- सम्पादकीय
नेपाली समाजका विविध सांस्कृतिक चाडपर्वहरूमध्ये भाद्र महिनामा पर्ने तीज विशेष पर्व हो । यो पर्व नजिकिँदै गर्दा रोडियोमा तीजगीत बजिरहेका छन् । टेलिभिजनका प्रत्येक कार्यक्रममा पनि तीजगीत नै बजिरहेका छन् । युट्युब तीजगीतले नै भरिएका छन् । नयाँ र पुराना कलाकार म्युजिक भिडियो निर्माण गर्न र युटुवमा अपलोड गर्न तँछाडमछाड गरिरहेका छन् । लाग्छ, यो नारीको पर्व अहिले थुप्रै नारी आवाजले भरिएको छ । नारी चेतनाका गतिविधि पनि भइरहेका छन् । सारमा भने त्यस्तो देखिँदैन । तीजगीतहरू स्वयम् नारी चेतनाका विरोधी जस्ता देखिन्छन् । तीजको सन्दर्भ पारेर वैँकहरूले बनाएका विज्ञापनमा पनि नारीलाई होच्याउने प्रवृत्ति नै बढी छ । तीज विशेष सामग्रीका विज्ञापनमा पनि पुरुषका सहाराले मात्र सामान किन्न सक्ने जातिका रूपमा चिनाइराखेको देखिन्छ । यो विषय समाज विकास र नारी सशक्तीकरणका दृष्टिले चिन्ताको विषय हो । पर्वको महत्वलाई पुँजीवादी समाज व्यवस्थाले पारिरहेको भिन्न असर हो ।
नेपाली समाजमा नारी जातिले मनाउने पर्वमध्ये तीज विशेष पर्व हो । यसलाई केन्द्रमा राखेर गीत उत्पादन गर्ने परम्परा पुरानो भइसकेको छ । अहिले यो परम्परा उत्पातै बढिरहेको छ । ती गीतमा हाम्रो समाजको सांस्कृतिक मूल्य झल्कन सकेको छ ? हाम्रो समाजको वास्तविक जीवन आएको छ ? समाजमा महिलाको जीवनलाई माथि उठाउने प्रयास भएको छ ? नारी वर्गको अग्रगामी चेतना यात्रालाई सघाएको छ ? नारी पुरुष समानताको आवाज उठाएको छ ? तीजको संस्कार धान्ने नाउँमा यी गीतले कतै हाम्रा आमा दिदीबहिनीलाई पछाडि धकेलिरहेका त छैनन् ? हाम्रो समाजलाई नै पछाडि फर्काइरहेका त छैनन् ? यी प्रश्न भने निकै बिझ्दा बनिरहेका छन् ।
लोकसंस्कृतिका दृष्टिले तीजगीत, तीज पर्वका अवसरमा गाइने गीत हुन् । तीज महिलाको विशेष पर्व भएकाले यो महिलालाई केन्द्रमा राखेर मूलत: महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकाङ्क्षा हुन्छन् । दु:खसुख र अनुभवहरू पनि हुन्छन् । गुनाशा र आक्रोश पनि हुन्छन् । लोक परम्परामा बाँचेका यी गीत पहाडी क्षेत्रका नारीहरूको सामाजिक इतिहासका यथार्थ अभिव्यक्ति पनि हुन् । इतिहास र समाजशास्त्रका दस्तावेज पनि हुन् । यिनको सङ्कलन संरक्षण आवश्यक छ । त्यसो भए पनि नयाँ बनिरहेका गीतले यी सबै पक्ष बिर्सँदै समाजलाई वेथितितिर धकेल्न थालेको जस्तो देखिन्छ । यो समाजको विकास हो कि वर्वादी हो भन्ने अन्योल बढिरहेको छ । विषय सामान्य छ तर सोचनीय छ ।
परम्परित जीज पर्वसापेक्ष लोकगीत मर्यादित लाग्छन् । यी गीतमध्ये कतिपय गीतले बालविवाह, अनमेल विवाहका समस्यालाई उठाएका छन् । बहुविवाहले महिलाको जीवनमा ल्याएका समस्या उजागर गरेका छन् । महिलाले घरपरिवारभित्र भोगेका अन्याय अत्याचार थिचोमिचो बोकेका छन् । कतिपय परम्परामा बन्दी बनेका महिलाको मुक्तिका निम्ति बाहिरको संसार चियाउने माध्यम पनि बनेका छन् । यो माध्यम अहिले चाहिँ कसरी अगाडि बढिरहेको छ ? यो विषय निकै चासोको विषय र त्यत्तिकै गम्भीर विषय बनिरहेको छ ।
