हाम्रा अग्रज साहित्यकार केदारमान व्यथितले कतै भनेका छन् :
म साहित्यलाई भोजनालय र राजनीतिलाई सौचालयका रूपमा लिन्छु ।
व्यथित स्वयम् राजनीतिज्ञ र साहित्यकार पनि थिए । राजनीतिले साहित्यमा र साहित्यले राजनीतिमा चासो राख्ने भनेको तिनीहरूको एकापसमा समेटिएको समाजबोधको विषय हो । सरसरती हेर्दा समाज एक विराट इकाइ हो । समाजले आफ्नो विशाल दायराभित्र साहित्य, कला, संस्कृति, सङ्गीत, स्वास्थ्य, शिक्षा, प्रशासन, न्याय, हिंसा, दमन, सबैथोक ओगटेको हुन्छ । यीबाहेकका अन्य पक्षलाई पनि समाजले समेटेको हुन्छ । समाजले नसमेटेको विषय हुँदैन । सबै समाजमा सबै खालका विषय हुन्छन् । कुनै समाजमा कुनै प्रधान कुनै समाजमा कुनै प्रधान विषय देखिन्छन् ।
साँचो अर्थमा समाजलाई बुझ्ने लेखकले मात्र जीवन्त साहित्य लेख्न सक्छ । त्यस्तै साँचो अर्थमा समाजले बुझ्ने नेताले मात्र समाजको नेतृत्व गर्न सक्छ । समाजलाई नेतृत्व दिन्छु भन्ने राजनीतिज्ञले समाजका झिनामसिना वास्तविकतालाई बुझ्न सक्नुपर्छ । उसले समाजका प्रत्येक पक्षसँग साक्षात्कार भएको हुनुपर्छ । समाजलाई सूक्ष्म रूपमा बुझेपछि मात्र उनीहरूले समाजलाई नेतृत्व दिन सक्छन् । समाज बुझ्न समाज डुलेर मात्र हुँदैन । त्यस माजका विविध पक्षको अध्ययन पनि गर्नुपर्छ । समाजको अध्ययन गर्ने सबैभन्दा सरल उपाय साहित्यको अध्ययन हो । साहित्यसँग अपरिचित राजनीतिज्ञहरू स्वयम्मा म्याद सकिएको औषधिजस्तै हुन्छन् । उनीहरूले समाजको वास्तविकता बुझ्न सक्तैनन् ।
राजनीतिका कोणबाट हेर्ने हो भने वास्तविक राजनेताले आफ्नो मन मस्तिष्कलाई समाजसँग जोडेको हुनुपर्छ । आफूलाई समाज जतिकै व्यापक राख्न र त्यसकै प्रवाहमा बग्न पनि सक्नुपर्छ । आफ्नो समाजका सबै गतिविधिको अनुभूति र संज्ञान लिन सक्नुपर्छ । समाजका विविध र विस्तृत गतिविधिको संवेदना अनुभूत गर्न सक्नुपर्छ । कुनै प्रलोभन वा लाठी मुङ्ग्रीका भरमा समाजलाई हाँक्ने नेता कुनै समयमा उदय भए पनि उसलाई समाजले नेता स्वीरकारिहन सक्तैन । ऊ समाजसँग घुलमिल हुन होस् वा समाज बुझ्न साहित्यको अध्येता हुन आवश्यक छ ।
साहित्यकारले समाजलाई सूक्ष्म दृष्टिले हेरिरहेको हुन्छ । नेता समाज डुल्छ र अभिमत बटुलेको ठान्छ , साहित्यकार समाज बोध गर्छ र लेख्छ । ऊ समाज हेर्छ र लेख्छ । यसरी लेखकको दृष्टि समाजको दीर्घकालीन दृष्टिकोणका रूपमा विकास भएको हुन्छ । त्यस दृष्टिकोणलाई नसमाउने नेता समाजमा टिकिरहँदैन ।
हरेक समाजको आफ्नो मनोविज्ञान हुन्छ । समाज एकाएक उन्नति पनि चाहँदैन । समाज यथास्थितिमा पनि बसिरहँदैन । त्यस समाजका मनोविज्ञानलाई अर्को समाजमा हुर्किएको मानिसले एकाएक बुझ्दैन । समाज मनोविज्ञान पनि साहित्यबाट बौद्धिक जगत्मा प्रवेश गरिरहेको हुन्छ ।
समाज नबुझ्ने नेता जन्मनु भनेको समाज नचिन्ने र अध्ययन नगर्ने नेता जन्मनु हो । साहित्यकार र राजनीतिज्ञ एकै व्यक्ति हुनु ठुलो संयोग हो । उसले विचार मात्र होइन व्यवस्था पनि परिवर्तन गर्न सक्छ । तर यो संयोज विश्वमा ज्यादै कम व्यक्तिहरूमा मात्र हुन्छ । साहित्यकारले पनि आफ्नो दायरामा रहँदा रहँदै राजनीतिलाई योगदान दिने, सिर्जनात्मक बाटोमा डोर्याउने थुप्रै काम गर्न सक्छन् । साहित्य र राजनीतिको निरन्तर संवाद र सहकार्यले दुवैलाई उर्जा दिन्छ । यसबाट समाज समुन्नतिका बाटामा अगडि बढ्छ ।
सम्पादक