शिशिर भट्टराई युवा पुस्ताका सक्रिय स्रष्टा हुन् । उनको कलम कविता र गजल विधामा जम्दै आएको छ । उनको परिचय अघिल्ला शृङ्खलामा समेटिइसकेको हुँदा यहाँ उनको सारभूत परिचयसहित एउटा गजल रचना समेटिएको छ । यसले अभाव गस्त गरिवीले घेरेको परिवारका समस्यालाई र वृद्धावस्थाका समस्यालाई समेटेको छ । -सम्पा. |
चुहिरहन्छ घरको धुरी कसले बुझिदिन्छ ?
चल्छ मनमा आँधीहुरी कसले बुझिदिन्छ ?
सिङ्गै विश्व अटेको छ मेरो कुर्कुच्चामा,
मेरै पाथी तिम्रो मुरी कसले बुझिदिन्छ ?
यौटा छोरो खाडीमा छ छोरी मुम्बैमा छे,
बस्छु आफू पिँढी कुरी कसले बुझिदिन्छ ?
बनेको छ खेत बगर बन्दकी छ बारी,
साहू हेर्छन् घुरीघुरी कसले बुझिदिन्छ ?
मचैँ सारा दुनियाँको दुःख बोक्दै हिँड्छु,
तिम्रोचाहिँ चुरिफुरी कसले बुझिदिन्छ ?