नेपाली राजनीतिक वृत्तमा साहित्यलाई कसरी हेरिन्छ ?
उच्च नेतृत्वले साहित्यलाई कसरी हेरिरहेको छ ?
के कति राजनीतिकर्मीहरू साहित्य साधनामा छन् ?
यो एउटा चासोको विषय बन्न सक्छ ।
नेपाली राजनीतिवृत्तका वी.पी कोइराला, केदारमाम व्यथित, धरणीधर कोइराला, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, नारायणमान विजुक्षे, नरहरि आचार्य, त्रिलोचन ढकाल, दिनानाथ शर्मालगायत थुप्रै साहित्यकार र राजनीतिज्ञहरू छन् । उनीहरू राजनीतिक क्षेत्रमा लागेर मन्त्री प्रधानमन्त्रीसम्म बनेका छन् । साहित्यमा पनि विशिष्ट पहिचान बनाएका छन् । यो नेपाली भाषा साहित्यका लागि सुखद् कुरा हो । साहित्य र राजनीतिलाई जोड्ने आधार पनि हो ।
साहित्य परम्परामा लेखकहरू सम्मानित हुने र त्यसमा राजनीतिक व्यक्ति सहभागी हुने परम्परा पुरानो हो । प्रताप मल्लले आफूलाई कविन्द्रका रूपमा चिनाएदेखि पृथ्वीनारायण शाहले भाषाको संरक्षण र दिव्योपदेशको लेखनदेखि राजा महेन्द्रले नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापना र पहिलो कुलपतिका रूपमा भूमिका निर्वाह गरेसम्मका घटना जीवन्त छन् । साहित्य सर्जक राजाहरूमा राजा ज्ञानेन्द्रको नाम पनि आउँछ । राणा नेतृत्वमा साहित्य प्रिय नायक देखिएन तर उनीहरूले लेखक र नाटककारहरूलाई सम्मान गर्ने गरेको र उनका नाटक दरबारमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।
विसं २००७ को नेपाली जनक्रान्तिपछि पनि नेपाली राजनीति र साहित्यको निकट सम्बन्ध रहेको देखिन्छ । त्यस बेला भारतका निकै नाम चलेका रामवृक्ष बेनीपुरी नेपालमा आएको पाइन्छ । उनको सम्मानमा नाटककार बालकृषण समको घरमा चियापान समारोह भएको रहेछ । त्यस घटनाको एउटा तस्बिर मदन पुरस्कारमा अझै सुरक्षित छ । त्यस तस्बिरमा रामवृक्ष बेनीपुरीको स्वागतमा क्रमबद्ध रूपमा टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथितलगायत धेरै महानुभावहरू उभिएका देखिन्छन् । नेपालको इतिहासमा नेपालका ती राजनीतिज्ञहरूले भारतका एक साहित्यकारको सम्मान संयुक्त रूपमा गरेको देखिन्छ ।
नेपाली राजनीतिक वृत्तमा नेपाली प्रधानमन्त्रीले पनि कवि शिरोमणि लेखनाथ पौडेललाई सम्मानार्थ चढाइएको रथ आफैं तानेर उद्घाटन गरेको घटना अर्को उल्लेख्य घटना हो । नेपाली राजनीतिवृत्तमा साहित्य र साहित्यकारप्रतिको त्यो विगत–विनम्रता आज निकै कमजोर भएको छ । लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री भएका बेला दर्जनौँ साहित्यकारलाई सम्मान गरेको, उनकै नेतृत्वमा माधव घिमिरे अभिनन्दन समारोह समिति बनेको पछि प्रधानमन्त्री पदबाट मुक्त भए पनि घिमिरेको अभिनन्दन समारोहमा पूर्व प्रधानमन्त्रीका रूपमा सहभागी भएको आदि घटना पनि छन् । के.पी ओली प्रधानमन्त्री भएका बेला भएको हिमवत्खण्ड साहित्यिक सम्मिलनलाई त्यसैको निरन्तरताका रूपमा लिन सकिन्छ ।
यी केही झल्यकझुलुक घटना नेपाली राजनीति र साहित्यका सुखद संयोग थिए । अहिले राजनीतिज्ञ र साहित्यकारको दुरी बढ्दै गएको जस्तो देखिन्छ । यस दुरीलाई सकेसम्म कम गर्दै नेपाली राजनीतिलाई सचेत र साहित्यलाई समृद्ध बनाउन आवश्यक छ । राजनीतिज्ञहरूको साहित्यिकहरूप्रतिको सम्मानले उनीहरूको चेतनाको तहलाई देखाउँछ । नेपाली समाजको विकासका लागि राजनीति र साहित्यिक वाङ्मयिक सहकार्यको विकास आवश्यक छ ।
सम्पादक