- सम्पादकीय
नेपालमा पुस्तक सम्बन्धी कार्य हेर्नका लागि कति वटा संस्था सक्रिय छन् ? कुन कुन पुस्तक छाप्न योग्य हो कि होइन जाँच गर्ने निकाय छ कि छैन ? पुस्तक छाप्दा सम्पादन गरिनुपर्छ कि पर्दैन ? अधिकारप्राप्त सम्पादकहरू के कति छन् ? कति पृष्ठको पुस्तकको मूल्य कति हुनुपर्छ ? हाम्रा विश्वविद्यालयका अनुसन्धानहरू के कति प्रकाशन भएका छन् ? विश्वविद्यालयहरूले के कति कृति प्रकाशन गरेका छन् ? हाम्रा वाङ्मय भण्डारमा के कस्ता कोशहरू प्रकाशित छन् ? हाम्रा कुन कुन सरकारी निकायले विश्वकोश प्रकाशन गरेका छन् ? पुस्तकको अनलाइन संस्करण कसरी विक्री वितरण गरिन्छ ? कर्मचारी, शिक्षक–प्राध्यापक, सुरक्षा संयन्त्रलाई के कति अध्ययन अनुसन्धानमा लगाइएको छ ? यी प्रश्नहरू नेपाली समाजसापेक्ष दृष्टिले निकै गहिरा बनेका छन् । विश्वका सम्पन्न मुलुकहरू यी प्रश्नका जवाफ पहिल्याएर माथि उठिरहेका छन् । हामी यिनै समस्या नबुझेर पाएका अधिकार र चेतनाको उपयोग गर्न सकेका छैनौँ । कुहिराको काग बनिरहेका छौँ ।
सोझो भाषामा भन्न पनि अफ्ठ्यरो लाग्छ । यथार्थमा पुस्तकको महत्त्व र व्यवस्थापनसम्बन्धी हाम्रा राज्य सञ्चालकहरू वेखबर छन् । समाजको, इतिहासको, उन्नति, प्रगति र समग्र राष्ट्रियताको स्वर अभिव्यक्त गर्ने पुस्तक संस्कृतिलाई राज्यले वेवास्ता गरिरहेको छ । यसरी वेवास्ता गर्नुले विदेशीका आँखामा देशको वौद्धिक स्तरलाई देखाउँछ । पढाइ छोडेका व्यक्तिहरू बढी राजनीतिमा सक्रिय हुनुको प्रभाव पुस्तकनीति र व्यवसायमा पनि देखिन्छ । यसको प्रभाव समग्र बौद्धिक संस्कृतिमाथि परिरहेको छ ।
विश्व अगाडि बढेको पुस्तक, पुस्तकालय र पठन संस्कृतिले हो । हामी विश्वका अरू टाढा टाढाका मुलुकसम्म उदारहण खोज्न भौतारिनै पर्दैन । हाम्रै छिमेकी मुलुक चीनलाई हेरे धेरै दृष्टान्त प्राप्त हुन्छन् । यस मुलुकमा पुस्तकसम्बन्धी कार्य हेर्नका लागि ५८० वटा सरकारी संस्थाहरू सक्रिय छन् । अहिले तिनको सङ्ख्यामा अझ वृद्धि भएको हुन सक्छ । स्थानीय तहसम्म तिनको बलियो सञ्जाल छ । चाइना पब्लिसिङ ग्रुप तीमध्ये एउटा समूह हो । यस संस्थाअन्तर्गत ४० वटा विभिन्न प्रकाशन संस्था रहेका छन् । चीनका पुस्तकप्रेमीले के पढ्ने, कस्ता सामग्री उत्पादन गर्ने भन्ने कुरा तिनै बहुमुखी प्रतिभासम्पन्न विद्वान्हरू संलग्न सरकारी संस्थाले निक्र्योल गर्छन् । तिनको परीक्षण, सेन्सर र सिफारिसमा मात्र पुस्तकहरू छापिन्छन् । सेन्सर र सिफारिसविना कुनै पनि पुस्तक छापिँदैनन् । त्यसको एउटा उद्देश्य राष्ट्रिय स्वार्थ पनि हो ।
व्यक्ति, परिवार र समाजले पुस्तकमा कति लगानी गर्छ भन्ने पक्ष पुस्तकको महत्त्वसँग जोडिएर आउँछ । यहाँ उदाहरणका रूपमा लिइएको छिमेकी मुलुक चीनले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार चीनमा पुस्तक प्रकाशनको बजार वर्षको १५ बिलियन डलर छ । यो अमेरिकाको हाराहारी हो । तथ्यगत रूपमा अमेरिका भन्दा केही कम हो यद्यपि एसियाको उच्च हो, विश्वका अन्य मुलुकको भन्दा उच्च हो । इन्टरनेट र इपुस्तकका कारण संसारमा पुस्तक व्यवसाय अब डिजिटल हुने कि भन्ने वहस चलिरहेका बेला चीनमा भने पुस्तकमाथि लगानी उल्लेख्य छ । गएको वर्ष मात्र चार हजार वटा नयाँ नयाँ पुस्तक पसल खुलेको पाइन्छ । एकै वर्षमा चार हजार वटा पुस्तक पसल थपिनुले त्यहाँको पठन संस्कृति र पुस्तकमाथि लगानीको सङ्केत बुझ्न सकिन्छ । यो तथ्याङ्क कोरोना महामारीका बिचको तथ्याङ्क हो । साधारण अवस्थामा त्यसको रफतार कस्तो होला ? यो नेपालमा हरेक वर्ष थपिने किराना पसलको सङ्ख्या भन्दा पनि बढी हो ।
