- सम्पादकीय
कोभिड महामारीअघि असोज महिनाको आरम्भतिर दशैँलाई लक्षित गरेर पुस्तक बजार पनि बढ्थ्यो । कोभिडछि त्यसको अवस्था कस्तो छ ? भनी जिज्ञासा हुनु स्वाभाविकै हो । दशैँ आसपास नयाँ पुस्तक प्रकाशन गर्ने चलन पुरानै । यो वर्ष लामो समयको बन्दाबन्दीको मार पुस्तक बजारमा देखियो । दशैँअगाडि नै बजार खुलेका कारण केही प्रकाशकहरूले नयाँ पुस्तक प्रकाशन गरे । पुराना पुस्तकको पुनः प्रकाशन भन्दा नयाँ प्रकाशनमा ध्यान दिए । केही पुराना पुस्तकको पुनः प्रकाशन पनि गरे ।
नेपालका ठुला प्रकाशन मानिएका विद्यार्थी पुस्तक भण्डार, पैरवी प्रकाशन, कथालय, भुँडीपुराण प्रकाशन, फाइन प्रिन्ट, बुकहिल, नेपालय, साङ्ग्रिला, मञ्जरी, शिखालगायत प्रकाशन गृहका दशैँ नजिक दुई दर्जनअधिक नयाँ पुस्तक बजारमा आए । यस्तै नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशनलगायत निजी प्रकाशनहरूले चर्चामा रहेका पुराना पुस्तकको पुनःमुद्रण गरिरहेका छन् ।
हाम्रामा प्रकाशकहरू अध्यावसायी विद्वान्लाई भन्दा अखबारी पत्रकारलाई पुस्तक उपहार दिनमा रुचि राख्छन् । विश्व सन्दर्भमा अध्यावसायी विद्वान्का हातमा आफ्नो प्रकाशन पुग्नु प्राथमिकता हुन्छ । अखबारका सञ्चारकर्मीको टिप्पणी वा पुस्तक समीक्षा भन्दा अध्यावसायीका हातमा पुगेको पुस्तकले साहित्य वा सम्बन्धित विधा परम्परामा त्यस कृतिलाई मूल्याङ्कन गरिरहेको हुन्छ । गम्भीर पाठक र अध्यावसायी विद्वान्को अभाव रहेको हाम्रो जस्तो मुलुकमा अखबार प्रधान समीक्षाले महत्व पाउनु र पाठकले तिनकै आधारमा धारणा बनाउनु स्वाभाविकै लाग्छ ।
नैपाली बौद्धिक जगत् र पुस्तक व्यवसायको सम्बन्ध दशैँसँग गाँसिनुका विविध कारण हुन सक्छन् । लामो विदा, पाठकहरूको फुर्सदका साथै ठुला पुरस्कारको घोषणा पनि यसको कारण बन्दै आएको छ । प्रायः दशैँ अगाडि मदन पुरस्कार, पद्मश्री पुरस्कार जस्ता ठुला पुस्तक केन्द्रित पुरस्कारको सङ्क्षिप्त सूची प्रकाशन र पुरस्कृत कृति घोषणाको परम्पराको प्रभाव पनि पुस्तक बजारसँग जोडिएर आएको देखिन्छ । यसका साथै अहिले अनेसासले स्थापना गरेका पुरस्कार र स्थानीय पुरस्कारको प्रभाव पनि देखिन्छ । तिनको घोषणा र अर्पण समारोह प्रायः दशैँ आसपासमा देखिन्छ ।
बजारमा नयाँ पुस्तकको संख्या बढ्दा बिक्री बढेको मान्नु पनि गलत हुन्छ । यतिखेर केही प्रकाशनहरू सटर छोडेर अफिस कोठामा सीमित भइरहेका छन् । कृतिहरू प्रकाशकको रुचिभन्दा पनि लेखकको रुचि र लगानीमा सार्वजनिक भइरहेका छन् । तिनले बजार विस्तारमा सहयोग पुर्याउँछन् भन्ने छैन । प्रतिलिपि अधिकारअनुसार लेखकको मृत्यु भएको पचास वर्षपछि जुन सुकै प्रकाशकले सम्बन्धित लेखकको कृति प्रकाशन गर्न पाउने कानुनी व्यवस्थाअनुसार अहिले भानुभक्त, लेखनाथ, देवकोटा आदिका कृति जुनसुकै प्रकाशकले प्रकाशन गर्न थालेका छन् । नेपालको बजारले भारतीय प्रकाशन गृहहरूले जस्तो पूर्वीय वाङ्मयका सामग्री नेपाली पाठकलाई लक्षित गरेर ल्याउन सकेका छैनन् । यद्यपि भागवत, गीता, चार वेद आदि बजारमा निकै विक्री भएको मानिन्छ । तिनले पनि दशैँ बजारलाई प्रभाव पारिहाल्छन् भन्ने छैन । अहिले निस्किएका कृतिहरूको सरसरती सर्वेक्षण गर्दा दुई वर्षअगाडिका तुलनामा पुस्तक बजार कमजोर बनेको छ । प्रदर्शनी भए पनि साझा प्रकाशनको प्रदर्शनीमा जस्तो सस्ता र बहुमुखी विषय र विधाका पुस्तक एउटै बजारमा पाइने सम्भावनालाई निजी प्रकाशनले देखाउन सकेका छैनन् । नयाँ पुस्तक