- सम्पादकीय
वर्तमान समयमा मातृभाषाका भन्दा पनि राष्ट्रभाषाका र अन्तराष्ट्रिय भाषाका साहित्यको चर्चा बढी हुन्छ । मसिनो गरी हेर्ने हो भने अन्तराष्ट्रिय भाषामा लेखिएका भन्दा मातृभाषामा लेखिएको साहित्य गहन रहेको पाइन्छ । लेखकका लागि सबैभन्दा तिख्खर अभिव्यक्ति दिन मातृभाषा जस्तो सहज दोस्रो वा सम्पर्क भाषा हुन सक्तैन । यसो भए पनि आजको विश्वमा दोस्रो भाषा वा अङ्ग्रेजीमा लेख्नेहरूको सङ्ख्या र चर्चा पनि बढ्दो छ । नेपालमा विभिन्न मातृभाषी साहित्यकार भए पनि उनीहरूले आफ्नो प्रतिभा नेपालीमै लेखेर सार्वजनिक गरिरहेको देखिन्छ । यो पक्ष विश्व सन्दर्भमा पनि प्रबल छ ।
राष्ट्रभाषा वा विश्व भाषामा लेखिनुपर्छ भन्ने भाषिक लोभले के वास्तवमै उत्कृष्ट कला दिन सक्छ त ? के दोस्रो भषा, सम्पर्क भाषा वा अन्तराष्ट्रिय भषामा मातृभाषामा जतिकै सशक्त अभिव्यक्ति दिन सकिन्छ ? अबस्य पनि सकिँदैन । भाषिक अभिव्यक्तिका लागि सबैभन्दा सरल, सहज र सशक्त अभिव्यक्ति मातृभाषामा मात्र सम्भव हुन्छ । सबै भन्दा तिख्खर अभिव्यक्ति मातृभाषाबाट मात्र दिन सकिन्छ ।
उक्त दृष्टिकोणअनुसार विश्वमा शक्तिसाली साहित्य गैर अङ्ग्रेजी भषामा लेखिएको छ भन्नु अत्युक्ति हुँदैन । विश्वसाहित्य बुझ्न, पढ्न र साहित्यको वास्तविक शक्ति र सामथ्र्य थाहा पाउन अङ्ग्रेजी साहित्य मात्र पढेर पुग्दैन । त्यस भन्दा बाहिर पनि जानुपर्छ । अन्य भषाका महत्वपूर्ण कृतिहरू पढिनुपर्छ । तिनको सम्पर्क भषाका रूपमा अङ्ग्रेजीमा अनुवाद हुनुपर्छ । ती अनुवाद दुवै भाषामा समान दखल भएका व्यक्तिहरूबाट हुनुपर्छ । त्यस अनुवादले पनि मातृभाषाको अभिव्यक्तिको स्वाद विश्वका पाठकलाई दिन सक्नुपर्छ । अनुवादक र स्रष्टाहरूले पनि स्वीकार गरेको एउटा अर्को सत्य पनि छ, त्यो सत्य अनुवाद अनुवाद मात्रै हो । त्यसले मूल कृतिको स्वाद दिन सक्तैन ।
आजसम्म हामीले विश्व साहित्यका महत्ँवपूर्ण कृतिहरू पढ्न पाउने माध्यम भाषा अङ्ग्रेजी भाषा नै हो । कतिपय भिन्न मातृभाषा भएका लेखक पनि अङ्ग्रेजी भाषाको सहायताले साहित्य लेखिरहेका र चर्चा बटुलिरहेका छन् । बेन ओकरी, फिलिफ रोथ, जोयस क्यारोल, अरूतन्धी रोय, विक्रम सेठ, बापसी सिधवा, अनिता देसाई,सल्मान रुस्दी, किरण देसाई, अरविन्द आडिगा, जे.के रोलिङ, नादेन गोर्डिमेर, जोयस क्यारोल, फिलिप रोथ, जेएस कुट्सी, नादेन गोर्डिमेर आदि वर्तमान विश्वका आफ्नो मातृभाषा भिन्न भए पनि अङ्ग्रेजीमैलेखेर चर्चा कमाइरहेका लेखकहरू हुन् । उनीहरूलाई अङ्ग्रेजी लेखककै रूपमा आदर गरिन्छ । उनीहरूले मातृभाषामै लेख्ने हो भने अझ सशक्त अभिव्यक्ति दिन सक्थे भन्न सकिन्छ । उनीहरू मातृभाषा छोडेर अङ्ग्रेजीमा लाग्नुको अर्थ विश्वका पाठकको मोह हो । राम्रो कृति सिर्जना प्रयास होइन ।
मातृभाषामा लेखिएको साहित्य दीर्घ प्रभावी हुन्छ भन्ने कुरालाई विश्व साहित्यमा नाम कमाएका, नोवेल पुरस्कार पनि पाएका टमस ट्रान्सट्रोयमर (स्विडेन), डारियो फो (इटली), जोसे सारामागो (पोर्चुगल), हेर्टा मुलर (जर्मनी), इम्रे कार्टेज्मा (हङ्गेरी) आदिको नाम लिन साकिन्छ । उनका साहित्य कृतिहरूले वा साहित्य छविले अङ्ग्रेजी माध्यमको लेखनबाट नोवेल पुरस्कार पाएका होइनन् र विश्वप्रसिद्ध भएका पनि होइनन् । उनीहरूले आआफ्ना मातृभाषामै साधना गरेर विश्वप्रसिद्ध भएका हुन् । हो नोवेल कमिटीलाई बुझाउन सुझाउन उनका केही कृति अनुवाद भए तर उनका राम्रा कृति आआफ्ना मातृभाषामा छन् । यसले हामीलाई पनि हाम्रो आफ्नो भषामा राम्रो साहित्य सिर्जना गर्न अभिप्रेरित गर्छ । विश्वमा पुर्याउने माध्यम भाषामा जाने कुरा अर्के हो राम्रो लेख्ने कुरा मूल हो । निरन्तर लेख्ने र नयाँ लेखनको विकास गर्ने कुरा मूल कुरा हो ।
-सम्पादक.