नेपाल प्रज्ञा–प्रतिष्ठानमा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी भइरहेको छ । बुधबार ३० चैत २०७८ बाट प्रज्ञा भवनमा ‘नयाँ वर्षमा नयाँ पुस्तक’ भन्ने सन्देशका साथ प्रदर्शनी भइरहेको हो ।
पहिलो दिन प्रदर्शनीको अवलोकन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पठन संस्कृति विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनी गरिएको बताए । ‘यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिकाहरू एकै ठाउँमा उपलब्ध हुनेछन्’, उनले भने, ‘यसकारण पनि प्रज्ञाको पुस्तक प्रदर्शनीको विशेष महत्त्व छ ।’
पुस्तक प्रदर्शनी आरम्भ कार्यक्रममा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञपरिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र डा. देवी नेपालको उपस्थिति रहेको थियो ।
दुई हप्तासम्म चल्ने प्रदर्शनी प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्त रूपमा आयोजना गरेका हुन् । प्रदर्शनीमा प्रज्ञासहित साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूसमेत उपलब्ध छन् । सार्वजनिक बिदाका दिनमा समेत पुस्तक प्रदर्शनी सञ्चालन हुनेछ ।
प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।