पछिल्लो समय किशोर पुस्तामा पुस्तक पढ्ने बानिको विकास हुँदै गएको छ । किशोर पुस्ताले स्कुल-कलेजका किताबबाहेक नेपाली साहित्य (खास गरेर उपन्यास) पढ्न थालेका छन् ।
किशोर मनोविज्ञानमा लेखिएका समर लभ, साया, गुलाबी उमेरजस्ता उपन्यासहरूले जबरजस्त पाठक समूह तयार पारेको मानिएको छ ।समर लभ र साया उपन्यासका लेखक सुविन भट्टराई नेपाली साहित्य पढ्ने किशोर पुस्ताको ठूलो जमात रहेको बताउँछन् । यो समूहको मनोविज्ञान र रुचि अनुसारका पुस्तक भने बजारमा निकै कम रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘नेपाली साहित्यका किशोर पाठकको गतिलो उपस्थिति भए पनि उनीहरुको मनोविज्ञान र रुचिअनुसार कमै किताब लेखिएका छन् ।’
किशोर पुस्ताले प्राय: प्रेम, अपराध, थ्रिलर र विज्ञानका कल्पित कथाका साथै प्रेरक, दार्शनिक र अध्यात्मिक विषयवस्तु मन पराउँछन् । ‘यस्ता विषयमा नेपाली साहित्य लेखन कमै भएको छ’ भट्टराई भन्छन्, ‘किशोर र युवा पुस्तालाई आकर्षण गर्ने गरी धेरै विधामा लेखिन जरुरी छ ।’
किशोर र युवा पुस्ताका लागि नेपाली साहित्य बामे सरिरहेको भट्टराईको तर्क छ । लेखनमा विविधता ल्याउन नसक्दा नेपाली साहित्यका पाठकको दायरा विस्तार हुन नसकेको उनले बताए । ‘नेपालीमा प्रेम, अपराध, थ्रिलर, विज्ञान आदी फिक्सन लेखन कमजोर हुँदा किशोर र युवा पाठकले अंग्रेजीमा किताबबाट त्यसको भोक मेटिरहेका छन’, भट्टराई भन्छन् ।
नेपाली किशोर साहित्यले नवीनतम शैली र विषयवस्तुहरू ल्याउन नसक्दा साहित्यको बजार विस्तारमा ढिलाइ भएको र पछाडि परेको उनी बताउँँछन् । राम्रो कथावस्तुलाई आफ्नै शैलीमा पाठक केन्द्रित भई लेख्दा किशोर पाठकले रुचाएको उनको अनुभव छ ।
किशोर र युवा पाठक लक्षित समर लभ, साया, मनसुन, प्रिय सुफी उपन्यास लेखेर लोकप्रिय बनेका भट्टराई राम्रो भए जुनसुकै विधाका कितावले मनग्गे पाठक पाउने बताउँछन् । नेपाली लेखकले नयाँ-नयाँ विषयवस्तुमा कलम चलाउने जोखिम मोल्नुपर्ने उनले बताए ।
गुलाबी उमेर उपन्यास लेखेर युवा पाठकमाझ पनि लोकप्रिय बनेका अमर न्यौपाने किशोर वा युवा पुस्तामा अनेकन सपनाका बिउ हुने बताउँछन् । ‘ती सपना पूरा गर्न संघर्ष गर्नुपर्छ । संघर्ष गर्दा दुःख हुन्छ । दुःख गरेपछि सफल भइने सोच छ’ उनी भन्छन्, ‘पुस्तकको पात्रमा आफूलाई पाउने, महसुस हुने जुनसुकै पुस्तक युवा र किशोर पुस्ताले मन पराउँछन् ।’
उपन्यासको विषयवस्तु र कथामा जति धेरै सघर्ष, तनाव, पीडा र दुःख भए पनि अन्त्यमा खुसी, सुख वा आशाको दियो बाल्ने पुस्तकप्रति किशोरपुस्ता बढी आकर्षित हुने न्यौपाने बताउँछन् ।
युवा सपना, त्यो सपना पूरा गर्न गरेको संघर्ष, जिन्दगी सफल बनाउने सुत्रहरु रहेको प्रेरक पुस्तकहरू अधिक रुचाइने न्यौपाने बताउँछन् । ‘कथामा कहीँ न कहीँ आफूलाई पाउने पुस्तकले पाठकलाई रिझाउँछ’ उनी भन्छन्, ‘लेखकले पाठकलाई पुस्तकका विषयवस्तुभित्र हराउने गरी लेख्न सक्नुपर्छ ।’
नेपाली किशोर र युवा पुस्ताका लागि बजारमा साहित्यका पुस्तकको संख्या बढिरहेको न्यौपाने बताउँछन् । उपलब्ध पुस्तकमा विविधताको भने कमी रहेको उनको अनुभव छ । बजारमा एकै संरचना र लेखन शैलीका पुस्तक बढी पाइने बताउँदै उनले बढ्दो पाठकलाई त्यही अनुसार विकल्प चाहिने बताए ।
अहिलेका किशोर र युवा पुस्ता इन्टरनेटमा अभ्यस्त छन् । यसले गर्दा पाठकको धैर्यमा कमी आएको न्यौपानेको अनुभव छ । आफ्नै मनोगत गन्थन लेखेर त्यस्ता पाठकलाई पुस्तक किन्न र पढ्न बाध्य पार्न नसकिने उनी बताउँछन् ।
उनका अनुसार, पुस्तकले कसैलाई भोगेका, देखेका कुरा स्मरण गराई विगतमा फर्काउँछ भने कसैलाई भविष्यप्रति कल्पनाशील र स्वप्नील बनाउँछ । ‘किशोर वा युवा पुस्ता आफैंमा तरल र कल्पनाशील हुन्छ’ न्यौपाने भन्छन्, ‘उनीहरूले आफैंलाई भेट्ने साहित्य वा उपन्यासहरूको हामीकहाँ कमी नै छ ।’