँग जोडिएको छ । यहाँ खेतका मालिकलाई हिलामा चोबलेर खले गरामा भकारी बाँध्ने, सकेसम्म खेतका मालिकले मिठो मसिनो खुवाउने संस्कृति पनि छ । रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्काे आकर्षण हो । मनसुन सुरू भएपछि असारको पहिलो सातादेखि असार १५ सम्म –कतिपय ठाउँमा साउन १५ सम्म पनि ) खेत÷ गह्रामा लाठे र रोपाहारहरू असारे गीतको भाका गाउँदै रोपाइँ गर्दछन् । त्यो बेला लाठे र बाउसेहरूलाई आली लाउने र बाउसे गरेर मेलो बनाउने चटारो हुन्छ । भने रोपाहारहरू ब्याडमा बीउ काट्न, पखाल्न र मेलो पैट्याउन जुट्छन् । । सबै जना आआफ्नो जिम्मेवारी मिसिनझैँ खटेर पूरा गरिरहेका हुन्छन् यो दृश्य अवलोकन गर्ने जोकसैले यसको महत्त्वसँगै रमाइलो पनि अनुभूत गर्न सक्छ । वास्तवमै असारको कृषिकर्मको शैली र परम्परा साँच्चै रमाइलो पनि रहेको छ ।
उचित सिँचाइ सुविधाको अभाव, पानीको संरक्षणको अभाव आदि कारण मनसुन सुरु हुनासाथ साता–पन्ध्र दिनदेखि महिनादिनभित्र काम गरेर वर्षभर खाने बाली लगाउन नेपालका किसानहरूलाई चटारो पर्छ । असारभित्र रोपाइँ गरिएन भने धानको रोपो सप्रँदैन र समयमा पाक्तैन भन्ने चिन्ताले किसानलाई पिरोल्न थाल्छ । त्यसैले यस विचमा किसानहरूलाई कामको चाप पर्न जान्छ । त्यस चापको मध्यभागमा असार पन्ध्र आउँछ । त्यसालई राज्यले धान दिवसका रूपमा मनाउँछ तर त्यस दिवसमा किसान उति लाभान्वित बन्न सकिरहेका छैनन् । नेता र समाजका अगुवाहरू बिउको माला लगाएर मञ्चमा भाषण गरेर र गमलामा धान रोपेर यस पर्वको बेइजत गरिरहेका छन् । वास्तवमा यो पर्वलाई कृषिव्यसनीहरूको कर्म बनाउन आवश्यक छ । दहीचिउरालाई असार पन्ध्रको मात्र होइन गर्मीयामभरिको खाना वा खाजा बनाउन र कृषिकर्मलाई नवपुस्तासँग नयाँ प्रविधिका साथ जोड्न आवश्यक छ ।
असारमा मलाम नगएर रोपाइँगर्नु भन्ने उखानै छ । ‘लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नु पर्छ’ भन्ने बूढापाकाको भनाइले यो महिना किसानका लागि असाध्यै महत्त्वको महिना हो । वास्तवमा यस महिनामा नरोपे वर्षभरि भोकै पर्न सकिने सम्भावना रहन्छ । नेपाल जस्तो मुलुकमा असार र धानखेतीको महत्त्व कृषिकर्म मात्र होइन सामाजिक, धार्मिक र सांस्कृतिक र वैज्ञानिक पक्षसँग पनि निकट छ । सांस्कृतिक दृष्टिले यो कृषिपूजक किसानहरूको विशेष कर्मोउत्सवको समय हो । उनीहरू रोपाइँको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण–भरिपूर्णका लागि अन्नपूर्णाको आराधना गरी रोपाइँको श्रीगणेश गर्दछन् । गाउँघरमा पालैपालो अर्मपर्म गरेर रोपाइँ गर्छन् । यहाँ आफ्नो मात्र सक्नु भन्ने हुँदैन । सबै गाउँको खेत कसरी रोपिसक्ने भन्ने चिन्ताका साङ्लामा सबै जोडिएका हुन्छन् । धान रोपिसकेर मैजारो खाने चलन पनि छ । यस कारण असारले सामाजिक एकता र सद्भावका सूत्रमा पनि समाजलाई बाँधेको छ । रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल वा केही उपहार बाँड्ने पनि प्रचलन छ । आज नयाँ पुस्ता कृषिबाट विमुख हुँदै जाँदा ती प्रचलन हराउने चिन्ता बढिरहेको छ ।
असारले मानिसलाई सिर्जनशील, परिश्रमी र एकताको सन्देश दिएको छ । रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दही चिउरा खाने प्रचलन रहेको हुनुपर्छ । मिलेर काम गरे धेरै र छिटै काम हुने भएकाले एउटा खेतमा एकैचोटि रोपाइँ सक्ने चलन बसेको हुनुपर्छ । अर्मपर्म सरसहयोगको विकास यहीबाट भएको हुनुपर्छ । मानिसले प्रकृतिअनुसार चल्न सक्नुपर्छ भन्ने कुरालाई मनसुनको भेलछोपेर धान रोप्ने प्रचनले सिकाएको हुनुपर्छ । प्रायः सबै किसानका घरमा गाईभैंसी पालिने, दही, मोही र घिउ हुने हुँदा दहीमोही र अन्नलाई नै असार पन्ध्रको खान्की बनाइएको हुनुपर्छ । यी विविध पक्षसँग जोडिएका अनेक लोककथा, लोककविता र लोकगीतहरू नेपाली समाजमा जीवन्त छन् । त्यसैले असार परिश्रम र सिर्जनाको महिना हो ।
-डा. रमेश शुभेच्छु