चीनमा पुस्तक व्यवसाय बढ्नुमा व्यवसायीको लगानी वा रुचि मात्र कारक छैन । त्यहाँका नगरपालिकाहरूले आफ्ना नगर क्षेत्रमा पुस्तक व्यवसाय गर्नलाई व्यवसायीहरूलाई अनेक आकर्षक छुट र उत्प्रेरक कार्यक्रमबाट आकर्षित गरिरहेका हुन्छन् । जानकारहरूका अनुसार सबैभन्दा बढी पुस्तक पसल दक्षिणीपश्चिमी क्षेत्र चेङ्दुमा छन् । त्यहाँका नागरिकको जीवनस्तर विकास गर्न त्यस क्षेत्रका नगरपालिकाहरूले पुस्तक पसल खोल्न अभिप्रेरित गर्ने गरी सटर भाडादेखि आवश्यक करमा भारी छुट दिएका छन् । त्यहाँका नागरिकको ज्ञानको स्रोत सबै चाइनिज भाषामा उपलब्ध छ । उनीहरू मातृभाषामा प्रकाशित पुस्तकका माध्यमबाट ज्ञान र चेतना विस्तारमा लागिरहेका भेटिन्छन् ।
उनीहरूका दृष्टिमा देशबाहिरबाट छापिएर आएका किताबले व्यक्तित्व विकासको धरातललाई कमजोर बनाउँछन् । चीनले चीन विरोधी क्षेत्र मानिने हङकङ र ताइवानबाट छापिएका पुस्तकमा कडा निगरानी गर्दै आएको छ । देश विरोधी, जनतालाई अनावश्यक भड्काउने पाठ्यसाग्री भेटिए भने राज्यले रोक त लाउँछ नै त्यहाँका देशभक्त पाठकले नै सरकारलाई तिनको जानकारी गराउँछन् । उनीहरूको पठनसंस्कृतिसँग राष्ट्रिय चेतना पनि त्यत्तिकै सहसम्बन्धित बनेर विकसित भएको छ । पठन संस्कृतिको सम्बन्ध राष्ट्रिय चेतनाको विकास र विस्तार पनि हो भन्ने सन्देश प्रवाहमा चाइनिज लेखक, पाठक, पुस्तक व्यवसायी र राज्यसंयन्त्रलेसमेत सहयोग पुर्याएको छ ।
पुस्तक जीवन अनुभवसँग छिटो परिचित हुने साधन हुन् । चिनिया प्रकाशकले आफ्ना पाठकलाई जीवनअनुभवमूलक सामग्रीहरू बढी बेचिरहेका छन् । ग्राफिक उपन्यास जस्ता पुस्तकहरू उनका रोजाइमा परिरहेका छन् । जसले युवा पुस्तालाई व्यवहारका रापचापमा नपर्दै व्यवहारिक जीवन बोध गर्न, जिम्मेवारी बोध गर्न सघाएको छ । राज्यकै संलग्नतामा विभिन्न समयमा पुस्तक प्रदर्शनीका माध्यमबाट पनि उनीहरू यस व्यवसायको संरक्षण र विकास गरिरहेका छन् । त्यहाँ विषयगत पुस्तकहरूको प्रदर्शनी पनि गरिन्छ । त्यहाँका अध्यवसायी विद्वान्हरू वजारमा आएका प्रयः नयाँ पुस्तक आफ्नै घरमा प्राप्त गर्न चाहन्छन् । यसले राज्यले बौद्धिक कार्यमा जिम्मेवारी दिने व्यक्तिहरू समाजका विविध पक्षमा जानकार हुन्छन् । यी पक्षहरू हाम्रा लागि उदाहरणीय छन् तर हामी एक प्रतिशत पनि सचेत बनेर यी पक्षको सिकाइ गर्न सकेका छैनौँ । सर्वेक्षण गर्ने हो भने देखाउन लायक परिणाम निस्कन सक्तैन ।
विकास पुलपुलेसा, बाटोघाटो, धरहरा, भिउटावर, प्रतिमा स्थापना, सिलान्यास, उद्घाटन आदि मात्र होइन । सांस्कृतिक र बौद्धिक विकास मूल विकास हो । तिनका जगमा हुने भौतिक विकास वास्तविक विकास हो । आफ्नो समाज, संस्कृति, लोकज्ञान, समाजज्ञानसहितको बौदिक क्षमता विकास वास्तविक विकास हो । आन्तरिक विकासविनाको वाह्य विकासको कुनै भर हुँदैन । यसतर्फ सरोकारवालाहरूको ध्यान जान सकोस् ।
-सम्पादक.