- सम्पादकीय
विश्वमा विकसित भषाहरूका आफ्ना मौलिक काव्यशास्त्र छन् । अनुसन्धान पद्धति र विधिविधानहरू छन् । उनीहरू तिनकै जगमा टेकेर सिर्जना र समीक्षा गर्छन् । अरू विषयका निर्माण, अध्ययन, अध्यापन र अनुसन्धानमा पनि यो विषय लागू हुन्छ । हामी यस मामलामा कति सचेत छौँ भन्ने कुरा निकै बिझ्दो छ ।
आफ्नो पहिचान रक्षा आफैले गर्ने हो । अरूले कति पनि रक्षा गरिदिन सक्तैनन् । अरूले सके उनका पहिचानसँग घोलिदिन्छन् । नसके छोडिदिन्छन् । आज विश्वमा विकासित भाषाहरू अङ्ग्रेजी, जर्मन, अरबी, जापानी, चाइनिज सबै भषासाहित्यमा उनीहरूका मौलिक काव्यशास्त्र विकसित छन् । हामी पूर्व र पश्चिम भन्दै विस्तारै पश्चिमतिर ढल्किइसकेका छौँ । पश्चिमका सामान्य भन्दा सामान्य सिद्धान्तहरू समाएर अध्ययन अनुसन्धान गर्न खोजिरहेका छौँ । यसले हाम्रो पहिचान र मौलिक सिर्जन एवम् समीक्षण सामथ्र्य कमजोर बनिरहेको छ । एकातिर अर्को भषा साहित्यको सैद्धान्तिक अवधारणालाई वस्तुगत रूपमा बुझ्ने समस्या छ भने अर्कोतिर तिनका आधारमा वस्तुगत विश्लेषणको अभाव छ । ती सिद्धान्तअनुसारका हाम्रा सिर्जना जन्मिएकै छैनन् तर तिनलाई नै समाएर हामी जबरजस्ती अध्ययन अनुसन्धान गर्न खोजिरहेका छौँ । हाम्रो वास्तविक ज्ञान, सिप र क्षमता प्रदर्शन गर्न सकिरहेका छैनौँ । यसले हामीलाई कथा पुर्याउने हो अझै प्रश्न बिझ्दो छ ।
नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि जनशक्ति निस्किएपछि औपचारिक रूपमा उच्च तहका अध्ययन अनुसन्धान हुन थाले । त्यसपछि दर्जनौँ विद्यावारिधि उत्पादन भइसकेका छन् । संस्कृत विश्वविद्यालयले पूर्वीय चिन्तनलाई जोडेर मात्र अनुसन्धान गर्ने मापदण्ड बनाए पनि त्रिभुवन विश्वविद्यालयले त्यसो गरेको छैन । जुनसुकै सिद्धान्त समाएर शोध गर्न छुट दिएको छ । यस छुटले हामीलाई सबल बनायो कि दुर्बल यो भने मूल्याङ्कन गर्न ढिला भइसकेको छ ।
सामाजिक विषयहरू, व्यवस्थापनका विषयहरू, प्राविधिक विषयहरू, विज्ञान र कानुनमा पनि यस किसिमका समस्या जीवन्त छन् । पूर्वीय अध्ययन पद्धति अपनाउन सके हाम्रा अनुसन्धाताहरू विश्वका अनुसन्धान मूल्याङ्कन गर्न सक्ने हुने थिए तर सबै यस म्यानका रूपमा विकास भए । अरूकै प्रवक्ता बनेर वकालत गरिरहे । यो अवस्था साहित्यमा मात्र होइन, हरेक क्षेत्रमा छ । देशको राजनीति अस्थिर हुनु पनि मौलिक चिन्तनको अभाव नै हो । नेपालको हावापानी सुहाउँदो चिन्तन भएका राजनीतिज्ञ नभएर हो । साहित्य सिर्जनाको विश्व पहिचान हुन नसक्नु पनि आफ्नो काव्यशास्त्र र मौलिक विषय, विम्ब र दर्शनका सिर्जना नहुनु हो । विश्वप्रसिद्ध पुरस्कार विजेता वा विश्वप्रसिद्ध कृतिका स्रष्टाहरूलाई हेर्यो भने उनीहरू आफ्नै परिवेशका आफ्नै विषयको कला कुँदिरहेका देखिन्छन् ।
नेपाली साहित्यका सन्दर्भमा यो विषय अझ बिझ्दो छ । हाम्रो मौलिकता गुम्ने खतरालाई बुझेर र उच्च तहका अनुसन्धाता बाहिर नजाऊन् भनेर त्रिभुवन विश्वविद्यालयमा नेपाली विाष्यको एम फिल तहको अध्ययन अध्यापन आरम्भ भएको दशक नाघिसकेको छ । त्यस बिचमा दुई सय जति दर्शनाचार्य तहका शोधकार्य सम्पन्न भएका छन् तर ती शोधलाई हेर्यो भने शोधार्थीका रुचि विदेशी सिद्धान्तका आधारमा नेपाली सिर्जना हेर्ने खालका छन् । हामी लोकवार्ता, लोकसाहित्य, लोकसंस्कृति, हाम्रो मौलिक सामाजिक पद्धति भन्दा परपरका कुरा खोजिरहेका छौँ । हाम्रा लोकोक्ति, लोकपद्धति र लोककथाले दिएका सिद्धान्तलाई स्थिर बनाउन सकिरहेका छैनौँ । हाम्रो इतिहासले सिकाएका इतिहास दर्शनहरूको संरक्षण र संबद्र्धन गर्न सकिरहेका छैनौँ । पूर्वीय र लोक मिथकहरूको पुनर्लेखन र अनुसन्धान गर्न सकेका छैनौँ साहित्यकै मात्र कुरा गर्दा नेपाल संस्कृत विश्वविद्यालयले पूर्वीय सन्दर्भसहित विद्यावारिधि दिने भने पनि त्यसतर्फ गम्भीर चासो दिन सकेका छैन। त्यहाँ आधुनिक विषयका रूपमा नेपाली भषा साहित्य हेलामा परिरहेको छ । तयहाँबाट आएको जनशक्तिको सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रिय प्रभाव आँकलन गर्न सकेका छैनौँ । यसले हाम्रो उच्च शिक्षाको प्रमाणपत्र खोस्टो मात्र हुने हो कि भन्ने चिन्ता बढिरहेको छ ।
हामी आजको अवस्थामा आउनुको एउटा कारण नेपाली भषालाई त्रिभुवन विश्वविद्यालयले शिक्षाको माध्यम नबनाउनु हो । नेपालीपनसहितको अध्ययन अनुसन्धान अगाडि नबढाउनु हो । अङ्ग्रेजी माध्यमबाट पढाउँदा र अङ्ग्रेजीमा प्रश्न पत्र बनाउँदा विश्वविद्यालयको इज्जत बढ्छ भन्ने ढोंगले हो । प्राध्यापकहरूलाई अनुसन्धान कार्यमा नलगाई जागिरे, जागिर बढुवाका लागि प्रायोजित लेख लेख्ने पात्र बनाउनु हो । हामी सर्जकहरूले पनि मौलिक विषय र विम्ब पहिचान गर्न नसक्नु हो । समीक्षकले मौलिक दर्शनका आधारमा समीक्षा र अनुसन्धान नगर्नु हो । मौलिक सिद्धान्त नभएका कुनै पनि विषय, चिन्तन, दर्शन विश्वमा अस्तित्वमा छैनन् । बेलैमा चेतना भया ।
-सम्पादक