टाल्सटोयले जीवनको अन्तिम दशकमा साहित्यलाई धर्मकी सेविका (सुसारे) को रूपमा मात्र राख्नुपर्छ भन्ने धारणा राखे । त्यसपछिका पुस्तालाई यो विचारले कताकता अल्मल्याइरह्यो । यो विचारको समर्थनको लहर पनि चल्यो । यही विचार विरुद्ध विद्रोह पनि गर्नुपर्यो । साहित्य र समाज, साहित्य र राजनीति, साहित्य र कला संस्कृति आदिको सहसम्बन्ध हुँदा हुँदै पनि यिनलाई एक अर्काबाट टाढा बनाएर हेर्ने प्रयास भइरहह्यो ।
एक समय साहित्य धार्मिक अन्धविश्वासको वाहक बनाइयो । भक्तिविनाको साहित्य के साहित्य जस्तो गरी भक्ति साहित्य लेखियो । यस सन्दर्भमा विकसित धार्मिक अन्धविश्वासको कट्टरताबाट साहित्यलाई अलग गर्नुपर्ने बाध्यता साहित्यको विकासका लागि थियो । यही अलग राख्नलाई नै कला कलाका लागि भन्ने जोखिमपूर्ण मान्यता केही विद्वान्हरूले अगाडि सारे । त्यसका प्रभावमा कतिपय पुस्ता ‘कला कलाकै लागिमात्र हो ।’ भन्दै गए । यो क्रम कला जीवनका लागि भन्ने धारणा कलाका लागि भन्नेको विरोधमा विकास भयो ।
हरेक भषाको साहित्यले देश, काल, परिस्थितिअनुसारको विद्रोही धाराका रूपमा आफूलाई उभ्याउँदै आएको इतिहास छ । साहित्यलाई कला कलाका लागि मात्र भन्नु उपयुक्त देखिएको छैन । वास्तवमा कला कलाका लागि होइन, कला जीवनका लागि हो । साहित्य जीवनका लागि हो । सभ्यताको अभिलेखनका लागि हो । कवि, कलाकार जुन समाजमा जन्मिन्छन्, हुर्किन्छन् उनीहरूले त्यस समाज अनुभूति र यथार्थको अभिव्यक्ति दिने हुन् । उनीहरूले साहित्य वा कला सिर्जनाका क्रममा कलाभित्र वा रङ–रेखाचित्र मात्र सम्झिरहन सक्तैनन् । उनका जीवनानुभव र मस्तिष्कमा समाज हुन्छ । यस कोणबाट हेर्दा साहित्य जीवन हो, कला जीवनको सिँढी हो । संस्कृति र भाषाले साहित्यलाई पोषित र पल्लवित गर्छन् । जति पोषित, पुष्पित र पल्लवित गरे पनि, जति उच्च कलाको प्रयोग गरे पनि साहित्यको सम्बन्ध समाजसँग हुन्छ ।
कुनै लेखक वा कलाकारका मनोगत संसारमा पाइलापिच्छे उसको समाजका चिन्हहरू देखापर्दछन् । उसको भाषा र संस्कृतिका छापहरू विद्धमान रहन्छन् । परम्परित कला, लोकसंस्कृति र मान्यताहरू कुनै न कुनै रूपमा अभिव्यक्त भइरहेका हुन्छन् । समाज व्यवस्थाका सबै कुरासँग विद्रोह गरे पनि लेखकले भाषा र सामाजिक परिवेशसँग विद्रोह गर्न सकिरहेको हुँदैैन । भाषा र संस्कृति नै समाज विकासका आधार वा रक्त सञ्चार हुने भएकाले लेखकले ती पक्षलाई संयोजन गरिरहेको हुन्छ ।
भाषावैज्ञानिक दृष्टिले भाषा सामाजिक सम्पत्ति हो । यही सामाजिक सम्पत्ति रूपी भषाको कलात्मक प्रस्तुति साहित्य हो । साहित्य समाजका अभिलेखहरूको जीवन्त अभिव्यक्ति हुँदा यो इतिहासको जनक पनि हो । यो समाजका मूल्यहरूको अभिलेख पनि हो । यो समाजका वेथिति, विकृति र विसङ्गतिहरूको भण्डाफोर गर्ने पनि हो । साहित्यका यावत् मान्यता र रसास्वादनसमेत सामाजिक इतिहासका अभिन्न अङ्ग हुन्छन् । साहित्य र समाज सँगसँगै अगाडि बढिरहेका हुन्छन् ।
एकै लेखकका पाँच सात कृतिलाई पढ्ने हो भने ऊ कस्तो समाजमा जन्मे हुर्केको वा बाँचेको मानिस हो भन्ने कुरा पहिल्याउन सकिन्छ । साहित्य समाजको अभिन्न अङ्ग बनेर रहेको हुन्छ भन्ने कुरा सम्बन्धित समाजका लेखकले लेखेको साहित्यले नै पुष्टि गर्दछ । मसिनो गरी हेर्यो भने साहित्य तिथि मिति नभएको इतिहास हो । इतिहास तिथिमिति भएको साहित्य हो । साहित्य थितिमिति र पात्र नमिल्ने समाचार हो । समाचार तिथिमिति र पात्र मिल्ने साहित्य हो । इतिहास, सञ्चार, साहित्यलगायत मानविकी र विज्ञान प्रविधिका यावत पक्षहरू समाज हुँदै कला र संस्कृतिका अनेक पाटामा साहित्यमै प्रवाहित भएर आएका हुन्छन् । लोकसाहित्य हुँदै विकसित साहित्यले लोकसंस्कृतिदेखि आधुनिक संस्कृति र सम्बन्धित समाजका बहुमुखी ज्ञान विज्ञान र समाज व्यवस्थापनका पक्षलाई उजागर गर्न सकेको हुन्छ । साहित्यले श्रुतिपरम्परादेखि आजका सिर्जन परम्परासम्म निरन्तर समाजको गीत गाइरहेको छ, समाजका कथा भनिरहेकोछ, समाजको परिवेश उतारिरहेको छ । हामी महाभारतमा र रामायणमा पाएको समाज इलियट र ओडिसीमा पाउँदैनौँ । यसको अर्थ साहित्य समाजसापेक्ष छ । लेखकले आफू बाँचेको समाजअनुसारकै साहित्य सिर्जना गर्दछ ।
सम्पादक