हाम्रा सामु विक्रम संवत्को नयाँ वर्षले पाइला टेकेको छ । नेपाली नववर्षले नयाँ पात्रो पल्टाएको छ । आजकै दिनदेखि हामी २०७९ सालमा प्रवेश गरेका छौँ । यस वर्षले सबैमा हाँसो खुसी र उमङ्ग ल्याउन सकोस् । लेखक, प्रकाशक, पाठक साहित्यानुरागी सबैका मनोकांक्षा पूर्ण बनून् । स्वदेश विदेश रहनुहुने सबै दाजुभाइ दिदीबहिनीहरूका जीवनमा शुख शान्ति र समृद्धि आओस् । सम्पूर्ण शुभचिन्तकका शुभकामनाले हामी पनि निरन्तर आफ्नो प्रकाशनलाई अगाडि बढाउन सकौँ ।
नववर्षका दिन नियमित लेख रचना सम्प्रेषण गर्ने लेखक र पत्रिका पढिरहनुहुने पाठकलाई यति शुभकामना व्यक्त गरिरहँदा नेपाली भषा साहित्यका क्षेत्रमा बिर्सनै नसकिने पीडाहरू पनि छन् । ती पीडा पुरिनसक्ना छन् । २०७८ सालको अधिकांश समय कोरोना महामारीको समयका रूपमा गुज्रियो । त्यसका चपेटामा परेर र अन्य विभिन्न रोगले हामीले एकै वर्ष धेरै साहित्यकारहरू गुमाउनु पर्यो । यति धेरै साहित्यकारको एकै वर्ष निधन भएको आँकडा यसभन्दा अगाडि कहिलै थिएन ।
नेपाली साहित्य जगत्ले गत बर्ष मत्र दर्जनौँ श्रष्टाहरू गुमाउनु पर्यो । अकालमै श्यामदाश वैष्णव, राजेन्द्र सुवेदी, तरानाथ शर्मा,चेतन कार्की, माधव भँडारी, आनन्ददेव भट्ट, मोतीलाल पराजुली, प्रचण्ड मल्ल, शेषराज आचार्य, तेजराज खतिवडा, विजय बजिमय, विष्णुगोपाल रिसाल, वानिरा गिरी, भीम दाहाल, द्वारिका नेपाल, इन्द्र माली, जनकलाल बैद्य, जीवनचन्द्र कोइराला, कमला राई, कविराज पोखरेल, लक्ष्मण राजवंशी, लक्ष्मण राजवंशी, लक्ष्मण नेवा, नरमेन्द्र लामा, नीलकण्ठ भट्टराई, ओमवीरसिंह बस्न्यात, प्रचण्ड मल्ल, रामप्रसाद चापागाईं, पूर्ण वैद्य, साफल्य अमात्य, मोहनकाजी नेवा, एकराज भण्डारी, चन्द्र प्रभात जस्ता होनहार प्रतिभाहरू गुमाउनु पर्यो । साहित्यका प्रायः सबै विधामा कलम चलाइरहेका यतिका स्रष्टाहरूको एकै वर्ष निधन हुनु नेपाली साहित्यका लागि बिर्सन नसकिने पीडा हो । यस क्षेत्रको अपूरणीय क्षति हो ।
हामी २०७९ सालमा यस बिर्सन नसकिने पीडालाई बिर्सिएर अगाडि बढ्न सकौँ । कोभिड र विभिन्न कारणबाट दिवङ्गत स्रष्टाका अधुरा अपूरा सपनालाई पूरा गर्दै उहाँहरूका पाइला पछ्याउन सकौँ । उहाँहरूले नेपाली साहित्य जगत्मा छोडेका पाइला पछ्याउन सकौँ । आखिर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्छन् । सिर्जनाका क्षेत्रमा पनि ससाना उज्याला पहिल्याउन सकौँ । पुनः नववर्षको शुभकामना ।
-डा. रमेश शुभेच्छु, सम्पा.