आउँदासमेत बजारमा उत्साह आइरहेको छैन । अहिले ‘सम्बन्धहरू’, अर्थशास्त्री विश्वम्भर प्याकुरेलको आत्मसंस्मण, ददि सापकोटाको ‘वनको वैभव’, असीम सागरको कविता ‘क’, नवराज लम्सालको अग्नि महाकाव्य आदि बजारमा आए । पुन प्रकाशित कृतिमध्ये पारिजातका सम्पूर्ण कृतिहरू, सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ (चार भाग), बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ आदिको पुनः प्रकाशन भएको देखिन्छ । देवकोटाका गद्य रचनाहरू पनि यसै क्रममा पर्छ । नेपाल प्रज्ञा प्रतिष्ठानले पुराना मूल्यवान् पुस्तकहरूको पुनः प्रकाशनलाई निकै तीव्रता दिएको छ । त्यस क्रममा पूर्वीय काव्यशास्त्र, अरस्तुको काव्यशास्त्र आदि पर्दछन् । रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’, पूर्वप्रधानन्यायाधिस मीनबहादुर रायमाझीको संस्मरण, गोविन्द टण्डनको ‘इतिहासका थप पृष्ठहरू’ आदिले गैरआख्यानको प्रकाशन बढी देखिएको छ । गैरआख्यानपछि आख्यान र कविताका किताब नै बढी छापिने गरेका छन् । कविताका कृति बजारमा भन्दा व्यक्ति व्यक्तिमा सीमित भइरहेका छन् । नयाँ किताबका रूपमा खगेन्द्र सङ्ग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’, सुजित मैनालीको अनुवादमा ‘युगान्तः महाभारतको महामृत्यु’, गनेस पौडेलको अनुवादमा ‘मुसा मानुष’ २० युवाहरूको कथा समेटिएको ‘छकालै’, कोरोनाकालमा लेखिएका कथाहरू समेटिएको ‘कोभिड कथा’ र सात कविका ‘यतै कतै’ राजु अधिकारीको राज्याभिषेक लगायत विविध कृति बजारका पुस्तक पसलमा नयाँ कृतिका रूपमा देखिएका छन् । यद्यपि यस्ता कृतिले समग्र साहित्य वा नेपाली पुस्तक बजारको प्रतिनिधित्व गर्न सकेका छैनन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू बौद्धिक पाठक केन्द्रित छन् । पुराना पुस्तकको पुनः प्रकाशनलाई पनि प्रतिष्ठानले निरन्तरता दिँदैछ । साझा प्रकाशनले नयाँ नयाँ प्रकाशन बजारमा ल्याउन र पुस्तक प्रदर्शनी गर्न पनि सकेको छैन । नयाँ नेतृत्व आए पनि र नयाँ महाप्रबन्धक नियुक्त भए पनि साझाको कार्यालयमै जाँदा पनि त्यहाँका प्रकाशन खरिद गर्न सकिने अवस्था बनिसकेको छैन । यो संस्थाको निर्बलता नेपाली बौद्धिक जगत्कै निर्वलता हो ।
नेपाली पुस्तक बजारको यो शून्य र सुनसानपन पक्कै पनि राम्रो होइन । यसलाई नेपालको बैद्धिक विकासको सुस्त अवस्था हो भन्न सकिन्छ । नेपाली पुस्तक बजारको विकास गर्न लेखक, प्रकाशकका साथै वजार व्यवस्थापक मात्र होइन यो बौद्धिक विकासको क्षेत्र हुँदा राज्यले पनि केही प्रोत्साहन गर्न आवश्यक छ । पालिकाहरूले पुस्तक व्यवसायमा कर छुट, सार्वजनिक भवनहरूमा सस्तोमा पुस्तक पसललाई सटर भाडा दिनका साथै आफ्नो बजेटबाट केही प्रकाशनमा पनि भरथेग गर्नुपर्ने अवस्था छ । अब पुस्तक व्यवसायीले मात्र पुस्तक बजार बलियो बनाउँछन् भन्न कठिन छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन र अन्य सङ्गीत–नाट्य एवम् ललितकला प्रज्ञा–प्रतिष्ठानसाथै जनकशिक्षा सामग्री केन्द्रसमेत राज्यका स्वामित्व रहेका संस्थाले सहकार्यका माध्यमबाट आफ्ना विक्री कक्षहरू जिल्ला जिल्लासम्म विस्तार गर्न आवश्यक छ । बाक्लो पाठक सङ्ख्या भएका ठाउँमा स्थानीय तहसम्म पुग्न आवश्यक छ । त्यसो गर्दा सकेसम्म स्थानीय तहका सार्वजनिक भवनहरूको उपयोग गर्न आवश्यक छ । पाठकहरूको विकास पुस्तक देखाएर पनि गर्न सकिन्छ । पाठकसम्मै पुस्तक पुर्याएर पनि गर्न सकिन्छ ।
-सम्पादक.