हामी नेपाली साहित्यका इतिहासमा लेखनाथ पौड्याललाई पहिलोपटक सार्वजनिक अभिनन्दन गरेको इतिहास पढ्छौँ । यस विषयमा विभिन्न ठाउँमा विभिन्न चर्चा भएका छन् । यस दृष्टिले नेपाली साहित्य परम्परामा यही सम्मान वा अनिनन्दनलाई पहिलो साहित्यिक सम्मन–अभिनन्दन मान्नु सान्दर्भिक हुन्छ । त्यो अभिनन्दन कहिले कसरी भएको थियो ? त्यस अभिनन्दन समारोहमा कस कसले के भूमिका निर्वाह गरेका थिए ? त्यस समारोहमा अर्पण गरिएको सम्मानपत्र कस्तो थियो आदि जिज्ञासा रहनु स्वभाविकै हो । त्यसमा पनि त्यस सम्मान समारोहअगाडि गरिएको रथारोहणमा देशका तत्कालीन प्रधानमन्त्रीले पनि लेखनाथ चढेको रथ तानेका थिए भनिन्छ । यस अर्थमा लेखनाथ पौडेलको अभिनन्दन समारोह नेपाली साहित्यलाई सम्मानित र प्रतिष्ठित तुल्याउने कार्यको थालनी पनि हो ।
लेखनाथ पौड्यालमा अर्पण गरिएको सम्मानपत्रको भाषा कस्तो थियो ? त्यस बेला नेपाली समाजले सम्मान–अभिनन्दनलाई कसरी बुझ्थ्यो भन्ने प्रमाण लेखनाथको सार्वजनिक अभिनन्दनलाई र त्यस बेला लेखनाथमा अर्पण गरिएको अभिनन्दन पत्रलाई नै आधार मानेर बुझ्न सकिन्छ । होला त्यसपूर्व शासकहरुको सार्वजनिक अभिनन्दन हुन्थ्यो होला, उनीहरुमा कुनै त्यस्ता सम्मान पत्र, अभिनन्दनपत्र, प्रसस्तिपत्र बुझाइन्थे होला तर साहित्यकारलाई त्यस्ता पत्र दिइएको र सम्मान–अभिनन्दन गरिएको पाइँदैन । लेखनाथमा अर्पण गरिएको सम्मानपत्र नै फेला पर्छ ।
भर्खरै लेखनाथ पौडेलमा अर्पण गरिएको अभिनन्दनपत्र फेला परेको छ । त्यसमा प्रयोग भएको भाषामा सम्मानपत्रलाई ‘अर्चना–पत्र’ भनिएको छ । त्यसमा लेखिएको छ : ‘नेपाली साहित्य मा लालित्य भरेर नयाँ शैली सृष्टि गर्ने हे पथ प्रदर्शक ! सुन्दर भविष्य को कल्पना द्वारा वर्तमान साहित्य को अभिसिंचन गर्ने हे साहित्यिक तपस्वी ! भाषा को कलिलो रूप लाई नयाँ पेटे भोटो पैर्याई आधुनिकता को शंख फुक्ने हे प्रगतिप्रेमी वयोवृद्ध कवि शिरोमणि लेखनाथ ! आज तपाईं को समारोह ले भावना मा नयाँ चेतना थपि रहेछ; तपाईं को संकल्प स्वरुप ले हामी मा यौवन ल्याइरहेछ ।।’
उक्त अभिव्यक्ति त्यस प्रसस्तिपत्रको पहिलो अनुच्छेद हो । यस अनुच्छेदमा लेखनाथको तत्कालीन योगदानलाई देखाइएको छ । उनले गरेको साहित्यिक योगदानलाई पेटेभोटो र आधुनिक युगको सूत्रपातका रुपमा आदर गरिएको छ । उनको साधनालाई अरुका लागि उर्जाका रुपमा चिनाइएको छ । अभिनन्दन पत्रको दोस्रो अनुच्छेदमा भनिएको छ : ‘तपाईंको साहित्यिक देन र प्रेरकक–साधना को अगाडि यद्यपि हाम्रो कार्य नगन्य छ, फेरि पनि हामी दृढ प्रतिज्ञ छौं –आगामी वर्ष अभिनन्दन ग्रन्थ पनि भेट चढाउने छौं !’
माथिको अभिव्यक्तिमा लेखनाथलाई तत्कालीन समयका सबैभन्दा समर्थ कविका रुपमा चिनाउँदै उनका नाममा अभिनन्दन ग्रन्थ पनि प्रकाशन हुने र अर्को जन्मोत्सव वा यस्तै समारोहमा चढाइने प्रतिबद्धता छ । जुन भनाई स्वाभाविक लाग्छ । अभिनन्दन पात्रको अन्तिम अनुच्छेदमा भनिएको छ –‘हामि (मी) संकल्प गर्द छौं तपाईं को नेतृत्वमा उठे को साहित्य को पवित्र मन्दिर हामी ईंट थपी सधैँ उच्याइ राखने छौं !!’
माथिको अभिव्यक्तिमा लेखनाथको योगदान अनुकरणीय रहेको र त्यसमा तत्कालीन र नवपुस्ता लागि पर्ने प्रतिबद्धता छ । यस प्रतिबद्धताले नै नेपाली साहित्यले आजको समृद्धि हासिल गरेको आभाष यो अभिनन्दन पात्र पढिरहँदा हुन्छ । यसका पुछारमा ‘अध्यक्ष लेखनाथ अभिनन्दन समिति, पौष शुक्ल २०११, २० पौष ०११, काठमाडौँ, नेपाल’ लेखिएको छ । अध्यक्ष लेखिएको नजिकै देब्रेपटि सिद्धिचरण श्रेष्ठको हस्ताक्षर छ । यो पढिरहँदा हाम्रा अग्रजमा रहेको गुणग्राही स्वभाव पढ्न पाउँछौँ । यहाँ भाषावैज्ञानिक अध्यताहरुलाई पनि प्रशस्त सामग्री छ । यहाँ पूर्णविरामका सट्टा विस्मयादिबोधक पदहरु प्रशस्त प्रयोग भएका छन् । प्रत्येक अक्षर अलग अलग छन् । विभक्तिलाई कतै पनि जोडिएको छैन । अल्पविराम र अद्र्धविरामको प्रयोग अर्थपूर्ण छ । भषार्ला आदर र अर्चनामूलक बनाइएको छ । मिति लेख्ने खास शैली वा विधिको प्रयोग भएको छ । यसले एकातिर नेपाली भषामा पदयोग र वियोगका नियम पछि विकास भएको देखिन्छ भने विभक्तिको योग गरी लेख्ने परम्परा पछि विकास भएको थाहा पाइन्छ । अरु पनि भाषिक दृष्टिले अध्ययन गर्न सकिने ठाउँ छन् । सम्भवत: आज विकास भएको हाम्रो अभिनन्दन, सम्मान भाषाको गद्यको उच्च नमुना यही होला । हामी आजको सम्मान– अभिनन्दन पत्र र यसलाई तुलनात्मक रुपमा अध्ययन विश्लेषण गर्न सक्छौँ । हाम्रो भषा साहित्यका विकासका लागि यस्ता अनेक दस्तावेजहरू इतिहासको गर्भमा हराइरहेका छन् । यो सम्मानपत्र प्राप्त गरेका सात दशकपछि लेखनाथ पौडेलमा पुन: श्रद्धासुमन ।
-डा. रमेश शुभेच्छु