पछिल्ला वर्षका अधिकांश तीजगीतले महिलालाई चेतनाको बाटो भन्दा फरक कुरा सिकाइराखेका छन् । यिनले महिलालाई चेतनाहीन पात्रका रूपमा उभ्याइराखेका छन् । मात्र खान–लाउनमा ध्यान दिने, समाज र संस्कृतिभन्दा उत्ताउला, पति र सासूससुरालाई वेवास्ता गर्र्नेे, आमाजु नन्दप्रति गैरजिम्मेवार, माइत जान पाए सारा कुरा बिर्सने खराब चरित्रका रूपमा चित्रण गरिरहेका भेटिन्छन् गत वर्ष सार्वजनिक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको ‘झोला लुकाउँछन्’ बोलको गीतमा अभिव्यक्त चिन्तनलाई नमुनाका रूपमा लिन सकिन्छ :
छिट्टै लिन आऊ न बाबु भन्छ्यौ दिदी तिम्ले
क्यारम त नि मइले
जुत्ता लुकाउँछिन् बरै तिम्री ब्वारी मेरी उनैले
आजभोलि काली भयौ भन्छौ बाबु तिम्ले
क्यारम त नि मैले
पाउडर लुकाउँछन् बरै तिम्रा भेना मेरा उनैले
यस गीतमा नारीले नै नारीका विपक्षमा काम गरिरहेको पक्षलाई देखाइएको छ । यस गीतमा दिदीभाइको संवाद छ । भाइले दिदीलाई लिन जाँदा आफ्ना जुत्ता, पेटी, मोबाइल बुहारीले लुकाइदिएको देखाइएको छ । यता दिदीले माइत जाने बेलामा आफ्नो झोला, पाउडर, हार, सारी, पैसा लुकाइदिने आफ्नो पति भएकाले माइत जान असम्भव भएको देखाइएको छ । यसले महिलाले नै महिलाको विरोध गर्छन् भन्ने पक्षलाई र महिलाको शृङ्गारका प्रसाधनमा मात्र मोह हुन्छ भन्ने पुरूषको दृष्टिकोण अभिव्यक्त छ । यहाँ नारीलाई कमजोर र निरीह पात्रका रूपमा उभ्याइएको छ । भिडियो बनाउँदा पनि पत्नीलाई पतिकी खेलौना जस्तै बनाइएको छ । यही अवस्था कुमारी चेपाङको ‘कसम बरिलै’ गीतमा पनि देखिन्छ
गलामा सिक्री छैन मेरो दाजै के भन्लिन् आमाले
कसम बरिलै के भन्लिन् आमाले
आफूखुसी रोजेको घर हुनी रै’छ आफैँलाई कहर
आफूखुसी रोजेको घर हुनी रै’छ माइतीलाई कहर
यहाँ आफैले जीवनसाथी रोजेर बिहे गर्नुलाई पछुतोका रूपमा देखाइएको छ । गरगहना नपाउनलाई मूल समस्या बनाइएको छ । आफै जीवन साथी छनोट गर्न सक्नु अग्रगामी चेतना हो तर यहाँ त्यस चेतनालाई पछुतोका रूपमा प्रस्तुत गरिएको छ । सन्तोष केसीको ‘घरझगडा’ बोलको गीतको चिन्तन यस्तो छ :
तेरो चोँचो राम्रो भए मलाई किन हेर्थे र
तैँले सुख देको भए मलाई ल्याउँथे र…
मुखाले छौ दुईटी नै कोभन्दा को कम
छिमेकीले था पाउँछन् क्या धेरै नकराम्
अरूका त सौता पनि दिदी बहिनीझैँ बस्दछन्
भेट्नै हुन्न यी दुइटी त त्यसै झम्टन्छन्
यो गीत धेरै अगाडि गाइएको र भिडियो निर्माण भएको भए पुरानो लोकगीत मान्न सकिन्थ्यो । यहाँ नारी नै नारीकी विरोधी छ । यहाँ नारीका अन्तरविरोधबाट पुरुषले फाइदा पाएको अवस्था छ । यसले वर्तमान सन्दर्भमा कानुनद्वारा बर्जित बहुविवाह गर्ने लोग्नेलाई सज्जन, संयमित देखाउँदै लोग्नेको नजरमा नराम्री र सुख दिन नसक्ने स्वास्नी भए दोस्री बिहे गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ । यहाँ सौता सौता मिलेर बस्न सक्नुपर्ने पक्ष पनि संयोजित छ । के आजका दिदी बहिनीमा यसले सकारात्मक प्रभाव पार्र्न सक्छ ? उनीहरूमा कुनै ठोस चेतना दिन सक्छ ? प्रश्न बिझाउँदो छ ।
