हामी जुनसुकै पश्चिमी ज्ञानका विषय पढ्दा सुकरात प्लेटो र अरस्तुबाट आरम्भ भएको पाउँछौँ । उनीहरू नै कसरी ज्ञानका सर्वप्राचीन स्रोत बने ? के उनीहरूपूर्व कुनै ज्ञानको विकास भएको थिएन ? कुनै त्यस्तो दर्शनको शाखा थिएन ? थियो भने उनीहरूपूर्वको ज्ञानको परम्परा के हो ? ती पक्षको खोजले पूर्वीय दर्शनका पनि वैदिक र त्यसपूर्वका समेत दर्शनको खोजमा अध्येताहरूलाई अभिप्रेरित गर्दछ । ज्ञानको क्षितिज अझ फराकिलो बन्न सक्छ ।
पाश्चात्य दर्शनका प्रायः अध्ययन सुकरातसँग जोडिएर आउँछन् । खोजहरूले ई.पू. ६२४ देखि सुकरात (ई.पू. ४७०–३९९) भन्दा पहिले पनि विभिन्न ज्ञान एवम् दर्शन सम्प्रदाय अस्तित्त्वमा भएको पहिल्याएका छन् । तिनको व्यवस्थित अभिलेखन मात्र नभएको भन्ने धेरैको बुझाइ छ ।
जानकारहरूका अनुसार सुकरातपूर्व पाश्चात्य दर्शनका क्षेत्रमा आयोनियन सम्प्रदाय जीवन्त थियो भनिन्छ । अर्को पाइथागोरियन सम्प्रदाय पनि थियो भनिन्छ । त्यस्तै अर्को इलियाई सम्प्रदाय पनि थियो भनिन्छ । कतिपय विद्वान्ले बहुत्त्ववादी सम्प्रदाय र परमाणुवादी सम्प्रदायको चर्चा पनि गरेका छन् भने कतिपयले सोफिस्ट सम्प्रदायको चर्चा गरेका छन् । उनका चर्चाबाट सुकरातपूर्व विविध सम्प्रदाय विद्यमान थिए भन्ने बुझिन्छ ।
पाश्चात्य दर्शनका उक्त आयोनियन, इलियाई, बहुत्त्ववादी, परमाणुवादी, सोफिस्ट आदि पूर्ववर्ती सम्प्रदायबाट प्रशस्त प्रभाव र प्रेरणा लिएर सुकरातले पाश्चात्य दर्शनलाई अभिलेखन गरेको देखिन्छ । त्यसो हुँदाहुँदै पनि अध्येताहरू बढी सुकरातमै केन्द्रित छन् । त्यसपूर्वका दर्शनलाई बुझ्ने भाषाको अभाव, तिनको अभिलेखनको अभाव त्यसको मूल कारण हुन सक्छ ।
सुकरातको गुरु परम्परालाई हेर्दा उनीपूर्व नै पश्चिममा अध्यात्मवादी र भौतिकवादी दुवै दर्शनको विकास भएको हुनुपर्छ । त्यस पक्षलाई सुकरातको चिन्तनबाट अनुमान लगाउन सकिन्छ । हेगेलको द्वन्द्ववादको कुनै पूर्वस्रोत अवश्य छ । त्यसलाई कार्ल माक्र्सले जीवन्त र समयसापेक्ष बनाएर प्रस्तुत गरे । सूक्ष्म दृष्टिले हे¥यो भने त्यसको प्राचीन तर निकै गहन र व्यवस्थित रूप हेराक्लाइटसका दर्शनमा भेटिन्छ ।
पाश्चात्य वा पूर्वीय दुवै क्षेत्रका दर्शनहरू गुरुशिष्य परम्परामा अगाडि बढेका छन् । पाश्चात्य दर्शनको गुरुशिष्य परम्परा निकै उल्लेख्य बनेको छ । सुकरात, प्लेटो र अरस्तु, हेगेल र माक्र्स यसका प्रारम्भिक उदाहरण हुन् । उनीहरूले ज्ञानका अन्य शाखासँगै मूलतः गुरुशिष्य परम्पराबाट दर्शनका नवीन आयामलाई संश्लेषण गर्न सके । कतिपयलाई परिमार्जन र परिवद्र्धन गर्न सके ।
उक्त आधारमा हेर्दा अरस्तु अलौकिक वा अद्भूत दार्शनिक नभई पूर्ववर्ती दर्शनका सङ्कलक र अध्येता हुनुपर्छ । उनले जाने–बुझेसम्मका सबै पूर्ववर्ती दार्शनिकका मान्यताको संश्लेषण र व्याख्या गरेर नै अरस्तु (एरिस्टोटल) ले प्राचीन ग्रिसेली दर्शनलाई समग्र पाश्चात्य दर्शनको आधारस्तम्भ प्रदान गरेका हुन् भन्नु समीचीन ठहर्छ ।
–सम्पादक