घनश्याम न्यौपाने परिश्रमी बहुमुखी साहित्यिक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा लघुकथा समेटिएको छ । आजका श्रवणकुमार लघुकथाले शिक्षा चेतनाले सम्पन्न व्यक्तिहरू पनि आफ्ना अभिभावकप्रति जिम्मेवार बन्न नसकेको पक्ष उजागर गरेको छ ।
-सम्पा. |
कविजी, यस सहरमा अलि राम्रो ज्येष्ठ नागरिक आश्रम कुन चाहिँ होला? एकजना साहित्यप्रेमी प्राध्यापकले मसँग सोधे । राम्रो ज्येष्ठ नागरिक आश्रमका लागि त यो सहरभन्दा अलि पर जानुपर्छ । तर किन सोध्नुभएको तपाईंले ? मैले प्रतिप्रश्न गरेँ । मलाई उत्तर दिने क्रममा प्राध्यापक महोदयले भने,- बाआमा दुवै जना पचासी छयासी वर्षका भइसक्नुभयो । गाउँमा उहाँहरूलाई राम्रोसँग रेखदेख गर्ने कोही छैनन् । भाइको परिवार त छ त्यहाँ । तर खासै वास्ता गर्दैनन् । कहिलेकाहीँ घरमा जाँदा उहाँहरूको अवस्था जब देख्छु, मेरो मन द्रवित हुन थाल्छ । अनायासै आँखा रसाउँछन् ।
प्राध्यापक महोदय बोल्दाबोल्दै बिचैमा मैले पुनः जिज्ञासा राख्दै सोधेँ- तपाईंको त यहाँ सहरमा नै बिल्डिङ छ नि ठुलो, होइन र? यहीँ ल्याएर राख्दा हुँदैन र ?
के गर्नु कविजी, उनी बोल्न थाले- बिल्डिङ त ठुलै छ नि, तर दुई वटा तलाका फ्ल्याट भाडामा गएका छन् । माथिल्लो तलाका कोठाहरू हामी परिवारलाई नै ठिक्क! ल्याएर कहाँ राख्नु ? फेरि आफ्नै घरमा राख्दा कसले रेखदेख गर्ने ? समस्या छ नि, त्यसैले त आश्रम खाेजेको ।
ए, ए, बुझेँ हजुर ! मैले टाउको हल्लाउँदै भनेँ ।अनि देवीघाट स्थित ज्येष्ठ नागरिक आश्रमबारे जानकारी गराएँ । आभारी भएजस्तो गर्दै मलाई धन्यवाद दिए प्राध्यापक महोदयले ।
मैले मनमनै भनेँ- धन्य, आजका श्रवणकुमार !