यहाँ कुनै खास गायकका गीतको आलोचना गर्न खोजिएको होइन । नमुना केही गीतका माध्यमबाट करिब ७५ प्रतिशत नारीका चेतनालाई कुल्चने गीतको समस्यालाई उजागर गर्न मात्र खोजिएको हो । केसीकै ‘बाबुआमा र सासूबुहारी’ गीतमा पनि बुहारीको दुष्ट र खराब चरित्रका कारण सासूससुरा घर छोड्न बाध्य भएको परिस्थितिको वर्णनद्वारा पतिको घरमा आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतबिनाकी बुहारीलाई चित्रण गरिएको छ । त्यसै गरी बुहारीलाई घरको निर्णायक बनाउने गीतमा पनि छोरालाई निरीह देखाएर महिलाको चरित्रलाई कमजोर बनाउने प्रयास भएको छ । खुमन अधिकारी र शर्मिला गुरूङको ‘पापिनी बुहारी’, ढाकाराम पौडेल र प्रीति आलेको ‘छोटा लुगा चाइनी’ जस्ता गीतले पनि नारीलाई होच्याउने, उपहास गर्ने र कमजोर बनाउने काम नै गरिएको छ ।
तीज पर्वसँग सम्बन्धित मनोरञ्जन प्रधान गीतहरू पनि नारीका पक्षमा देखिँदैनन् प्रीति आले र ज्योति मगरको ‘गिलास ठोक्काउनी’ गीतले नारीलाई र समाजलाई दिन खोजेको सन्देश के ? यो गीत जति पटक सुने पनि यसको सकारात्मक सन्देश पाहिल्याउन सकिँदैन । बिग्रिएका पुरुषको जस्तो जाँडरक्सी पार्टी गरेर मनोरञ्जन गर्ने भद्दा तरिका तीजसँग जोडिन कतिको सान्दर्भिक छ । के सबै पुरुषहरू जाँड रक्सीमै झुमिरहेका हुन्छन् ? पुरुषमा पनि बिग्रिएका पुरुषको हर्कतलाई सम्यम शालीन नारी जगत्मा देखाउनु कतिको सान्दर्भिक छ ? यस किसिमको महिला चरित्रको चित्रण तीज पर्वसँग कतिको सान्दर्भिक छ ? खेम सेन्चुरी र रक्षा श्रेष्ठको ‘यो केटो पल्क्यो बरिलै’ को चिन्तन तीज पर्वसँग कतिको सुहाउँदो छ । यी रचनाले नारीलाई कतिको अगाडि बढाउन सके । आमा हजुरआमा भन्दा आजका दिदी बहिनीलाई कति अग्रगामी बनाउन सके यो सोचनीय पक्ष हो । यस किसिमको सोचबाट निर्मित प्रश्न निकै अफ्ठ्यारा छन् ।
आजका तीजगीतका नारी आवाजमा आफूमाथिका विभेद, उत्पीडन र हिंसाको बोध हुनु पर्ने हो । नारी उत्पीडनको प्रतिरोध गर्ने महिला पात्रको चित्रण गरिनु पर्ने हो । तर त्यस्ता गीत ज्यादै कम छन् । यस वर्ष सबैभन्दा बढी चरी जेलैमा गीत बज्यो । पुराना समाइला र सस्तो मनोरञ्जनका गीत बजे । पोइला जान पाम भने जस्ता गीतहरू नै बढी गुञ्जिइरहेका छन् नारीका खाने र राम्रो लाउने स्वभाव उजागर गर्ने गीत नै बढी सुनिँदैछन् । आजको गणतन्त्र प्राप्तिपछिको दुई दशक वितिसकेको समाजअनुरूपका गीत किन सुन्न पाइराखिएको छैन ? यो पक्ष समाज विकास र मूलत: नारी विकासका दृष्टिले बिझाउँदो पक्ष हो । हामीले हाम्रो संस्कृतिलाई विकृति होइन सुसंस्कृति र त्यसमा भएका रूढिलाई चिर्दै प्रगतिशील संस्कृतिका रूपमा स्थापित र पुस्तान्तर गर्न सक्नुपर्छ ।