साहित्यले कुनै न कुनै पहिचान बोकेको हुन्छ । हरेक देशका लेखकले आफ्नो देशको पहिचान, आफ्नो धर्म, संस्कृति, जाति, परम्परा आदिलाई कुनै न कुनै रूपमा आफ्ना सिर्जनामा समेटेकै हुन्छन् । यो पहिचानमुखी लेखन नेपाली साहित्यमा कस्तो छ ? हामी कतिको पहिचानप्रेमी छौँ ? हाम्रो पहिचान क्षेत्रीय हो कि राष्ट्रिय हो । यो जिज्ञासा हुनु स्वाभाविकै हो ।
प्हिचानका क्रममा कहिलेकाहीँ देश हराउँछ । लिम्बूले लिम्बूसंस्कृति मात्र लेखे, थारूले थारू संस्कृति मात्र लेखे, मगरले मगर संस्कृति मात्र लेखे, हिमालमा बस्ने तामाङ एवम् लामा जातिले उनको संस्कृति मात्र लेखे र क्षेत्री ब्राह्मणले उनीहरूका संस्कृति मात्र लेखे भने नेपाली आवाज कसले लेख्ने ? नेपाली भावना कसले बोल्ने । सिङ्गो नेपाललाई चाहिँ कसले चिन्ने र कसले चिनाउने ? यो बिझ्दो प्रश्न छ ।
यस बिझ्दो सन्दर्भमा डा. राजेन्द्र विमलको एउटा कथा छ –लङ्का काण्ड । यस कथाले पहिडी मूलको बाबु र तराई मूलकी आमाका छोराको समस्यालाई देखाएको छ । तराईमा पहाडे चोर तराई छोड नामको नारा लागेका बेला ऊ अफ्ठ्यारामा पर्छ । आमाका मान्छेपटि लाग्ने कि बाबुका मान्छेपटि लाग्ने ? उसलाई बाल्यकालदेखि टोपी लाउँदा पहाडी भनेर आमापटिका मानिसबाट जिस्क्याइने र धोती लाउँदा मधिसे भनेर बाबुपटिका मानिसले जिस्क्याउँदै आएका हुन्छन् । यसरी जिस्क्याउँदा जिस्क्याउँदै हैरान भएको पात्र तराई हान्दोलनमा भानुभक्तको शालिक भत्काउन लागेको भिडबाट सालिक बचाउन जाँदा मधेसी समुदायबाट कुटाइ र गोली खान्छ । फेरि पहाडे समुदायबाट विद्यापतिको शालिक भत्काउन जानेक्रममा छेक्न खोज्दा अर्को गोली खाएर मुर्छापर्छ । त्यसको सात दिनपछि अस्पतालमा ब्युँझँदा ऊसँग धोती पनि हुँदैन, टोपी पनि हुँदैन । त्यस बेला बल्ल उसले महाडे र मधेसीविनाको शुद्ध मानव भएको बोध गर्छ । आफ्ना बाबुआमासँग मधेसी आमाको र पहाडे बाबुको छोरो हुनु मेरो दोष हो भनेर गुनासो गर्छ ।
यो कथाको सन्देश राष्ट्रियतामा सबै नेपाली हौँ भन्ने हो । भानुभक्त पनि हाम्रा हुन् र विद्यापति पनि हाम्रा हुन् भन्ने हो । यिनका नाममा राजनीति गर्नुु आवश्यक छैन भन्ने हो । हामीले पहिचानका नाममा र प्राप्तिका क्रममा कतै राष्ट्रियता त कमजोर बनाइरहेका छैनौँ ? प्रश्न यहाँ छ । हामी पहिचानका नाममा आफ्नो जाति र पार्टीका कुनामा थुप्रिएर देश त बिर्सिइरहेका छैनौँ ? मूल पहिचान त गुमाइरहेका छैनौँ ? प्रश्न यहाँ छ । बहुजाति, बहुभाषा, बहुक्षेत्र र बहुसंस्कृतिको साझा धरोहर देशै त बिर्सिइरहेका छैनौँ प्रश्न यहाँ छ ।
अबको लेखनमा यो प्रश्नलाई लेखकले केन्द्रमा राखेर साहित्य सिर्जना गर्न सकून् । त्यसो भए आफ्नो लेखन पनि बच्छ र आफू पनि बचिन्छ ।
– सम्पादक