केही साहित्यिक मित्रहरू चिया गफमा मलाई फल्नाले यसो गर्यो अनि यो कविता कथा, निबन्ध, लघुकथा आदि लेखिदिएँ भन्छन् । कोही एकाएक ‘फुरेर’ लेख्छु भन्छन् । यसको प्रभावमा उसको प्रभावमा लेखेँ भन्छन् । यी कुराले ‘काव्य हेतु’लाई सम्झाउँछ । पूर्वीय आचार्य राजशेखर र अन्य आचार्यहरूले प्रतिभा अभ्यास र व्युत्पत्तिको चर्चा गरेका छन् । यो चर्चा निकै अर्थपूर्ण र वैज्ञानिक पनि छ । प्रतिभाका बारे यसै भन्न सकिँदैन । वैज्ञानिक दृष्टिले व्युत्पत्ति शक्तिशाली छ । पढेर, बुझेर, सूत्र थाहा पाएर, गुरु सङ्गत गरेर, कसैको रचनाबाट केही पङ्क्ति लिएर आफ्ना पङ्क्तिले छेकबार लगाएर व्युत्पत्तिमूलक लेखन हुन्छ । माधव घिमिरेसँग प्रतिभा थियो नै । उनले प्रतिभा भन्दा व्युत्पत्ति र त्यो भन्दा बढी अभ्यासलाई महत्त्व दिए । अभ्यासमा डुबेर डुबेर डुबेर डुबेर र डुबेर मात्र कविता वा नाटक लेखिने कुरा गरे । उनले व्यवहार पनि त्यस्तै गरे । दशकौँ दशकपछि बल्ल बल्ल चैत–वैशाख शीर्षकको कविता छापे । उनको महाकाव्य बनाउँदा बनाउँदै जीवन कालमा छापिएन । उनमा पनि कालिदास र लेखनाथ पौडेलको छाप भने थियो । उनले ती प्रभावलाई अभ्यास र अभ्यासले मौलिक बनाइदिए । वास्तविक साधनाको अर्थ प्रस्तुत गरे ।
साहित्यिक माहोलमा पच्चिस वर्षमुनिको उमेरमा कविता लेख्ने, प्रेम असफल भएपछि कलम चलाउने, सङ्गतले कविता रच्ने, प्रेममा परेपछि कथा, गीतिकथा र कविता लेख्ने लेखक प्रशस्त भेटिएका छन् । बढी सङ्गत र कोही अभ्यासले स्थापित बनेका पक्ष यत्रतत्र पाइन्छ । बाल्य कालमै गीतको अर्थ नबुझी गाउँने, कविताको क थाहा नपाई केही लेख्ने, गीतको अर्थ नबुझी र नृत्यकलाका क पनि नसिकी बाजाका तालमा नाच्ने, आँगार र खरीले भित्तामा चित्र कोर्ने बालबालिकामा प्रतिभा छ जस्तो लाग्छ । बाल उमेर वैज्ञानिक दृष्टिले जुन सङ्गतमा पुर्यायो त्यस्तै बन्ने उमेर अवश्य हो । राजशेखरकाअनुसार— प्रतिभा जन्मजात पनि हुन्छ । लिही घोटेर आएको पनि हुन सक्छ । अथवा कसैको वा शास्त्रको उपदेशबाट ‘प्रेरित’ भएर आएको पनि हुन सक्छ । प्रायः अन्तरवार्तामा कसको प्रेरणाले साहित्यमा लाग्नुभयो ? कसको प्रेरणाले सङ्गीत वा कलाकारितातिर लाग्नुभयो ? वास्तवमा प्रतिभाले पुग्ने भए कसैको प्रेरणा चाहिँदैन । प्रेरणा चाहिँ प्रतिभा भन्दा पनि बलियो देखिन्छ । धेरैले कुनै न कुनै प्रेरणा बताएकै छन् ।
साहित्य सङ्गीत र कलाका क्षेत्रमा प्रतिभा अमूर्त पक्ष हो । व्युत्पत्ति र अभ्यास मूर्त र वैज्ञानिक पक्ष पनि हो । प्रशिक्षण, अध्ययन, खोज, अभ्यास पुनः अभ्यास, प्रभावको न्युनीकरण मूल पक्षहरू हुन् । यी पक्षले बिस्तारै व्यक्तिको प्रतिभा सामर्थ्य विकास गर्दै लैजान्छ । लेखन गम्भीर बौद्धिक साधना भएकाले यसमा प्रतिभाको मूल मात्र प्रयाप्त हुँदैन । त्यसमा चेतना, अभ्यास र त्यतिकै शिल्प सामर्थ्य हुनुपर्छ । प्रतिभामा विश्वास गर्ने पूर्वीय काव्य परम्परामा पनि कठोर अभ्यासका र गुरुसङ्गतका पक्षहरू प्रशस्त पाइन्छन् । अर्जुनको धनुर्धर सामर्थ्य पनि अभ्यास र गुरुसङ्गत हो र एकलव्यको सफलता पनि गुरु प्रभाव र कठोर अभ्यास हो । बाल्मीकि पनि लामो समय एकान्त साधना गरेका छन् । व्यासले पनि साधना गरेका र गणेशको साथ लिएका छन् । यी मिथकले पनि अभ्यासलाई नै देखाउँछन् । एक किसिम साहित्य मात्र होइन हाम्रो जीवनयात्रा नै प्रभाव र अभ्यासबाट समृद्ध हुँदै हुन्छ । अभ्यास र साधनाबिना प्रतिभा मात्र छ भनेर कला साहित्यका क्षेत्रमा सफलता पाउन सकिन्नँ । साहित्यमा त सकिँदैसकिँदैन । सफलताको एउटा मात्र बाटो हो आंशिक प्रभाव र निरन्तर एकलव्य साधना, साधना, साधना र साधना । साधनाले पूर्ण भएको देवकोटाको कलम एकै रातमा कुञ्जिनी पनि लेख्छ, दशै दिनमा सुलोचना पनि लेख्छ । त्यो अभ्यासको प्रतिफलन हो ।
-सम्पादक